मेगन मर्केलको विस्फोटक अन्तर्वार्ता : आत्महत्या, वर्णविभेददेखि पहिले नै विहेको खुलासासम्म – Nepal Press

मेगन मर्केलको विस्फोटक अन्तर्वार्ता : आत्महत्या, वर्णविभेददेखि पहिले नै विहेको खुलासासम्म

काठमाडौं- बेलायती राजकुमार ह्यारी र उनकी पत्नी मेगन मर्केलले गतसाता राजपरिवारसँग सम्बन्ध विच्छेदको घोषणा गरे । सार्वजनिक जीवनमा आएलगत्तै उनीहरुले चर्चित अमेरिकी टेलिभिजन होस्ट ओफ्रा विन्फ्रेलाई अन्तर्वार्ता दिए ।

उक्त अन्तर्वार्तालाई लिएर अहिले विश्वभर तरंग छाएको छ । यो विस्फोटक अन्तर्वार्ताले एकैसाथ बेलायती राजपरिवारको मर्यादामा प्रश्नचिन्ह पनि खडा गरेको छ ।

ह्यारीकी पत्नी एवं हलिउड अभिनेत्री मर्केलले राजपरिवारको सदस्यको रुपमा रहँदा आफू निराश भएको बताउँदै आफूमा आत्महत्याको सोच समेत आएको उल्लेख गरेकी छिन् ।

‘म अब जीवनलाई निरन्तरता दिन्न चाहन्ने पक्षमा थिएँ’ अन्तर्वार्तामा मर्केलले भनेकी छिन्, ‘त्यो जीवन निकै डरलाग्दो थियो र म त्रासमा थिएँ । आत्महत्याको सोच बनाएकी थिएँ ।’

आफ्नो छोराको छालाको रङलाई लिएर बेलायती राजपरिवारले राजकुमारको छोराको दर्जा दिन अस्वीकार गरेको खुलासा समेत उनले गरेकी छिन् । बेलायती दरबारभित्र वर्ण विभेद कायमै रहेको समेत उनले भनेकी छिन् ।

दरबारमा भएको औपचारिक विहेको दुईदिन अघि नै राजकुमार ह्यारीसँग आफ्नो विहे भएको खुलासा समेत उनले गरेकी छिन् । ‘म यी कुराहरु भन्न चाहँदिनथेँ तर अहिले भन्नैपर्ने भयो’ मर्केलले भनिन् ।

विश्वका प्रतिष्ठित संचारमाध्यमले मर्केल र ह्यारीको अन्तर्वार्तालाई विशेष महत्व दिएका छन् । बेलायती अखबारले चाहिँ मर्केलको आरोपलाई बेलायती राजपरिवारले छानविन गर्ने समेत जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *