नेकपा ओली-प्रचण्डको कि ऋषि कट्टेलको ? फैसला आज – Nepal Press

नेकपा ओली-प्रचण्डको कि ऋषि कट्टेलको ? फैसला आज

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ऋषि कट्टेलको कि केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको ? यो मुद्दाको छिनोफानो आज हुँदैछ ।

अदालतमा सार्वजनिक विदाका कारण विहीबार हुन नसकेको नेपाल कम्युनिष्ट पार्टीको नाम सम्बन्धी मुद्दाको फैसला आज हुन लागेको हो ।

नेकपा अध्यक्ष ऋषि कट्टेलले दुई वर्षअघि सर्वोच्चमा दायर गरेको रिटमाथि सुनुवाई सकिएपछि विहीबार निर्णय सुनुवाईको मिति तोकिएको थियो ।

तर यसबीचमा पूर्व प्रधानन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधनका कारण विहीबार अदालतहरुमा विदा दिइएका कारण निर्णय सुनुवाई सरेको थियो । न्यायाधीशद्वय कुमार रेग्मी र बमकुमार श्रेष्ठको इजलासले आज निर्णय सुनाउनेछ ।

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरणपछि २०७५ जेठ ३ गते नेपाल कम्युनिष्ट पार्टी नामकरण गरिएको थियो । सो पार्टी निर्वाचन आयोगमा त्यसअघि नै दर्ता रहेको भन्दै कट्टेलले आयोगमा उजुरी दिएपछि केपी ओली र प्रचण्ड अध्यक्ष रहेको नेकपाले कोष्टमा (नेकपा) थपेको थियो ।

निर्वाचन आयोगले कट्टेलको मागविपरीत निर्णय गरेपछि उनी अदालत गएका थिए । २०७५ मंसिरमा अदालत पुगेका कट्टेलको मुद्दामाथि दुई वर्षपछि फैसला हुन लागेको हो ।

सर्वोच्च अदालतले नेकपाको आधिकारिकता कट्टेललाई दिएमा ओली र प्रचण्ड अध्यक्ष रहेको नेकपाले अर्को नाम राख्नुपर्नेछ ।

दुवै अध्यक्ष रहेको नेकपा प्राविधिक रुपमा फुटे पनि कानूनी रुपमा फुटेको छैन । यदि ओली र प्रचण्डले संयुक्त हस्ताक्षर गरेर नाम नदिए नेकपा विवाद अर्को झमेलमा फस्नेछ र दलको दर्ता खारेजसम्म हुनसक्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर