ह्यारी–मेगनको ‘नश्लभेदी’ खुलासाले बेलायती राजपरिवारमा हलचल, बकिङ्घम दरबार गम्भीर – Nepal Press

ह्यारी–मेगनको ‘नश्लभेदी’ खुलासाले बेलायती राजपरिवारमा हलचल, बकिङ्घम दरबार गम्भीर

राजकुमार ह्यारी र उनकी पत्नी मेगन मर्केलले राजपरिवारभित्र जातीय विभेदको आरोप लगाएपछि बेलायती राजदरबार बकिङ्घम प्यालेसले चिन्ता व्यक्त गर्दै निजी रुपमा यसबारे चर्चा गर्ने जनाएको छ ।

ह्यारी र मेगनले हालै अमेरिकी पत्रकार ओफ्रा विन्फ्रेलाई दिएको एक अन्तर्वार्तामा राजपरिवारका एक सदस्यले जातीय विभेद गरेको खुलासा गरेका थिए ।

‘पूरा राजपरिवार यो सुनेर दुखी छ कि पछिल्लो केही वर्ष ह्यारी र मेगनका लागि कति चुनौतीपूर्ण रहेछ’ बकिङ्घम प्यालेसबाट जारी गरिएको एक वक्तव्यमा भनिएको छ, दुवैले उठाएको विषयहरु खासगरी जातसँग जोडिएका मुद्दा चिन्ताजनक छ । यसलाई निकै गम्भीर रुपमा लिइएको छ र राजपरिवारले यसबारे निजी रुपमा कुराकानी गर्नेछ ।’

वक्तव्य अनुसार राजपरिवारका सदस्य ह्यारी, मेगन र उनीहरुका छोरा आर्चीलाई उनीहरु धेरै माया गरिरहनेछन् । विन्फ्रेसँग गरिएको अन्तर्वार्तामा मेगनले खुलासा गरेअनुसार उनलाई परिवारका एक सदस्यले सोधेका थिए कि उनको छोराको रंग कति कालो होला ? उनले अन्तर्वार्ताकै क्रममा यो टिप्पणी महारानी र युवराजले भने नगरेको प्रष्ट पारेकी थिइन् ।

अमेरिकी पूर्व अभिनेत्री मेगन बेलायतको राजपरिवारमा पहिलो मिश्रित जातकी सदस्य हुन् ।

ह्यारी र मेगनको यस अन्तर्वार्ताको विश्वभर चर्चा भएको थियो र बकिङ्घम प्यालेसमाथि लागेको रंगभेदी आरोपको जवाफ दिन लगातार दबाब बढिरहेको थियो । राजपरिवारका वरिष्ठ सदस्यहरुबीचको आपतकालीन बैठकपछि बकिङ्घम दरबारबाट यो वक्तव्य आएको हो ।

विन्फ्रेसँगको अन्तर्वार्ताका क्रममा ह्यारी र मेगनले राजपरिवारभित्रको जातीय भेदभाव र रंगभेदी व्यवहार, आफ्नो मानसिक स्वास्थ्य र उनीहरुप्रति सञ्चारमाध्यमको व्यवहारबारे कुराकानी गरेका थिए ।

यता बेलायतका पत्रकार तथा टेलिभिजन प्रस्तोता पियर्स मोर्गनले मेगनका बारेमा गरेको आपत्तिजनक टिप्पणीपछि टेलिभिजन छाड्नुपरेको छ । उनी आईटीभीमा सन् २०१५ देखि ‘गुड मर्निङ ब्रिटेन’नामक कार्यक्रमका संचालक थिए ।

मार्गनले ट्वीट गरेका थिए, ‘अन्तर्वार्ताका क्रममा मेगनले आफ्नो मानसिक स्वास्थ्य र आत्महत्याको सोचबारे जति पनि कुरा गरिन्, मलाई यसमा कुनै विश्वास छैन ।’

मोर्गनको यो टिप्पणीलाई लिएर आईटीभीमा ४१ हजार उजुरी र गुनासो आएको थियो । आईटीभीका प्रवक्ताले भनेका छन्, ‘आईटीभीसँगको कुराकानीपछि मोर्गनले कार्यक्रम छाड्ने निर्णय लिएका हुन् र उनको निर्णयलाई हामीले कार्यान्वयन गरेका छौं ।’

मोर्गन विवादमा परेको यो पहिलोपल्ट भने होइन । यसअघि थुप्रैपल्ट आफ्नो विवादास्पद ट्वीटका कारण उनी आलोचनाको शिकार भएका छन् ।

राजपरिवारको साथ रहँदाको आफ्नो अनुभवबारे मेगनले भनेकी छन्, ‘सुरुआती दिनहरुमा म निकै नै एक्लो महसूस गर्थेँ । यतिसम्म कि मैले आफ्नो जीवनमा त्यस्तो भोगेकी थिइनँ । थुप्रै नियममा बाँधिएको हुन्थ्यो । म आफ्ना साथीहरुसँग खाना खान बाहिर निस्कन सक्दिनथेँ ।’

उनले थपेकी छिन्, ‘म ह्यारीको साथमा मात्र खुसी हुन सक्थेँ, कहिलेकाहीँ उनलाई बाहिर जानुपर्थ्यो त्यतिबेला मलाई आधा रातसम्म निद्रा लाग्दैनथ्यो ।’

मेगनले यसअघि प्रयोग गरेको ‘अनसर्भाइवेवल’ शब्दका बारेमा विन्फ्रेले प्रष्ट पार्न भनेपछि जवाफमा उनले भनिन्, ‘म बाँच्नै चाहन्नथेँ । म यो कुरा ह्यारीलाई भन्न सक्दिनथेँ किनभने उनले जीवनमा धेरै कुरा गुमाएका छन् । यो डरलाग्दो सोच मेरो दिमागमा सधैं चलिरहन्थ्यो ।’

मेगनलाई सोधियो कि किन उनलाई आत्महत्याको सोच आइरहेको थियो ? ‘किनभने मलाई लागेको थियो कि त्यसपछि सबै कुरा ठीक हुँदै जानेछ’ मेगनले भनिन् ।

अन्तर्वार्ताका क्रममा ह्यारीले पनि आफ्नो परिवारले जातीय विभेदको विरोध नगरेकोमा निकै दुखी रहेको बताए । उनीहरुले आफ्ना छोरा आर्चीलाई सुरक्षा र राजपरिवारको उपाधि नदिन भएको षड्यन्त्रबारे पनि कुराकानी गरे ।

मेगनले भनिन्, ‘जुन नियमअनुसार मेरा सन्तानलाई राजकुमार वा राजकुमारीको उपाधि मिल्नुपर्ने थियो, त्यो नियम परिवर्तन गरियो । म गर्भवती भएको समयमा उनीहरुबाट भनियो कि मेरो छोराका लागि यो नियम परिवर्तन भएको हो । मैले सोधे किन ?’

उनले थपिन्, ‘म गर्भवती भएकै समयमा निश्चित भइसकेको थियो कि मेरो सन्तानले कुनै उपाधि पाउने छैनन् । यही चिन्ताका बारेमा कुराकानी हुन्थ्यो र त्यतिबेलै यस्ता कुरालाई लिएर चिन्ता गरिन्थ्यो कि आर्ची जन्मिंदा उनको रंग कति कालो होला ?’

गत वर्षको सुरुआतमा ह्यारीले उनी र पत्नी मेगन राजपरिवारको वरिष्ठ सदस्यबाट आफैं अलग हुने घोषणा गरेका थिए र उनी आफैं आर्थिक रुपमा स्वतन्त्रताका लागि काम गर्नेछन् । राजकुमारको यो निर्णयबाट बेलायती राजपरिवारमा ठूलो हलचल मच्चिएको थियो । उनीहरुले आफूहरु उत्तरी अमेरिकामा बस्ने बताएका थिए । केही समय क्यानडामा बसेपछि यो जोडी अहिले अमेरिकामा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *