नेकपाको लेटरप्याडमा प्रचण्डको एकल वक्तव्य, रिजाल भन्छन् – यस्तो प्रचलन थिएन – Nepal Press

नेकपाको लेटरप्याडमा प्रचण्डको एकल वक्तव्य, रिजाल भन्छन् – यस्तो प्रचलन थिएन

काठमाडौं । सर्वोच्च अदालतले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीलाई मान्यता नदिने फैसला सुनाएपछि यसको कार्यान्वयनमा धेरैतिर अन्योल देखिएको छ । खासगरी, पूर्वनेकपाको प्रचण्ड–नेपाल पक्षले फैसलालाई सहजरुपमा लिएको छैन ।

आज बिहानै पुनःस्थापित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एउटा विज्ञप्ति जारी गरे । नारी दिवसका अवसरमा जारी गरिएको विज्ञप्ति सामान्य थियो । तर, यसमा दुईवटा चर्चायोग्य विषय छन् ।

पहिलो, उनले नेपाल कम्युनिष्ट पार्टीको पुरानै लेटरप्याडमा विज्ञप्ति जारी गरेका छन् । जसलाई उनले सर्वोच्चको फैसलालाई तत्काल नस्वीकारेको संकेतका रुपमा बुझ्न सकिन्छ । दोस्रो यो विज्ञप्तिमा प्रचण्डको एकल हस्ताक्षर छ । माधव नेपालको नाम र हस्ताक्षर यसमा छैन ।

एमाले र माओवादी मिलेर नेकपा निर्माण भएपछि दुई अध्यक्षात्मक प्रणालीमा गएको थियो । त्यसमा केपी ओली र प्रचण्डकाे संयुक्त अध्यक्ष थियो । धेरैजसो विज्ञप्तिहरुमा दुवै अध्यक्षले सही गर्ने प्रचलन थियो । कतिपय गैरराजनीतिक विज्ञप्ति एकलरुपमा पनि जारी हुन्थे । पार्टी विभाजनपछि प्रचण्ड–नेपाल समूहले ओलीलाई हटाएर नेपाललाई अध्यक्ष बनायो । त्यसपछि जारी गरिएका विज्ञप्तिमा भने प्रचण्ड र नेपाल दुवैले हस्ताक्षर गर्दै आएका थिए ।

पछिल्लोपटक गत २२ फागुनमा दुई अध्यक्षले संयुक्त विज्ञप्ति जारी गरेका छन् । तर, आज जारी गरिएको विज्ञप्तिमा माधव नेपालको हस्ताक्षर छैन । नेकपाकै लेटरहेडमा विज्ञप्ति जारी हुनु तर त्यसमा नेपालको हस्ताक्षर नहुनुलाई अर्थपूर्णरुपमा हेरिएको छ । फैसलापछि नेपालको कानूनी हैसियत एमालेको वरिष्ठ नेता बन्न पुगेकाले उनलाई ‘बाइपास’ गरिएको त होइन भन्ने प्रश्न कतिपयले उठाएका छन् ।

माधवपक्षीय नेता विष्णु रिजालले यसअघि एकल अध्यक्षले विज्ञप्ति जारी गरेको आफ्नो जानकारीमा नरहेको बताए ।

‘नेपाल अध्यक्ष हुनुभएपछि उहाँहरुले सबै विज्ञप्ति संयुक्तरुपमा जारी गर्दै आउनुभएको छ, आज जारी भएको विज्ञप्तिमा किन नेपालले हस्ताक्षर गर्नुभएन भन्ने मैले बुझ्न पाएको छैन,’ उनले नेपाल प्रेससँग भने ।

सर्वोच्चको आदेशपछि पनि नेकपाकै लेटरहेडमा विज्ञप्ति जारी गर्न मिल्छ त भन्ने प्रश्नमा भने रिजालले प्रचण्डको बचाउ गरे ।

‘सर्वोच्चले फैसला गरेको छ, तर, त्यसकाे लिखित जानकारी पार्टीमा आइसकेको छैन । सर्वोच्च वा निर्वाचन आयोगले जानकारी नगराउँदासम्म हामीले नेकपा प्रयोग गर्नु आपत्तिको विषय हुँदैन होला,’ उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर