लगानी नडुबोस् भन्न शेयर किन्दा यी कुरामा ध्यान दिनुस् – Nepal Press

लगानी नडुबोस् भन्न शेयर किन्दा यी कुरामा ध्यान दिनुस्

काठमाडौं । शेयर बजारको मान्यता नै हो कि– लगानी गरेपछि कहिले कमिन्छ त कहिले गुमाइन्छ पनि । तर धेरैको सोचाइ हुन्छ– शेयर बजारमा लगानी गर्नासाथ धेरैभन्दा धेरै मुनाफा भइहाल्छ भन्ने । शेयर बजारमा नबुझिकन प्रवेश गर्दा कमाइने मात्र होइन, गुमाउने संभावना पनि त्यत्तिकै हुन्छ ।

शेयर बजारमा यसो गर्नुहोस् जसले तपाईको लगानी गुम्नबाट जोगिन सक्छ

१. बजार हल्लाको भरमा मात्र शेयर नकिन्नुहोस् । अहिले सामाजिक सञ्जालमा अनेक हल्ला गरिन्छन् । जस्तो, यो कम्पनीको शेयर मूल्य यतिसम्म पुग्छ । यो कम्पनी सबैभन्दा राम्रो हो । अनेक–अनेक कुरा कम्पनीको बारेमा लेखेको देखिन्छ । तर, यी कुराको पछि लागेर शेयर बजारमा प्रवेश गर्नुभयो भने तपाईं पक्कै डुब्नुहुन्छ ।

तपाईं बजार प्रवेश गर्दा आफैंले कम्पनीको विश्लेषण गर्नुपर्छ । कुन–कुन कम्पनी राम्रा छन्, त्यसलाई छान्न सक्नुपर्छ । नव प्रवेशीले त अझ बजार बुझेर मात्र प्रवेश गर्नुपर्छ । अर्काले कमाएको देखेकै भरमा जोखिमयुक्त कम्पनीको शेयर छान्नुहुँदैन । जति सक्दो जोखिमरहित कम्पनी छान्नुपर्ने हुन्छ ।

२. संस्थागत सुशासन अत्यन्त दयनीय भएका कम्पनीमा लगानी गर्नुहुँदैन । यदि यस्ता कम्पनीको शेयर मूल्य आकाशिएको छ भने तपाईंले एकपटक सोच्नुपर्ने हुन्छ ।

कुनै वेला पनि त्यस्ता कम्पनीको शेयर मूल्य तल झर्न सक्छ । समयमा साधारणसभा नगर्ने, विवाद र चर्चामा आइरहने, नियमनकारी निकायको कारबाहीमा परिरहने, केही सीमित व्यक्तिको हातमा मात्र शेयर रहेका जस्ता कम्पनीमा तपाईंले नबुझी लगानी नगर्नुहोस् । यस्ता कम्पनीमा पैसा डुब्ने संभावना अत्यन्तै धेरै हुन्छ ।

३. अन्धाधुन्द अर्काले यति कमाए उति कमाए भनेकै आधारमा जोखिम क्षमता नहेरी शेयर बजारमा प्रवेश र जथाभावी रूपमा लगानी गर्नुभयो भने पनि तपाईंको लगानी डुब्न सक्छ ।

४. शेयर बजारमा लगानी गर्दा सही, राम्रो तथा सुरक्षित कम्पनीमा लगानी गर्नुहोस् जसले तपाईंको लगानी डुब्नबाट बचाउँछ । राम्रा कम्पनीको शेयर मूल्य एकैपटक धेरै नबढे पनि आत्तिनहाल्नुस् यसले दीर्घकालीन मुनाफा दिन सक्छ ।

. सकेसम्म ऋणात्मक नेटवर्थ भएका कम्पनीमा लगानी गर्दै नगर्नुस् ।

६. कहिल्यै लाभांश नदिने कम्पनीमा लगानी नगर्दा नै राम्रो हुन्छ । यस्ता कम्पनीमा लगानी गर्दा तपाईंको पैसा डुब्न सक्छ ।

७. सबैभन्दा धेरै हकप्रद शेयर बिक्रीमा ल्याउने कम्पनीको शेयर सकेसम्म किन्नुहुँदैन ।

. शेयरमा लगानी गर्दा मनोबल उच्च राखेर शेयर किन्नुपर्छ । कहिलेकाहीं विना कारण शेयर घटिरहेको छ भने बेच्नलाई हतार गर्नुहुँदैन । धैर्य राख्नुपर्छ । यही वेलामा शेयरका खेलाडीले बेच्न उक्साउने भएकाले त्यस्ता कुरामा सचेत हुनुपर्छ ।

९. आफ्नो औकातले नभ्याउने गरी ऋण लिएर लगानी गर्नुहुँदैन ।

शेयर बजारमा प्रवेश गर्दा यी कुरालाई ध्यान दिनु भयो भने शेयरमा गरेका लगानी डुब्दैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर