बालुवाटारमा सभामुखको भूमिकामाथि छलफल, गडबड गरे मुठभेड हुने चेतावनी – Nepal Press

बालुवाटारमा सभामुखको भूमिकामाथि छलफल, गडबड गरे मुठभेड हुने चेतावनी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सत्तारुढ नेकपाले सभामुख अग्नि सापकोटाको भूमिका शंकास्पद रहेको भन्दै संविधान र कानून बमोजिम नचले सत्तापक्षकै सांसदले सदन चल्न नदिने अवस्था आउन सक्ने आकलन गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिवार राति नेकपा संसदीय दलका पदाधिकारीहरुसहितका नेताहरुबीचको छलफलमा सभामुखले प्रचण्ड-माधव पक्षलाई दलको मान्यता दिने गरी अघि बढे प्रतिवाद गर्ने कुरा उठेको एक नेताले बताए ।

उनले भने, ‘सभामुखको पारा अहिले पनि प्रचण्डको गुरिल्ला भन्दा माथि उठ्न सकेको छैन । आजै त बैठकमा नेताहरुले बोल्ने कुरा हुन्न,बहालवाला सांसदको निधन भएकाले श्रद्धाञ्जली दिएर सकिन्छ होला । तर प्रचण्डलाई दलको नेताको रुपमा बोल्न दिने सापकोटाको तयारी छ त्यसो भयो भने मुठभेड हुनसक्छ ।’

नेकपा कानूनी रुपमा विभाजन नभएको र संसदीय दलको नेता वैधानिक रुपमा केपी ओली नै रहेकाले प्रचण्ड-माधव पक्षले दुईपटक राजनीतिक निर्णयबाट प्रचण्ड नेता भने पनि त्यसलाई सचिवालयले कानूनी मान्यता नदिएको भन्दै ओली पक्षले सभामुखले जबर्जस्ती गरे, आफ्नो पक्ष पनि जबर्जस्तीमै उत्रिने चेतावनी दिएको छ ।

सचिवालयले नेकपाको मुख्य सचेतकका रुपमा विशाल भट्टराईलाई मान्यता दिइसकेको छ । तर सभामुखले भट्टराईलाई भेट्न मानेका छैनन् । आज संसद बैठक अघि कार्यव्यवस्था परामर्श समिति बैठक बस्नुपर्छ । अहिलेसम्म भट्टराई र सचेतक शान्ता चौधरीसहित ओली पक्षका सांसदहरुलाई खबर नआएको बताइन्छ ।

नेकपा विवादको असर कार्यव्यवस्था परामर्श समितिबाटै शुरु हुने देखिएको छ । कार्यव्यवस्थाको बैठक बस्ने कि नबस्ने भन्नेमै सभामुख परामर्शमा रहेको निकट स्रोतले जनाएको छ । परामर्शको बैठक नबसी सीधै संसद शुरु गर्ने कि भन्ने कोणबाट पनि छलफल चलिरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर