विश्व मिर्गौला दिवसमा विज्ञको सुझाव: वर्षमा दुई पटक मिर्गौला परीक्षण गरौं – Nepal Press

विश्व मिर्गौला दिवसमा विज्ञको सुझाव: वर्षमा दुई पटक मिर्गौला परीक्षण गरौं

रुपन्देही । आज मार्च ११ अर्थात् विश्व मिर्गौला दिवस । पछिल्लो समय मिर्गौला रोगका बिरामी बढ्न बढ्दै गइरहेका छन् । खानपान, रहनसहन र लापर्बाही जस्ता कारणले मिर्गौला रोगीको संख्या र यसबाट ज्यान गुमाउनेको संख्या पनि बढ्दै गइरहेको छ । सन् २००६ मा ‘के तपाईको मिर्गौला ठीक छ ?’ भन्ने नारासहित विश्वभर मनाउन थालिएको अन्तर्राष्ट्रिय मिर्गौला दिवसको महत्त्व पनि वर्षैपिच्छे बढ्दै गइरहेको छ ।

तर, महत्त्वभन्दा पनि यसको प्रभावकारिता बढ्नु आवश्यक देखिन्छ । पछिल्लो समय विश्वभर मात्रै नभएर नेपालमा पनि मिर्गौला रोगीको संख्या बढ्न थालेपछि यसको सचेतनाका विषयमा पनि सरोकारवालाहरूले विभिन्न कार्यक्रम गर्न थालेका छन् ।

मिर्गौलाको विषयमा सचेतना दिनका लागि विज्ञहरूले अन्य समयमा जस्तै बिहीबार पनि विभिन्न माध्यमबाट जनस्तरमा जनचेतना जगाउने प्रयास जारी राखे ।

विश्वभर जस्तै नेपालमा पनि बिहीबार ‘मिर्गौला रोगसँगै बाँच्न सिकौं, स्वस्थ मिर्गौला सबैका लागि सबै ठाउँमा’ भन्ने नाराका साथ गौतमबुद्ध सामुदायिक मुटु अस्पतालको अगुवाईमा रुपन्देहीको बुटवलमा पनि मिर्गौला सम्बन्धी जनचेतना अभियान आयोजना भएको थियो ।

यसै सन्दर्भमा मिर्गौला रोग विशेषज्ञ डा. रजत कायस्थ मिर्गौला रोग लागिसकेपछि उपचार गर्न निकै महँगो पर्ने भएकोले रोग लाग्न नदिन वर्षमा कम्तीमा दुईपटक यसको अवस्थाबारे जानकारी लिन वा परीक्षण गर्न सुझाव दिन्छन् ।

‘मिर्गौलामा ८०/९० प्रतिशतसम्म खराबी हुँदासम्म पनि लक्षण नदेखिन सक्छ,’ उनले भने, ‘त्यसैले नियमित परीक्षण गर्नु नै रोगबाट जोगिनुको उत्तम विकल्प हो ।’

मिर्गौला रोग लागिसकेपछि उपचार गरी निको पार्न कठिन हुने र अत्यन्त खर्चिलो हुने भएकोले वर्षमा कम्तीमा दुईपटक मिर्गौला परीक्षण गरेर रोग लाग्न नै नदिनु उत्तम हुने चिकित्सकहरूको सुझाव छ ।

मिर्गौला रोगबाट जोगिन प्रशस्तमा मात्रामा सफा र स्वच्छ पानी पिउनेसँगै खानपानमा पनि विशेष ध्यान दिनु आवश्यक हुने उनीहरू बताउँछन् ।

विश्व मिर्गौला दिवसको अवसरमा ट्राफिकचोकबाट शुरु भएको जनचेतनामूलक र्‍याली अस्पताल लाइन, बसपार्क, मिलनचोक, राजमार्ग चौराह हुँदै रामनगरस्थित मुटु अस्पताल परिसरमा पुगेर समापन भएको थियो । ‘रोटरी इन्टरनेसनल डिस्ट्रिक ३२९२ नेपाल-भुटान’का गभर्नर राजिव पोखरेलले गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले मृगौला बारेमा जानकारी दिन आयोजित कार्यक्रमले सकारात्मक सन्देश दिएको बताए ।

उनले आफ्नो स्वास्थ्यप्रति थोरै भए पनि सजग र सतर्क हुनसके मिर्गौला रोगबाट जोगिन सकिने र लागिहाले पनि समयमै पत्ता लगाएर उपचार गर्न सहज हुने जानकारी दिए । मुटु अस्पतालका निर्देशक डा. समिर गौतमले पछिल्लो समय सरुवा रोगहरु विश्वभर नियन्त्रण भइरहेको अवस्थामा नसर्ने रोगहरुको चुनौती बढिरहेको भन्दै नसर्ने रोगहरुलाई व्यक्तिको बानी व्यवहार, रहनसहन र आहारविहारले नियन्त्रण गर्न सकिने सुझाव दिएका थिए ।

अस्पतालका अध्यक्ष एजाज आलमले सरकारले मिर्गौला रोगीहरूको डायलाइसिस निःशुल्क गरे पनि नियमित रुपमा औषधी सेवन गर्नुपर्ने भएकोले कमजोर आर्थिक अवस्थाका विरामीहरूको समस्या जटिल रहेको बताएका थिए ।

लुम्बिनी प्रदेश सरकारले सरकारी तथा सामुदायिक अस्पतालबाट डायलाइसिस सेवा लिइरहेका विरामीहरुलाई औषधीमा राहत दिने गरी बजेटमै व्यवस्था गरेको भए पनि सामाजिक विकास मन्त्रालयले लुम्बिनी प्रादेशिक अस्पताललाई मात्र उक्त रकम उपलब्ध गराएकोप्रति सरकारको ध्यानाकर्षण गराएको आलमको भनाई थियो ।

उनले सरकारले उपचारमा समेत सरकारी तथा सामुदायिक अस्पतालका विरामीलाई विभेद गरेको गुनासो गरे । रुपन्देही उद्योग संघका कार्यवाहक अध्यक्ष माधवप्रसाद पौडेल, मिर्गौला पीडित सरोकार समाज लुम्बिनी प्रदेशका अध्यक्ष रमेश केसी, डायलाइसिस सेन्टरको सहयोगी संस्था रोटरी क्लब अफ बुटवल साउथका अध्यक्ष प्रेम भुर्तेल, मुटु अस्पताल सञ्चालक समितिका सदस्य भगवती पाण्डेलगायतले नागरिकको सचेतना बढाउने काममा सहकार्य गर्ने प्रतिबद्धता गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर