एक वर्षपछि पोखरा-जोमसोम उडान सुरु – Nepal Press

एक वर्षपछि पोखरा-जोमसोम उडान सुरु

पोखरा– लकडाउनका कारण गत चैतदेखि रोकिएको पोखरा-जोमसोम हवाइ सेवा शनिबारदेखि सुचारु भएको छ । चैत ११ गतेदेखि रोकिएको हवाइ सेवा शनिबार समिट एअरले गरेको २ उडानसँगै सञ्चालनमा आएको हो ।

उक्त एअरबाट शनिबार ५४ जना भारतीय पर्यटक जोमसोम पुगेका थिए । पोखरादेखि पर्यटक लिएर समिट एयरलाइन्सको विमान जोमसोम पुगेको थियो ।

समिटले तीन उडान भर्ने भनिए पनि मौसम खराबीले २ उडानमात्रै भएको नागरिक उड्डयन कार्यालय जोमसोम प्रमुख दीपक विश्वकर्माले जानकारी दिए ।

आइतबार पनि तारा एअरका २ र समिटको एउटा उडान समयतालिका भएको विश्वकर्माले जानकारी दिए । ‘यो नियमित उडान त होइन । चार्टेड उडान हो । तर, पनि अब विस्तारै नियमित उडान पनि सुरु हुन्छ,’ उनले भने ।

सरकारले असोज १ गतेबाट आन्तरिक उडान खुला गरे पनि जोमसोम एअरपोर्ट सुरु हुन सकेको थिएन । पोखरा एअरपोर्ट प्रमुख विक्रम गौतमले पोखरा-जोमसोम चाँडै नियमित उडान खुला गरिने जानकारी दिए ।

फाइल तस्विर : समिट एयर र सीमकोट विमानस्थल


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर