नेपाल पक्षीय भेलाको जोड-पार्टीलाई एकताबद्ध बनाउन केपी ओलीले नै भूमिका खेलुन् – Nepal Press

नेपाल पक्षीय भेलाको जोड-पार्टीलाई एकताबद्ध बनाउन केपी ओलीले नै भूमिका खेलुन्

काठमाडौं । नेकपा (एमाले)को माधव नेपाल पक्षले विकसित घटनाक्रमपछि पनि पार्टीलाई एकताबद्ध बनाउने मुख्य भूमिका अध्यक्ष केपी ओलीकै हुने भन्दै त्यसको पहल उनले नै गर्नुपर्नेमा जोड दिएको छ ।

बुधबार काठमाडौंको बानेश्वरस्थित अर्याल होटलमा भएको नेपाल पक्षीय केन्द्रीय सदस्यहरूको भेलामा त्यस्तो सुझाव आएको स्थायी कमिटी सदस्य रघुजी पन्तले जानकारी दिए।

‘अदालतले पुनर्स्थापना गरेपछि मुख्य अध्यक्ष केपी ओली हुनुभयो’ पन्तले भेलाबारे जानकारी दिंदै भने, ‘यो परिस्थितिमा पार्टीलाई एकताबद्ध बनाएर लैजान सकिन्छ भन्ने बारेमा छलफल भएको छ । यसमा हामीले के अपेक्षा गरेका छौं भने, उहाँले छिट्टै अब विभिन्न कमिटीको (केन्द्रीय, स्थायी र सचिवालय) बैठक बोलाउनुहोला । त्यहाँ छलफल भएर यो विषय अगाडि बढ्नुपर्यो । पार्टीलाई एकताबद्ध बनाउने कुरामा निर्णायक भूमिका उहाँको हुन्छ ।’

भेलामा अधिकांशले वामपन्थीहरुबीचको एकता कायम गर्नुपर्ने र सरकार पनि वामपन्थीकै बनाउनुपर्नेमा जोड दिएका थिए। ‘सरकारबारे पनि धरै साथीहरूको सुझाव वामपन्थीकै हुनुपर्छ’ यसबारे पन्तले भने, ‘तत्काल पार्टी एकता होला-नहोला तर नेपालभरिका वामपन्थीहरुबीचको एकतालाई कायम राख्दै सरकार पनि वामपन्थीकै बनाउनुपर्छ भन्ने छ। कसरी वामपन्थीहरुको मोर्चाको सरकार भए पनि बन्नु र टिक्नु उपयुक्त हुन्छ भन्ने सुझाव आएको छ ।’

भेलामा सबै कार्यकर्तालाई संयमित हुन, पार्टी एकतालाई बलियो बनाउनुपर्छ भन्ने हिसाबले सोच्न र जुझारु पनि हुन कार्यकर्तालाई आह्वान गर्ने मत बनेको समेत उनले जानकारी दिए।

भेलामा संस्थापन पक्षले पार्टी कार्यालयहरु कब्जा गर्ने, अधिवेशनबाट निर्वाचित पदाधिकारीहरुका नेम प्लेट हटाएर ओलीले खटाएका पदाधिकारीको नाम राख्ने जस्ता काम गरेको भन्दै आपत्ति जनाइएको छ ।

भेलामा सहभागी केन्द्रीय सदस्य झपट रावलले भने– देशव्यापी रुपमा पार्टी कार्यालयहरु कब्जा गर्ने, गुण्डागर्दी गर्ने र उडन्ते तथा म्यादी पदाधिकारीहरुको बोर्ड राख्ने कुराको कसरी प्रतिवाद गर्ने भनेर छलफल भएको छ । छिटोभन्दा छिटो केन्द्रीय बैठक बोलाउनुपर्छ भन्ने कुरा हाम्रो हो ।

बैठकमा झलनाथ खनाल, माधवकुमार नेपाल, भीम रावललगायतका नेताहरुले अबको रणनीतिबारे धारणा राखेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *