मेयर-११ लाई हराउँदै एपीएफ फाइनलमा – Nepal Press

मेयर-११ लाई हराउँदै एपीएफ फाइनलमा

काठमाडौं । कप्तान शरद भेसावकर र सन्दीप जोराको अर्धशतकप्रेरित नेपाल एपीएफ क्लब पहिलो चरणको अन्तिम खेलमा काठमाडौं मेयर-११ लाई ७ विकेटले पराजित गर्दै मेयर कपको फाइनलमा पुगेको छ ।

मूलपानी क्रिकेट मैदानमा टस जितेर फिल्डिङ रोजेको एपीएफले १८७ रनको लक्ष्य पाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको एपीएफले शरद र सन्दीपको अविजित अर्धशतक मद्दतमा ४४.१ ओभरमा लक्ष्य पूरा गर्‍यो ।

एपीएफका लागि सन्दीप ७९ बलमा ९ चौकासहित ६२ रन तथा शरद ११८ बलमा ५ चौका र १ छक्कासहित ६१ रन बनाएर बनाएर अविजित रहे ।

मेयर-११ का लागि कप्तान सन्दीप लामिछाने, अनुज चुनारा र अनिल खरेलले १/१ विकेट लिए ।

यसअघि मूलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको मेयर ११ ले ४८.५ ओरभमा सबै विकेट गुमाएर १७७ रनको योगफल तयार गरेको थियो ।

मेयर ११ का लागि सन्दीप रजालीले सर्वाधिक ४८ बलको योगदान गरेका थिए । अर्धशतक बनाउन दुई रनले चुकेका सन्दीपले ८३ बलमा ५ चौका प्रहार गरेका थिए । त्यस्तै हरिशंकर साहले ३६ रन बाहेक अन्य ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।

एपीएफका लागि कमलसिंह ऐरी र अविनाश बोहराले ३/३ विकेट लिए । त्यस्तै बसन्त रेग्मी, कप्तान सरद भेसावकर र भुवन कार्कीले १/१ विकेट लिएका थिए ।

जितसँगै फाइनलमा पुगेको नेपाल एपीएफ क्लबले शनिबार उपाधिका लागि विभागीय प्रतिद्वन्दी नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

नेपाल पुलिस क्लब यसअघि नै फाइनलमा पुगिसकेको छ । तीन विभागीय, एक प्रादेशिक र एक महानगरपालिका गरी प्रतियोगितामा कूल पाँच टोलीको सहभागिता थियो ।

राउन्ड रोबिन पद्धतिमा जारी प्रतियोगिताको पहिलो चरणबाट दुई शीर्ष टोलीले फाइनल खेल्ने तय भएको थियो । जसअनुसार अन्य तीन टोली प्रतियोगिताबाट बाहिरिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *