लुम्बिनी प्रदेश सरकार: बहुमतका लागि एमालेलाई तीन मत नपुग्ने, जसपा निर्णायक – Nepal Press

लुम्बिनी प्रदेश सरकार: बहुमतका लागि एमालेलाई तीन मत नपुग्ने, जसपा निर्णायक

रुपन्देही । एमाले र माओवादी केन्द्र ब्युँतिएसँगै लुम्बिनी प्रदेश सरकारमा एमाले एक्लैको बहुमत नपुग्ने देखिएको छ ।

८७ सांसद रहेका यो प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई बहुमतका लागि ४४ सांसदको साथ आवश्यक पर्छ । बहुमतका लागि एमालेले माओवादी केन्द्र, कांग्रेस वा जनता समाजवादीमध्ये कुनै एक दलसँग सहकार्य गर्नुपर्छ ।

नेकपा एमालेबाट निर्वाचित मुख्यमन्त्री शंकर पोखरेललाई अहिलेको सरकार टिकाइराख्न पार्टीमा ३ मत पुग्दैन । एमाले र माओवादी केन्द्र अलग भएपछि प्रदेशसभामा ५ वटा दल हुने भएका छन् । ८७ जना सांसदमध्ये नेकपा एमालेका ४१, माओवादी केन्द्रका २०, कांग्रेसका १९, जनता समाजवादी पार्टीका ६ र राष्ट्रिय जनमोर्चा पार्टीका एक जना सांसद छन् ।

यसबीच पनि सत्ता पक्षका प्रमुख सचेतक भुमिश्वर ढकालले मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकार पाँ वर्ष टिक्ने बताएका छन् । ‘अहिलेको अवस्थामा हामीलाई बहुमतका लागि ३ सिट मात्र अपुग छ, सरकार गठनका विभिन्न विकल्प छन् । वाम गठबन्धन हुन पनि सक्छ । अथवा जनता समाजवादीको साथ लिएर पनि सरकार कायम रहनसक्छ ।’

उनले भने कांग्रेससँगको सहकार्यको विकल्प पनि खुला रहेको बताए ।

नेकपा एमालेका सांसद तथा माधव नेपाल पक्षका नेता विष्णु पन्थी माओवादीसँग नै मिलेर अहिलेको सरकार कायम राख्न उचित हुने बताउँछन् । ‘वामपन्थी दल मिलेर हामीले चुनाव जितेका हौ । मिलौ भनेर पठाएपछि हामीले मिलेर सरकार बनाउनुपर्छ’, उनले भने, ‘तर दुवै पार्टीमा के निर्णय हुन्छ त्यसमा भर पर्छ । फरक दल भएपनि केन्द्र र प्रदेशमा दुई दल मिलेर सरकार बनाउँदा उचित हुन्छ, जनमत पनि त्यसैगरी आएको हो ।’

नयाँ सरकार गठनका विकल्प

माओवादी केन्द्र र कांग्रेसले समर्थन गरेन भने पनि एमालेले जनता समाजवादी पार्टीसँग मिलेर पनि आफ्नो नेतृत्वको सरकार कायम राख्नसक्छ । तीन वटै दलले एमालेलाई समर्थन नगरेमा मुख्यमन्त्री पोखरेलले पदबाट विदा हुनुपर्छ ।

एमाले बाहेकको सरकार बन्नको लागि प्रदेशसभामा ३ दलको गठबन्धन आवश्यक पर्छ । माओवादी केन्द्र र कांग्रेस मिल्दा ३९ सांसद हुन्छन् । माओवादी केन्द्रबाट सांसद भएका दधिराम न्यौपाने सत्तारुढ नेकपाको विवादमा ओली पक्षमा गएका छन् ।

अदालतको फैसलाले नेकपा एकीकरण अघिकै अवस्थामा पुगेपछि उनले अब माओवादी केन्द्रमा नफर्किने घोषणा गरेपछि माओवादी केन्द्रमा १९ सांसद मात्र हुने भएको छ ।

त्यसो भएमा एमालेबाहेक ३ दलको गठबन्धनमा सरकार बनाउन ६ मत पुग्दैन । यो अवस्थामा पनि जनता समाजवादीसँग मिल्नैपर्ने हुन्छ । यसर्थ लुम्बिनी प्रदेश सभामा सरकार गठनको लागि जनता समाजवादी पार्टी निर्णायक हुनसक्छ ।

नेपाली कांग्रेस संसदीय दलका नेता वीरेन्द्रप्रसाद कनौडियाले तीन दलको गठबन्धनसहित सरकार बन्ने सम्भावना रहेको बताए । ‘केन्द्रबाट के निर्णय आउँछ । त्यहीअनुसार अघि बढ्छौं । एमालेसँग मिल्ने सम्भावना निकै कम छ ।’ कनौडियाले भने ।

लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टीले ३ दलको गठबन्धनसँग भन्दा एमालेसँग गठबन्धन सहज हुने जनता समाजवादी पार्टीका प्रमुख सचेतक सन्तोषकुमार पाण्डेले बताएका छन् ।

कांग्रेस लुम्बिनी प्रदेश कार्यदल गठन

एमाले र माओवादी एकीकरणअघिकै स्थितिमा फर्किएपछि देशमा उत्पन्न राजनीतिक परिस्थितिमा संवाद र छलफल गर्न भन्दै नेपाली कांग्रेस लुम्बिनी प्रदेशले कार्यदल गठन गरेको छ । ३ सदस्यीय कार्यदलमा फखरुद्धिन खान, विरबहादुर राना र रमा अर्याल छन् ।

समसामयिक राजनैतिक विषयमा छलफल, संवाद र परामर्श गर्न कार्यदल गठन गरिएको कांग्रेस संसदीय दलका नेता वीरेन्द्रकुमार कनौडियाले बताए ।

संघीयताको सफल कार्यान्वयनका लागि पनि आफूहरुले गठन गरेको कार्यदलले महत्वपूर्ण भुमिका खेल्ने उनले बताए ।

लुम्बिनी प्रदेशका सत्ता पक्षका सचेतक भुमिश्वर ढकालले दलहरुसित अनौपचारिक छलफल भए पनि औपचारिक कुराकानी कसैसित नभएको बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर