वसन्त याममा आरोहण गर्न धमाधम आउँदैछन् आरोही – Nepal Press

वसन्त याममा आरोहण गर्न धमाधम आउँदैछन् आरोही

काठमाडौं । वसन्त यामको आरोहणका लागि थोरै सङ्ख्यामा भए पनि आरोही आउन थालेका छन् । सो यामको आरोहण अनुमतिका लागि केही आरोहीले निवेदन दिएका छन् ।

वसन्त याम शुरु भइसकेकाले अबका दिनमा आरोही समूह आउने पर्यटनविभागको अपेक्षा छ । विभागका निर्देशक मीरा आचार्यले याम शुरु भए पनि अहिलेसम्म विभागले अनुमति जारी गरेको छैन । मार्च, अप्रिल र मेको आरोहणका लागि मार्चदेखि बुकिङ शुरु भए पनि अप्रिलको दोस्रो सातासम्म विभागलाई अनुमति जारी गर्न भ्याइनभ्याइ हुन्छ ।

कोभिड–१९ महामारीकै बीच आरोहणमा केही आशाका सङ्केत देखिएका छन् । बहराइनी राजकुमार शेख मोहम्मद हमाद मोहम्मद अल खलिफासहितको टोलीले आगामी चैतमा सगरमाथा आरोहण गर्ने भएको छ ।

यस वर्षको वसन्त याममा सर्वोच्च शिखर आरोहणका लागि बहराइन अधिराज्यका युवराज शेख नसेर बिन हमिद अल खलिफाका भाइ शेख मोहम्मदसहित १६ जनाको टोली चैत २ गते नेपाल आउने मनामास्थित बहराइन नेपाली राजदूतावासले यसअघि नै विज्ञप्तिमार्फत जनाएको छ ।

बहराइन रोयल गार्ड (डिफेन्स फोर्स) मा कार्यरत १३ बहराइनी तथा तीन बेलायती रहने आरोही टोली ७९ दिन नेपालमा रहने जनाइएको छ । सगरमाथा आरोहणका लागि आवश्यक अन्य बन्दोबस्ती नेपालस्थित सेभेन समिट ट्रेकमार्फत भइरहेको छ । टोलीले सन् २०२० अक्टोबरमा लोबुचे पिक र मनास्लु हिमाल सफलतापूर्वक आरोहण गरेको थियो ।

कोभिड–१९ का कारण अघिल्लो वर्ष मुख्य याममै नेपालको पर्वतारोहण र पदयात्राले असर बेहोरेका सन्दर्भमा महामारीकै बीच हिउँद याममा भएका केही आरोहण तथा आगामी यामका लागि बुकिङ शुरु भएकाले यस वर्ष आरोहणमा सुधारका सङ्केत देखिएका छन् ।

विदेशी पर्यटकलाई नेपाल प्रवेशवापत अझै पनि क्वारेन्टिन बस्नुपर्ने प्रावधानका कारण अन्य पर्यटकीय गतिविधि खुम्चिए पनि पर्वतारोहणमा भने पर्यटकको चासो बढेको देखिन्छ ।

व्यवसायीको मागबमोजिम सरकारले पनि विदेशी पर्यटक आगमनलाई सहज तुल्याउन क्वारेन्टिन व्यवस्था खुकुलो बनाउने र पिसिआर नेगेटिभ यात्रुलाई सहज रुपमा भ्रमण व्यवस्था गर्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।
हालै काठमाडौँमा भएको एक कार्यक्रममा पर्यटनमन्त्री भानुभक्त ढकालले पिसिआर रिपोर्ट नेगेटिभ भएका विदेशी पर्यटकलाई निर्बाधरुपमा नेपाल भ्रमण गर्न दिने जनाउनुभएको थियो ।

अनअराइभल भिसाको व्यवस्था गर्न मन्त्रालयले कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी) लाई लिखितरुपमै पठाएको र छिट्टै मन्त्रिपरिषद्बाट पारित हुने जनाइएको छ ।पर्वतारोहणको मुख्य याम वसन्तका लागि अहिले विभिन्न पर्वतारोहणसम्बन्धी कम्पनीमार्फत बुकिङ चलिरहेको छ ।

सेभेन समिट ट्रेकको मात्रै वसन्त यामका लागि ८० विदेशीसहित २५० आरोहीले सगरमाथा आरोहणको तयारी गरिरहेको कम्पनीका अध्यक्ष मिङ्मा शेर्पाले जानकारी दिनुभयो । अन्य कम्पनीमार्फत पनि आरोहीले धमाधम बुकिङ गरिरहेका छन् ।

महामारीकै बीच बहराइनका राजकुमारसहितको टोलीलाई गत शरद् याममा मनास्लु हिमाल आरोहणको अनुमति दिएको थियो । टोलीले असोज २९ गते मनास्लुको सफल आरोहण गरेको थियो । महामारीबीच भएको सो आरोहण नै विदेशी टोली सम्मिलित पहिलो थियो ।

त्यसपछि कतारका राजकुमारसहितको टोलीले गत कात्तिक २६ गते अमादब्लम हिमालको आरोहण गरेको थियो । असहज परिस्थिति भए पनि विदेशी विशिष्ट व्यक्तिको आरोहणले पर्वतारोहणमा उत्साह जगाएको छ ।

अहिले पर्यटनका सबैजसो क्षेत्र खुलिसकेका छन् । पर्यटकीय गतिविधि पनि बढेको छ । सरकारले कोभिडका कारण स्थगन गरिएको पदयात्रा र पर्वतारोहण कात्तिकदेखि खुलाएको थियो । रासस


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर