शिवरात्रिमा पशुपति: पहिलेजस्तो भीड छैन, एक घन्टाभित्रै दर्शन – Nepal Press

शिवरात्रिमा पशुपति: पहिलेजस्तो भीड छैन, एक घन्टाभित्रै दर्शन

काठमाडौं । यस वर्षको शिवरात्रिमा पशुपतिनाथ मन्दिरमा पहिलेको तुलनामा भिड कम देखिएको छ । कोरोनाको प्रभाव अझै समाप्त नभइसकेकाले दर्शनार्थिहरु कम संख्यामा आएका छन् ।

दर्शनार्थिको लामै लाइन भए पनि मन्दिर परिसरमा विगतको जस्तो थेगिनसक्नु भिड नभएको पशुपति क्षेत्र विकास कोषका प्रचारप्रसार समिति सचिव तथा प्रवक्ता रेवतीरमण अधिकारीले नेपालप्रेसलाई बताए ।

‘पोहोर साल यतिबेलासम्म झण्डै ५ लाख भक्तजनले दर्शन गरिसक्थे’ उनले सुनाए, ‘आज मन्दिर खोलेको ७ घण्टामा १ लाखको हाराहारीले मात्रै दर्शन गरेका छन् ।’

कोरोना भाइरसको कारण दशभित्रैका भक्तजन कम संख्यामा आएका छन् भने यातायातको सुविधा नहुँदा भारत लगायतका तेस्रो मुलुकबाट आउने दर्शनार्थि पनि घटेका छन् । साथै, गत साल आएका बाबा जोगीहरु पनि यस वर्ष पशुपतिमा नदेखिएको समितिका प्रवक्ता अधिकारीले बताए ।

उनले भने, ‘बाबाहरु पनि पोहोरपरार आएकाहरु यसपालि देखिएको छैन । र आएकाहरु पनि एकदमै कम मात्रमा छन् । हामीले सोचेभन्दा निकै कम छन् ।’कोषले पशुपति दर्शन गर्न आउने दर्शनार्थीहरुको लागि पनि निःशुल्क खाना व्यवस्था गरेको छ । विभिन्न संघसंस्थाहरुले पनि भोजन तथा पानीको व्यवस्था गरेका छन् ।

कोषले दर्शनार्थीको सहजका लागि एकैपटक ४ वटा ढोकाबाट १० जनाले दर्शन गर्ने व्यवस्था मिलाएको छ । एउटा ढोकाबाट ३ जनाले एकैपटक दर्शन गर्न सकिनेछ । दर्शनार्थीले लाइन बसेको आधा घण्टा देखि १ घण्टा भित्रमा दर्शन गर्न पाइनेछ ।

मन्दिरमा दर्शन गर्न आउनेहरुको लागि कोषले तीन स्थानबाट लाइनको व्यवस्था गरेको छ । मित्रपार्क–गौरीघाट, उमाकुण्ड–दक्षिणामूर्ति हुँदै रुद्रगाडेश्वर उत्तरढोकाबाट एक लाइन, बत्तिसपुतली–गौशाला र तिलगङ्गा, पिङ्गलास्थान–सुमार्गीभवन अगाडिबाट चार शिवालय–पञ्चदेवल हुँदै दक्षिणढोकाबाट दुई लाइनबाट मूल मन्दिर परिसर प्रवेश गर्नसक्ने व्यवस्था गरिएको छ ।

दर्शन गर्न आउने दर्शनार्थीको सवारी पार्किङका लागि सिफल, तिलगङ्गा, गुह्येश्वरी पारी, कोषको कार्यालय, वनकालीलगायत स्थानमा व्यवस्था मिलाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर