वाग्मतीको लगातार दोस्रो हार – Nepal Press

वाग्मतीको लगातार दोस्रो हार

काठमाडौं । काठमाडौं मेयर कपमा वाग्मती प्रदेशले लगातार दोस्रो हार बेहोरेको छ । पहिलो खेलमा शनिबार नेपाल पुलिस क्लबसँग २ रनको लज्जास्पद पराजय बेहोरेको वाग्मती आइतबार काठमाडौं मेयर-११ सँग ९९ रनले पराजित भएको हो ।

मूलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको मेयर-११ ले पूरा ५० ओभर खेल्दै ९ विकेटको क्षतिमा २४४ रनको योगफल तयार गरेको थियो । २४५ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको वाग्मतीले ३४.३ ओभरमा सबै विकेट गुमाएर १५० रन मात्रै बनाउन सक्यो ।

वाग्मतीलाई सस्तैमा समेट्न काठमाडौं मेयर-११ का कप्तान सन्दीप लामिछानेले सर्वाधिक ३ विकेट लिए । त्यस्तै, बिपिन खत्री र अनिल खरेलले २ तथा सिद्धान्त लोहनी, र कृष्ण कार्कीले १/१ विकेट लिए ।

सम्हालिन नसकेको वाग्मतीका लागि पृथु बाँस्कोटाले ६० रनको अर्धशतकीय इनिङ खेलेका थिए । इशान पाण्डे र कप्तान बिपिन खत्रीले १७/१७ बाहेक अन्य ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न नसक्दा वाग्मती सस्तैमा समेटियो ।

यसअघि खराब सुरुआत गरेको मेयर–११ का लागि अन्त्य क्रमका ब्याट्सम्यानले इनिङ सम्हाल्दै सम्मानजनक योगफलतर्फ डोर्‍याएका थिए । मेयर–११ का लागि सौरभ खनालले अविजित रहँदै बनाएको ४९ रन नै इनिङको सर्वाधिक बनेको थियो ।

त्यस्तै, कप्तान सन्दीप लामिछानेले २० बलमा ६ छक्कासहित ४२ रनको आक्रामक इनिङ खेल्दा बिपिन कार्की ३२, सिद्धान्त लोहनी ३४ र सन्दीप रजालीले ३३ रनको योगदान गरे ।

अन्य ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन् । वाग्मतीका लागि नन्दन यादवले १० ओभरमा ४१ रन खर्चेर १ मेडनसहित सर्वाधिक ४ विकेट लिए । आरियो पौडेल र रामनरेश गिरीले २/२ तथा दिपेश श्रेष्ठले १ विकेट लिए ।

शनिबार भएको खेलमा नेपाल पुलिस क्लबसँग दुई रनले पराजित भएको वाग्मतीको फाइनल प्रवेशको सम्भावना न्यून बनेको छ । नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा जारी प्रतियोगितामा पाँच टोली सहभागी छन् ।

राउन्ड रोबिन पद्धतिमा जारी प्रतियोगिताको पहिलो चरणको समाप्तिबाट शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *