एक आमाको कठोर निर्णय, के गर्भको बच्चा थियो कारण ? – Nepal Press
कर्णालीमा हेलिएकी सुकीको अन्तरकथा

एक आमाको कठोर निर्णय, के गर्भको बच्चा थियो कारण ?

सुर्खेत । गत आइतबार दिउँसो चार बजेतिर सुकी बडुवाल एक्कासी चार छोराछोरी साथमा लिएर घरबाट निस्किइन् । उनका श्रीमान् घरमै रक्सी पिइरहेका थिए ।

बाटोमा भेटिएका स्थानीय नरबहादुर शाहीले सुकीलाई सोधे, ‘कहाँ जान लागेको यतिबेला ?’

अर्कै मूडमा रहेकी सुकीले जवाफ दिइन्, ‘कुरे गाड्न बारीमा हिंडेको ।’

शाहीले फेरि सोधे, ‘छोराछोरी सबै किन लगेको त ?’

सुकीको जवाफ थियो, ‘बाउचैंले केटाकेटीलाई रक्सी किन्न पठाउँछन् भनेर ।’

त्यसपछि नरबहादुर आफ्नो बाटो लागे । सुकी भने झण्डै डेढ घण्टा लगाएर छोराछोरी लतार्दै जाक्सी आइन् । परोडबाट खेततिर जाने बाटोमा पर्ने पसलबाट उनले चाउचाउ किनिन् । प्रत्यक्षदर्शीका अनुसार त्यसपछि उनी कर्णालीतर्फ लागेकी थिइन् ।

०००

फागुन २४ गते, मंगलबार । दैलेख र अछाम जोड्ने कर्णाली नदीको पुलभन्दा दुई सय मिटर माथि नेपाल प्रेस प्रतिनिधि पुग्दा आठबिस नगरपालिकाका स्थानीयवासी सयौंको संख्यामा भेला भएका थिए । उनीहरु कसैका आँखा ओभाना थिएनन् । सबैलाई जिज्ञासा थियो, सुकीले किन यस्तो निर्णय गरिन् ?

सुकीले छोराछोरीसहित कर्णालीमा हाम्फालेको समाचार राष्ट्रिय मिडियाहरुमा आइसकेको थियो । तर, आत्महत्याको कारणबारे न स्थानीयवासीले भेउ पाएका थिए, न प्रहरीले । सुकीका श्रीमान् भने घटनास्थलमा थिएनन् ।

‘हामी सधैं यहाँ माछा मार्नका लागि झरेउला (पासो) हाल्ने गर्थ्याैं । आइतबार साँझ पनि झरेउला हालेका थियौं ।’

दैनिक माछा मार्दै आएका सौर्य कामी भन्छन्, ‘सोमबार दुईजना त्यही पासोमा परेका थिए । मंगलबार पनि आमाछोरा त्यस्तै पासोमा परेको अवस्थामा हामीले फेला पारेका हौं । ठुलै माछा लाग्यो भन्ने थियो, तर मान्छेको लाश देख्यौं ।’ आफूहरुले नै चारैजनाको शव फेला पारेकाे कामीले बताए ।

कर्णालीको तीरैतीर हिंडेर कसैले नदेख्ने ठाउँबाट कर्णालीमा हाम्फालेकी थिइन् सुकीले । घटना हुँदा गाउँमा उनका श्रीमान् मानसिंह मदिरा पिएर लट्ठ थिए । उनका छिमेकीले भोलिपल्ट अर्थात् सोमबार बिहान दश बजेतिर उनलाई झांगलझुंगल गर्दै उठाए । परिवारका अरु कहाँ छन् भनेर सोध्दा उनले आइतबार साँझदेखि घरमा नभएको जवाफ दिए ।

सुकीका मामा पर्ने भद्र बडुवालले नेपाल प्रेससँग भने, ‘मानसिंह त्यसबेला पनि रक्सीले मातेको चर्चा गाउँमा थियो ।’

०००

आजभन्दा १६ वर्ष अगाडि सुकी र मानसिंहबीच प्रेम भयो । एकै गाउँमा बस्ने भएकोले दैनिकजसो भेट हुन्थ्यो । प्रेम झांगिदै गएपछि १५ वर्षअघि उनीहरुले भागेर बिहे गरे । केही वर्षअघिसम्म जीवनको गाडी ठिकठाक नै चलिरहेको थियो ।

आठबिस नगरपालिका वडा नं. ३ निमायल निवासी ३५ वर्षीया सुकीका तीन छोरी र एक छोरा थिए । साथै, पेटमा हुर्किरहेको थियो तीन महिनाको शिशु ।

छोरीहरु स्थानीय नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा पढ्थे । जग्गा–जमिन अलिअलि नभएको होइन । तर अन्य खर्च धान्नका लागि श्रीमान् मानसिंह बडुवाल भारतका विभिन्न स्थानमा रोजगारीका लागि जाने गर्थे । सुकीले घर सम्हाल्थिन् ।

उनै सुकी अचानक आफ्ना चार छोराछोरीलाई समेत लिएर कर्णालीको भेलमा मिसिइन् । श्रीमान् मानसिंह इलाका प्रहरी कार्यालय राकमको हिरासतमा छन् ।

कारण स्पष्ट नखुले पनि श्रीमान्कै टर्चरका कारण आत्महत्या गरेको हुनसक्ने स्थानीयको भनाइ छ । नेपाल प्रेससँग कुरा गर्दै मृतकका मामा पर्ने भद्रबहादुर बडुवालले हिम्मतवाली महिला भएको बताए ।

‘गाउँमा उनी हलो जोत्ने, मल बोक्नेदेखि सबै काम गर्थिन् । यति साहसी महिलाले किन आत्महत्या गरिन् भनेर आश्चर्यमा छौं’, उनले भने ।

बडुवालका अनुसार सुकीको आर्थिक अवस्था सामान्य खालको थियो । आर्थिक कारणले नै यति कठोर निर्णय लिनुपर्ने अवस्था नरहेको उनको भनाइ छ ।

मृतक सुकीका माइतीतर्फका भतिजा कमल थापाले मानसिंहमाथि शंका भएको भए जाहेरी दिइसक्ने बताए ।

‘त्यस्तो विवाद भएको कुरा हामीलाई थाहा थिएन’ उनले भने, ‘श्रीमान् रक्सीको अम्मली भएकाले घरभित्र झगडा हुन्थ्यो कि थाहा भएन । समाजमा चाहिं त्यस्तो केही सुनेका थिएनौं ।’

यद्यपि १५ दिनअघि सुकीले माइतीमा आएर श्रीमान्ले गाली गर्न गरेको दुखेसो गरेको थापाले बताए ।

‘श्रीमान्ले रक्सी खाएर आफूसँग झगडा गर्ने गरेको सुनाएकी थिइन्, हामीले श्रीमान्लाई सम्झाएर पठाएका थियौं’ उनले भने, ‘त्यसपछि के भयो भन्ने हामीलाई थाहा छैन ।’

सुकीकी कान्छीआमा सुर्जा थापाले भने ज्वाईको विषयमा सुकीले गुनासो नगरेको बताइन् ।

‘श्रीमान्ले पिटेको वा अरु कुन गुनासो छोरीले हामीसँग गरेकी थिइनन्’ उनले भनिन्, ‘तर पनि कसरी यस्तो घटना भयो, अचम्म लागेको छ ।’

गर्भमा रहेको बच्चाका विषयमा श्रीमान्–श्रीमतीबीच झगडा पर्ने गरेको केही स्थानीयले बताएका छन् । उनीहरुको भनाइमा मानसिंहले श्रीमतीको गर्भपतन गराउन चाहेका थिए ।

‘उनको पेटमा तीन महिनाको गर्भ थियो । त्यो गर्भपतन गराउनका लागि मानसिंहले नौ हजार रुपैयाँ ल्याएका थिए । त्यो पैसामा उनले एक हजारको रक्सी पिएर बाँकी आठ हजार रुपैयाँ श्रीमतीलाई दिएका थिए’ नाम उल्लेख नगर्ने शर्तमा उनका एक छिमेकीले भने, ‘त्यही विवादका कारण घरमा झगडा भएको हुनसक्छ ।’

०००

अहिले सबैलाई घोचिरहेको अर्को प्रश्न हो, सुकीले हुर्किसकेका छोराछोरीलाई आफूसँगै कर्णालीमा हाम्फाल्न कसरी बाध्य पारिन् ? यसमा प्रहरीले पनि कुनै अनुमान लगाउन सकेको छैन । सुकीका एउटी छोरी १३ र अर्की ११ वर्षकी थिइन् ।

सुकीले पूरै तयारी गरेर नदीमा हाम्फालेको स्थानीयवासी बताउँछन् । प्रहरी र स्थानीयको अनुमान के छ भने आफू मर्न तयार भएपछि श्रीमान्ले छोराछोरीलाई दुख दिन्छन् भन्ने सोचेर उनीहरुलाई पनि सँगै लगेको हुनसक्छ ।

जाक्सीमा रहेको बजारबाट नजिकै सुकीका आफन्तको घर छ । तर, त्यसतर्फ नआइ साँझ परेपछि सीधै कर्णाली नदीको किनारामा निस्किनुले घटना योजनाबद्ध रहेको देखिन्छ । सुरुमा दुई छोरीको हात एकै डोरीले पछाडि बाँधेर नदीमा धकेलेको प्रहरीले जनाएको छ ।

त्यसपछि छोरा, कान्छी छोरी र आफूले नदीमा हाम फालेको शवको प्रकृतिबाट बुझिने प्रहरी बताउँछ । दुई छोरीपछि उनले छोरालाई बायाँ कम्मरमा पटुकाले बाँधेको र दायाँ हातमा कान्छी छोरी समातेर नदीमा हाम्फालेको शवको प्रकृतिबाट प्रहरीले निष्कर्ष निकालेको छ । सुकीले नदीमा हाम्फालेपछि उनको दायाँ हातबाट कान्छी छोरी छुट्टिएको हुनसक्ने अनुमान छ । ।

स्थानीय अगुवा खड्कबहादुर शाहीले त्यस स्थानबाट यसअघि दुई जनाले आत्महत्या गरिसकेको बताए ।

‘यो ढुंगा आत्महत्या गर्न ठिक छ भनेरै सुकी यहाँ आएको हुनुपर्छ’ उनले भने, ‘यसअघि यही ढुंगाबाट दुई जनाले आत्महत्या गरिसकेका छन् ।’

आमा सुकी, छोरी कल्पना, सरिता, छोरा ललितको शव फेला परिसकेको छ । आमा छोरा र दुई बहिनी डोरी र कपडाले बाँधिएको अवस्थामा फेला परेका थिए । कान्छी छोरी रजनी अहिलेसम्म बेपत्ता छिन् ।

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका डीआईजी बसन्तकुमार पन्तले घटनाको अनुसन्धान भइरहेको बताए । घटनास्थलमै पुगेका डीआईजी पन्तले अछाम प्रहरी र दैलेख प्रहरीले घटनाको बारेमा गहन रुपले अनुसन्धान गरिरहेको जानकारी दिए । मृतकहरुको शव पोस्टमाेर्टमका लागि अछामको मंगलसैनमा पठाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *