प्रधानमन्त्रीले भने- मिर्गाैला फेर्न विदेश जानु मेरो रहर होइन, बाध्यता थियो – Nepal Press
सन्दर्भ विश्व मिर्गाैला दिवस

प्रधानमन्त्रीले भने- मिर्गाैला फेर्न विदेश जानु मेरो रहर होइन, बाध्यता थियो

काठमाडौं । विश्व मिर्गाैला दिवसका अवसरमा काठमाडौंमा आज चेतनामूलक प्रभातफेरी आयोजना गरिएको छ । प्रभावफेरीमा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थिति थियो ।

कार्यक्रममा बोल्दै ओलीले नेपालमा मिर्गाैला सम्बन्धी विशेषज्ञ सेवा छिट्टै प्रारम्भ हुने जानकारी दिए । यसका लागि मिर्गाैलाविद् एवं चिकित्साशास्त्र अध्ययन संस्थानकी डीन प्रा. डा. दिव्या सिंह शाहसहितका विज्ञहरु क्रियाशील रहेको ओलीले बताए ।

‘मिर्गाैला रोगबाट कसरी बचाउन सकिन्छ र रोग लागिहालेमा प्रत्यारोपणसहितको सम्पूर्ण उपचार सेवा स्वदेशमै कसरी उपलब्ध गराउने समेत गरी मुख्य दुई कुरामा ध्यान केन्द्रित गर्नुपर्छ’ दुईपटक मिर्गाैला प्रत्यारोपण गराइसकेका प्रधानमन्त्रीले भने ।

मिर्गाैलालाई असर पार्ने खानपिन वा व्यवहार के हो ? र त्यसबाट कसरी जोगिने जस्ता कुराहरुलाई ध्यान दिन जरुरी रहेको उनले बताए । ओलीले थपे, ‘उपचार, प्राथमिक परीक्षण, प्रयोगशाला र विशेषज्ञ चिकित्सकका लागि धेरै टाढा जान नपरोस् भन्ने हाम्रो कुरा हो । यो रोग जसलाई पनि हुनसक्ने भएकोले सबै जना सजग हुनुपर्छ ।’

पहिलो पटक मिर्गाैला प्रत्यारोपण गर्दा स्वदेशमा त्यससम्बन्धी विशेषज्ञ सेवा नभएका कारण आफू विदेश जानुपरेको कुरालाई पनि प्रधानमन्त्रीले स्मरण गरे । ‘केही मानिसहरुले मलाई ‘बाहिर गएर उपचार गरायो’ भने, तर म रहरले वा बाहिर पैसा बुझाउनका लागि गएको थिइन, यहाँ सुविधा नहुँदा गएको थिएँ’, उनले भने ।

‘मिर्गाैला रोगको साथमा स्वस्थ जीवन’ को नारासहित आज नेपालसहित विश्वभर मिर्गाैला दिवस मनाइँदैछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर