१०४ वर्षिया वृद्धाले लगाइन् कोभिडविरुद्धको खोप – Nepal Press

१०४ वर्षिया वृद्धाले लगाइन् कोभिडविरुद्धको खोप

काठमाडौं । कोभिड-१९विरुद्ध दोस्रो चरणको खोप अभियान अन्तर्गत चावहिलस्थित ओम अस्पताल खोप केन्द्रमा मंगलबार ज्येष्ठ नागरिकले खोप लगाएका छन् । अस्पतालका अनुसार खोप लगाउन पुग्ने ६५ वर्षमाथिका ज्येष्ठ नागरिकको उपस्थिती उल्लेखनीय थियो ।

केन्द्रमा मंगलबार काठमाडौं महानगरपालिका-७ कुमारीगालकी १०४ बर्षिया महिला मनरुपा चौलागाईँले खोप लगाइन् ।

छोरा–बुहारीसँग अस्पतालस्थित खोपकेन्द्र पुगेकी मनरुपाले १९९० सालको भुइँचालो जाँदा आफू १४ वर्षकी किशोरी रहेको सम्झँदै राणाकाल र पञ्चायती जीवनबारे रमाइला किस्सा सुनाइन् । विहानै उठ्ने, नुहाएर पूजापाठ, भजनकीर्तन गर्ने मनरुपा अहिले पनि चारतल्ले घरमा आफैं उक्लन र ओर्लन सक्छिन् ।

शाकाहारी मनरुपा आफूलाई सबै खानेकुरा मनपर्ने र त्यसमा पनि दूधदही र फलफुल औधी मनपर्ने बताउँछिन् । थोरै-थोरै तर पटक–पटक खाइरहने तथा प्रशस्त पानी पिउने उनको बानी छ ।

१० सन्तानकी आमा मनरुपालाई कोरोना महामारीका बारेमा पनि जानकारी छ । मास्क लगाएर हिँड्ने गरेको र बेला–बेलामा राम्रोसँग हात धुने गरेको बताउँदै उनले बुढाबुढीलाई धेरै अप्ठ्यारो पार्ने कोरोनाविरुद्धको खोप लगाउन आफू अस्पताल आएको बताइन् ।

काठमाडौं महानगरपालिका वडा ७ का वडाध्यक्ष शुद्धकुमार डंगोलले वडाकै ज्येष्ठ नागरिक मनरुपालाई भेटेर दीर्घायुको कामना गरे ।

ओम अस्पतालको खोप केन्द्रमा आवश्यक पूर्वाधारसँगै परामर्ष एवं चिकित्सकको पर्याप्तताले खोप कार्यक्रम व्यवस्थित रुपमा संचालन भएको वडाध्यक्ष डंगोलले बताए । ज्येष्ठ नागरिक अभियान र व्यवस्थित खोप केन्द्रबाट खुशि रहेको उनले जनाए ।

निर्धक्क भएर खोप लगाउन ज्येष्ठ नागरिकलाई अस्पतालका मेडिकल डाइरेक्टर हरिश जोशीको आग्रह छ । केन्द्रमा आइतबारसम्म १५ सयभन्दा बढी ६५ बर्ष माथिका ज्येष्ठ नागरिकले खोप लगाइसकेको अस्पतालले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर