एकल महिलालाई गाउँपालिकाले लगाइदियाे रातो टीका र पछ्यौरी – Nepal Press

एकल महिलालाई गाउँपालिकाले लगाइदियाे रातो टीका र पछ्यौरी

२ सय २७ एकल महिलाले लगाए रातो टीका

पोखरा । श्रीमानको निधन पछि धनमाया आलेको हुलिया नै फेरियो । लगाउँदै आएको रंगीविरंगी कपडाबाट एकाएक स्वेतमा झरिन् । सेतो कपडामा उभिनु परेपछि समाजले आफूलाई हेर्ने दृष्टिकोणमा पनि फरक पाइन् ।

सुरुमा त आलेलाई लाग्यो, ‘श्रीमान गएपछि सिन्दुर गयो । सिन्दुरसँगै जीवनको रङ पनि गयो !’ ८ वर्षदेखि उनले रातो टीका लगाएकी छैनन् ।
अरु संगिनीझैं रातो रङमा सजिएर हिँड्न उनलाई रहर नभएको पनि होइन । तर, समाजले बनाइदिएको अघोषित नियमको अघि उनी मौन बस्न बाध्य थिइन् । एकल महिलाप्रति समाजले हेर्ने हेयपूर्ण दृष्टिकोणले उनलाई बढी बिझाउँथ्यो ।

१ सय ११ औं अन्तर्राष्ट्रिय महिला दिवसको छेकोमा तनहुँको म्याग्दे गाउँपालिकाले एउटा रचनात्मक कार्यक्रम गर्‍यो, ‘एकल महिलालाई रातो टीका, रातै पछ्यौरी !’

कार्यक्रममा आलेले पनि टीका र पछ्यौरी पहिरिइन् । कार्यक्रमपश्चात उनले भनिन्, ‘यस्तो दिन आउला भन्ने सोचिएकै थिएन । तर, आउँदो रहेछ । आज वर्षौंपछि दिनपछि धेरै खुसी भएँ ।’ कार्यक्रममा उनीजस्तै गाउँपालिकाभरिका २ सय २७ जनाले टीका र पछ्यौरी पहिरिए । उनीहरुलाई गाउँपालिका अध्यक्षले टीका लगाइदिएका थिए ।

‘म त बुढी भइगएँ । अब टीका लगाउँदा नलगाउँदा पनि कुनै फरक पर्दैन । तर, कोही २०/२२ वर्ष मै एकल महिला भएकाहरु पनि हुनुहुन्छ,’ आलेले नेपाल प्रेससँग भनिन्, ‘छोराछोरी नहुँदै एकल महिला भएकालाई त झन् यसले बाधा, अड्चन नै फुकाइदियो । हामी साह्रै खुसी छौं ।’

एकल महिलाले ‘स्वेत बन्नुपर्ने’ नेपाली समाजको पुरातन सोचलाई भत्काउँदै गाउँपालिकाले रातो टीका र पछ्यौरी ओढाइदिएको हो । कार्यक्रम आयोजक गाउँपालिका अध्यक्ष मायादेवी राना आले आफू स्वयं एकल महिला हुन् । उनका श्रीमान ताराराज रानाको ०७३ सालमा निधन भएको थियो ।

गाउँपालिका अध्यक्ष आलेले पोषाककै कारण कोही पनि विभेदमा नपरुन् भन्ने मनसायले एकल महिलालाई टीका लगाइदिएको बताइन् । ‘भाषणमा जति ठूला कुरा गरे पनि महिला सधैं उत्पीडनमै छन् । त्यसमाथि एकल महिलामाथिको नजर त भनिसाध्य छैन,’ नेपाल प्रेससँग उनले भनिन्, ‘सहयात्री गुमाएपछि पुरुषहरु खुलेआम हिँड्दा महिलाले पोशाकमै विभेद भोग्नु परेको छ ।’

आलेले एकल महिलालाई रातो टीका र पछ्यौरी ओढाउने कार्यक्रम गत वर्ष नै गर्न चाहेको तर, कारणवश रोकिएको बताइन् । ‘म पनि एकल महिला हुँ । सबैलाई सम्मान हुने गरी यो कार्यक्रम गर्न खोजेको थिएँ । तर, कोरोना भाइरस महामारी सुरु भएका कारण योजना रोक्नु प¥यो,’ उनले भनिन्, ‘यो हाम्रो रुढीवादी संस्कारलाई तोडेर एकल महिलालाई हौसला दिन पनि आवश्यक थियो ।’

एकल महिलालाई समाजले हेर्ने नजर बदल्न गाउँपालिकाले सानो सुरुआतमात्र गरेको अध्यक्ष आलेको बुझाइ छ । उनले रातो टीका र पछ्यौरी ग्रहण आउनेको संख्याले आफूलाई झनै उत्साह थपेको बताइन् ।

‘रातो टीका र पछ्यौरीसहित ३ सय रुपैयाँ भत्ताको पनि व्यवस्था गरेका थियौं । बढीमा ५० जनामात्रै आउँछन् जस्तो लागेको थियो,’ उनले भनिन्, ‘कार्यक्रममा उस्थित एकल महिलाको संख्याले हामीलाई ऊर्जा थपेको छ ।’

म्याग्दे गाउँपालिमा जम्मा ७ वटा वडा छन् । ती सबै वडाका एकल महिलालाई रातो टीका र पछ्यौरी ओढाउन गाउँपालिकाले करिब डेढ लाख रुपैयाँ विनियोजनसमेत गरेको थियो ।

अध्यक्ष आले भन्छिन्, ‘सबै जातजाति, धर्म पर्ने गरी समान तरिकाले टीका र पछ्यौरी लगाउन आउन एकल महिलालाई भनेका थियौं । कसैलाई जोरजबर्जस्ती गरेका छैनौं । तर, उहाँहरु पनि साह्रै खुसी हुनुहुन्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *