प्रदेशको स्थायी राजधानीमा अस्थायी संरचना बनाउन थालेपछि सांसदहरुकै विरोध – Nepal Press

प्रदेशको स्थायी राजधानीमा अस्थायी संरचना बनाउन थालेपछि सांसदहरुकै विरोध

रुपन्देही । लुम्बिनी प्रदेश सरकारले स्थायी राजधानीमा करोडौं रकम खर्चेर अस्थायी संरचना बनाउन थालेपछि आलोचना शुरु भएको छ । प्रदेश सरकारले ६ करोडको लागतमा प्रदेशसभाको अस्थायी संरचना बनाउने प्रक्रिया अगाडि बढाएको छ ।

स्थायी राजधानी दाङको देउखुरी उपत्यका तोकिएपछि मुख्यमन्त्री शंकर पोखरेलले स्थायी संरचना बनाएर मात्रै राजधानी सारिने प्रतिबद्धता गरेका थिए । तर प्रदेश सरकारले करोडौं रकम फजुल खर्च गर्न अस्थायी संरचना निर्माण थालेको भन्दै प्रदेशसभाका सांसदहरुले नै आलोचना गर्न थालेका छन् ।

प्रदेशको अस्थायी राजधानी बुटवलमा संरचना तयार गर्न आधा अर्ब सकिएको थियो । देउखुरीमा प्रदेशको स्थायी राजधानी तोकिएपछि प्रदेश संरचनाको रूपमा प्रदेशसभा भवन निर्माणको प्रक्रिया अघि बढाइएको छ । ६ करोडको लागतमा प्रदेश पूर्वाधार प्राधिरणरणले केही वर्षको लागि मात्र उपयोग हुने गरी अस्थायी संरचना बनाउन लागेको हो ।

प्रदेश सभा सचिव दुर्लभकुमार पुनले आगामी अधिवेशन सोही भवनमा संचालन गर्ने गरी प्रदेश सभा भवन निर्माणका लागि ठेक्का दिइसकिएको बताए ।

सांसदहरुको असन्तुष्टि

स्थायी राजधानीमा प्रदेशसभाको लागि मात्र संरचना बनाउन सुरु गरिएको हो । मन्त्रालयका संरचना बुटवलमै छन् । मन्त्रालयका संरचना एकातिर प्रदेशसभा अर्कोतिर हुँदा सांसद तथा मन्त्रीहरुलाई ओहोरदोहोरको समस्या हुने र खर्च बढ्ने चिन्ता सांसदहरुको छ ।

लुम्बिनी प्रदेश सभामा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका मुख्य सचेतक फखरुद्धिन खानले प्रदेश सभा र मन्त्रालय छुट्टाछुट्टै राखेर प्रदेश सरकारले खर्च बढाउने काम थालेको टिप्पणी गरे ।
‘मुख्यमन्त्रीले प्रदेशसभामा सबै संरचना नबनेसम्म सबै संरचना बुटवलमै रहने भन्नुभएको थियो । अहिले अस्थायी संरचनामै प्रदेशसभा सार्न खोजिएको छ । यसले अनावश्यक खर्च बढाउने छ’ उनले भने ‘अस्थायीबाट अस्थायीमै सार्दा हुने खर्च सबै अनावश्यक नै हो ।’

मुख्यय सचेतक खानले मन्त्रालय एकातिर र प्रदेशसभा अर्कोतिर गराएर अस्तव्यस्त पार्न खोजेको आरोप लगाए । ‘यसरी सांसद र मन्त्रीहरुलाई ओहोर दोहोर गर्दा ठूलो मात्रामा व्यक्तिगत र सरकारी रकम अनावश्यक रुपमा खर्च हुन्छ ।’ उनले भने ‘यसले प्रदेशको व्यवस्थालाई नै अस्तव्यस्त पार्छ । त्यसैले संरचना बनाएर मात्र सबै संरचना सार्नुपर्छ ।’

पाल्पाका प्रदेश सभा सदस्य पुरनमान बज्राचार्यले प्रदेश सभा र मन्त्रालयका संरचना टाढा हुँदा मन्त्रीहरु मात्र नभई सबैलाई सास्ती हुने बताएका छन् । ‘पाँच १० किलोमिटरसम्म फरक कुरा हो । त्यतिका दुरीको अन्तरमा संसद र मन्त्रालय राख्दा सबैलाई सास्ती हुन्छ,’ उनले भने ‘यसले अनावश्यक खर्च र नागरिकस्तरमा आलोचना बढाउने छ ।’

रुपन्देहीका प्रदेश सभा सदस्य तुल्सीप्रसाद चौधरीले प्रदेश सभा एकातिर र मन्त्रालय अर्कोतिर हुँदा प्रदेशका संरचना नै भद्रगोल हुने बताएका छन् । ‘प्रदेशसभाले निर्णय गरिसकेको छ । स्थायी संरचना बनाएर सबै मन्त्रालय लैजानुपर्नेमा किन हतार गर्न खोजिएको छ ?,’ चौधरीले प्रश्न गरे, ‘एकातिर प्रदेशसभा अर्कोतर्फ मन्त्रालयहरु राखेर के भद्रगोल गर्न खोजेका हुन् ।’

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ध्रुव मजगैँयाले दीर्घकालको लागि नभई केही वर्षको लागि मात्र ट्रस्टसहितको भवन बनाउन लागिएको पुष्टि गरे । ‘दीर्घकालीन समयको लागि त अर्को भवन पछि बन्ला, तर अहिले बनाउन लागिएको भवनले १०–१५ वर्ष मज्जाले धान्छ,’ उनले भने ।

भवनको निर्माणको लागि प्राधिकरणले टेण्डर प्रक्रिया अघि बढाएको छ । असारसम्म निर्माण सक्ने योजना रहेको मजगैँयाले बताए । भवनमा बैठक हल र केही कोठा रहने छन् । ‘ठूलो हल भइहाल्यो, मतदान गर्नको लागि हलको दुबै तिर कक्ष हुन्छ । साउण्ड सिष्टमको लागि कोठा, सभामुख कक्ष लगायत रहने छ,’ उनले भने ‘बीचको हलले दुबै तला कभर गर्छ । साइड साइडका कक्ष एक–एक तलाको हुन्छ ।’ तर त्यो भवनमा प्रदेश सभा सचिवालय भने हुने छैन ।

बर्खे अधिवेशनको अहिलेबाटै तयारी

दाङका प्रदेशसभा सदस्य इन्द्रजित थारुले बजेट अधिवेसन देउखुरीमै बस्ने बताएका छन् । ‘हिउँदे अधिवेसन बुटवलमै बस्छ । नीति कार्यक्रम र बजेटको लागि जेठको पहिलो हप्ताबाट वर्खे अधिवेसन सुरु हुनुपर्छ,’ उनले भने ‘त्यो अधिवेसन देउखुरीमै बस्छ । बैठकको तयारी र सजावटको काम छिट्टै सुरु हुन्छ ।’

जेठबाट सुरु हुने बैठकको तयारीको लागि प्रदेशसभा सचिवालयको एउटा युनिट दाङमै रहने सांसद थारुको भनाइ छ । उनका अनुसार राप्ती प्राविधिक शिक्षालयको भवनमा प्रदेशसभा भवन र सचिवालय कक्ष रहने तथा मन्त्रालय लगायतका संरचना भने बुटवलमै रहने छ ।

बुटवलबाट देउखुरीको दुरी सय किलोमिटरभन्दा बढी छ । मन्त्री तथा कर्मचारीहरुको ओहोरदोहोरका कारण जाँदाआउँदा बाटोमै पाँच–छ घण्टा समय नोक्सान हुन्छ । त्यसले मन्त्रालयको कामकाज नै प्रभावित हुने सांसद चौधरीको भनाइ छ । उनले अस्थायीबाट फेरि पनि अस्थायी संरचनामै खर्च गरेर प्रदेश सभा सार्दा ठूलो रकम दुरुपयोग हुने उल्लेख गरे ।

आधारभूत संरचना पनि स्थायी राजधानीमा पूरै नबनि प्रदेश सभा सार्न हतार गरिएको छ । असारमा सक्ने भनिएको अस्थायी भवन पनि तयार नभई प्रदेश सभा बैठक देउखुरीमै बसाल्ने तयारी गरिएको छ । देउखुरीको राप्ती टेक्निकल कलेजको पुरानो भवनमा जसोतसो प्रदेश सभाको बैठक बसाल्ने तयारी भएको हो ।

प्रदेश पूर्वाधार प्राधीकरणका प्रमुख कार्याकारी अधिकृत धु्रव मजगैँयाले बैठक बस्ने नबस्ने बारे आफूले भन्न नसक्ने बताए । उनले बैठक बस्ने भएमा ठाउँको व्यवस्थापन भने गर्न सकिने जानकारी दिए । उनले भने ‘डेढ सय जना अट्ने हल छ । त्यहाँ ८७ जना सांसद मज्जाले अट्न सक्नुहुन्छ । बैठक बस्ने भयो भने व्यवस्थापन हुनसक्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर