मोतिपुर औद्योगिक करिडोर निर्माण अघि बढाउने सहमति – Nepal Press

मोतिपुर औद्योगिक करिडोर निर्माण अघि बढाउने सहमति

रुपन्देही । औद्योगिक क्षेत्र ब्यवस्थापन लिमिटेड र मोतिपुर औद्योगिक करिडोर प्रभावित स्थानीयबीच मोतिपुर औद्योगिक करिडोर निर्माणलाई निर्वाध रुपमा अगाडि बढाउने सहमति भएको छ ।

शनिवार बुटवल औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयमा बसेको औद्योगिक करिडोर प्रभावित स्थानीय र ब्यवस्थापन समितिबीच औद्योगिक क्षेत्रको पुर्वाधार निर्माण कार्य द्रुत गतिमा अगाडि बढाउने सहमति भएको हो ।

करिडोर निर्माणका क्रममा आफ्नो बसोवास समाप्त हुने अवस्थामा पुगेका बुटवल उपमहानगरपालिका–१७ रानीगन्जका २३ सय घरधुरीका बासिन्दा र लिमिटेड अध्यक्ष नन्दकिशोर बस्नेतबीच ७ बुंदे सम्झौता भएको हो ।

स्थानीयको तर्फबाट नमुना टोल बिकास संस्थाका अध्यक्ष धर्मवीर बुढाथोकी र औद्योगिक क्षेत्र ब्यवस्थापन कार्यालयका तर्फबाट अध्यक्ष बस्नेतले हस्ताक्षर गरेका छन् । सम्झौतामा करिडोर निर्माणलाई स्वागत गर्दै जग्गाको नापजाँच र यकिन तथ्यांक तयार गरी निर्माण कार्य अगाडि बढाउने उल्लेख छ ।

शिलान्यासका क्रममा भएको घटनाप्रति दुःख व्यक्त गर्दै आगामी दिनमा करिडोर निर्माणमा अवरोध गर्नेविरुद्ध प्रतिवाद गर्ने उल्लेख गरिएको छ ।

करिडोर निर्माणका लागि बातावरणीय प्रभाव मुल्यांकनलाई अन्तिम रुप दिन सार्वजनिक सुनुवाई गर्ने र त्यसका लागि स्थानियले सहयोग गर्ने सहमति भएको उल्लेख समेत उल्लेख छ ।

सहमतिपत्रमा बुटवल उपमहानगरपालिका अन्तर्गत साविकको मोतिपुर गाविसको सेक्टर बि अन्तर्गतको कित्ता नं ४७ र ४८ लाई अलग राखी डीपीआर गरिएको र त्यसको यथोचित ब्यवस्थापन गरि काम अगाडी बढाउने उल्लेख गरिएको छ ।

सहमति पत्रमा टोल बिकास संस्थाका अध्यक्ष बुढाथोकीसँगै वडा १७ का अध्यक्ष सन्तबहादुर रानासहित २३ सय घरधरीको तर्फबाट १० वटा टोलबिकास संस्थाका अध्यक्ष तथा प्रतिनिधि एवं ५ वटा सेक्टरका अध्यक्षले सहमति जनाएका छन ।

सहमतिपछि बोल्दै टोल बिकास संस्थाका अध्यक्षले शुक्रबार भएको घटनामा आफूहरुलाई गलत ढंगले प्रयोग गर्न खोजिएको बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर