कोटेश्वर–जडीबुटी सडक आठ लेनको बनाउने काम तीव्र, असारसम्ममा बनिसक्ने – Nepal Press
विकास निर्माण

कोटेश्वर–जडीबुटी सडक आठ लेनको बनाउने काम तीव्र, असारसम्ममा बनिसक्ने

काठमाडौं । कोटेश्वर–जडिबुटी क्षेत्रमा हुने पट्यारलाग्दो ट्राफिक जामबाट यात्रुले छिट्टै मुक्ति पाउने भएका छन् । भक्तपुरबाट काठमाडौं प्रवेश गर्ने कोटेश्वर–जडीबुटी क्षेत्रमा हुने ट्राफिक जाम घटाउनका लागि अहिले उक्त सडक खण्डलाई झन् फराकिलो बनाउने काम द्रुत गतिमा अघि बढेको छ । सडक विस्तार सकिएसँगै उक्त क्षेत्रको ट्राफिक जाम निकै कम हुने अपेक्षा गरिएको छ ।

अहिले दिनरात नभनी सडक विस्तारको काम गरिरहेकाले सडक विस्तारको काम भइरहेको बताउँछन् सडक डिभिजन कार्यालयका डिभिजन प्रमुख कुबेर नेपाली । उनका अनुसार चार महिनाअघि नै सकिनुपर्ने सडक विस्तार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको जग्गा र व्यक्तिको जग्गालाई अधिग्रहण गर्ने प्रक्रियामा समस्या आएपछि ढिला भएको हो ।

यससँगै कोटेश्वर र जडीबुटीसम्मको दक्षिणतर्फ रहेको त्रिभुवन विमानस्थल पर्खाल भत्काउन पनि केही समय लाग्यो । सुरक्षाको हिसाबले पर्खाल भत्काउन नै चार महिना लागेको प्रमुख नेपालीले बताए । ‘सुरक्षाका हिसाबले पनि हामीले कानूनी प्रक्रिया पूरा गरी काम शुरू गर्नुपर्ने भएकाले यसमा केही ढिला भयो’, उनले भने ।

‘अहिले मुआब्जा र सरकारी स्वामित्वको जग्गा अधिग्रहण गर्ने सबै काम सकिएको छ । असार मसान्तभित्रमा सडक तयार हुनेछ’, उनले भने । उनका अनुसार अहिलेसम्म कोटेश्वर–जडीबुटी खण्डको दक्षिण भागको सडक एक महिनाभित्रमा पिच नै हुनेछ । त्यहाँको सडक बढाउनेदेखि डोजर लगाएर माटो सम्याउने कामसमेत भइसकेको छ ।

‘यो दक्षिणपट्टिको भागमा एक महिनाभित्रमा नै पिच गरिनेछ’ उनले भने, ‘यो भागमा दुई लेनको बाटो हुनेछ ।’

सडकको उत्तरपट्टिको भागमा रहेको टंकप्रसाद आचार्यको सालिक भएदेखि जडीबुटी चोकसम्मको भागमा एक लेनको बाटो बनाइनेछ । त्यसका लागि सडक डिभिजन कार्यालयले त्रिभुवन विमानस्थलसँग जग्गा प्राप्तिको काम सकिसकेको छ । अब केही दिनपछि नै त्यहाँ माटो सम्याउने काम अघि बढ्ने प्रमुख नेपालीको भनाइ छ । ‘दक्षिणतर्फको सडक विस्तार गर्ने काम लगभग सकिंदै गएको छ । अब उत्तरतर्फको सडक विस्तार गर्नेछौं’, उनले भने ।

प्रमुख नेपालीका अनुसार कोटेश्वरको जाम सडक विस्तारले केही समाधान गरेपनि यो पूर्ण समाधान भने होइन । ‘यसले अहिले भइरहेको जामलाई केही व्यवस्थित मात्र गर्छ । तर, यो पूर्ण समाधान भने होइन’, उनले भने ।

उनका अनुसार जसरी सरकारले विकासका लागि सडक निर्माण गर्छ त्यसवेला नै दीर्घकालीन समस्याहरूको समाधान अपनाएर निर्माण गर्नुपर्ने हुन्छ । तर, नेपालमा त्यस्तो परिपाटी नभएको उनको भनाइ छ । नेपालमा सडक होस् वा अन्य कुनै पनि विकास निर्माणका काम गर्दा तत्कालको समस्यालाई मात्र हेरिने प्रमुख नेपाली बताउँछन् ।

कुनै पनि शहरको बढ्दो जनघनत्वलाई हेरेर १०÷२० वर्ष पछिको अवस्थालाई पूर्व मूल्याङ्कन गरेर विकास निर्माण गर्ने हो भने यस्तो समस्या नआउने बताउँछन्, सरोकार पक्ष । कोटेश्वर–जडीबुटीको जाम पनि त्यसैको नतिजा भएको प्रमुख नेपालीको ठम्याइ छ । ‘कोटेश्वर–जडीबुटीमा वैकल्पिक सडक धेरै छैन । यस्तो ठाउँमा १० वर्षमा कति जाम हुनसक्छ भनेर पहिल्यै आकलन गरिएको भए अहिले यस्तो समस्या आउने थिएन’, उनले भने ।

अहिले कोटेश्वर–जडीबुटी सडक खण्डको बाटो विस्तार गरेर मात्र जाम हटाउन पर्याप्त नभएकाले मनोहरा खोलाको करिडोरलाई पनि द्रुत गतिमा विस्तार गरिरहेको प्रमुख नेपाली बताउँछन् ।

काठमाडौं डिभिजन कार्यालयले नै यस करिडोरको विस्तार गरिरहेको छ । डिभिजन कार्यालयले कोटेश्वर–जडीबुटी सडक खण्ड विस्तार गर्नका लागि अनुमानित १२ करोड रुपैयाँ बजेट छुट्याएको थियो । तर, अहिले ७ करोड रुपैयाँमा निर्माण सम्पन्न गर्ने आकलन गरिएको छ । योसँगै बचत भएको पाँच करोड रुपैयाँले जडीबुटी पुल मुनिको करिडोर निर्माण गरिने भएको हो ।

यो करिडोर निर्माणसँगै पेप्सीकोला र त्यस आसपास क्षेत्रका बासिन्दा ललितपुर जाँदा–आउँदा काठमाडौं नपसी करिडोरै–करिडोर बालकुमारी पुल निस्कन सक्नेछन् । जसले गर्दा कोटेश्वरको जामलाई अझ घटाउन मद्दत पुग्नेछ । तर, कोटेश्वर–जडीबुटीको जाम घटाउने हो भने सडक विस्तार मात्रै नभएर अण्डरपास र अन्य वैकल्पिक बाटो खोज्नुपर्ने प्रमुख नेपालीको भनाइ छ ।

विस्तार सकिएपछि उक्त सडक आठ लेनको हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर