सभागृहमा विप्लवको भाषणः न सन्देश न प्रभाव – Nepal Press

सभागृहमा विप्लवको भाषणः न सन्देश न प्रभाव

काठमाडौं । सरकारसँग तीनबुँदे सहमतिपछि भूमिगत जीवन त्यागेर नेत्रविक्रम चन्द ‘विप्लव’ आज सार्वजनिक भए । राष्ट्रिय सभागृहमा उनलाई ‘हेर्न’ ठूलै भीड जम्मा भएको थियो भने उनले के बोल्लान् भन्ने कौतूहल पनि उत्तिकै थियो । तर, विप्लवले कुनै प्रभाव छोड्ने खालको अभिव्यक्ति दिन सकेनन् ।

नवलपरासीबाट आफ्नो दलबलसहित काठमाडौं आउने विप्लव क्षण–क्षणमा समाचार बनिरहेका थिए । हेलिकोप्टरमा आउन नमानेर गाडीमा आएकोदेखि लिएर बाटोमा सुस्ताएको र कलंकी काटेको सम्मका समाचार मिडियामा आए । यसले पनि विप्लवमाथि मिडियाको ठूलो कौतूहल रहेको प्रष्ट हुन्छ ।

काठमाडौं आएर आफ्नो वार्ता टोलीका सदस्यलाई भेटेपछि विप्लव उनीहरुलाई समेत लिएर प्रधानमन्त्री निवास बालुवाटार हान्निए । त्यहाँ प्रधानमन्त्री केपी शर्मा ओलीसँग उनको वान–टु वान वार्ता भयो । अनि ओली र विप्लव एकसाथ राष्ट्रिय सभागृह पुगे ।

उनीहरु पुग्दासम्म सभागृह खचाखच भइसकेको थियो । धेरै त मिडियाकर्मी नै थिए । यसैगरी, सरकार समर्थक र विप्लव समर्थकको पनि बाक्लो उपस्थिति थियो । मञ्चमा ‘नेपाल सरकार र नेपाल कम्युनिष्ट पार्टीबीच सम्पन्न सहमतिमा हस्ताक्षर समारोह’ लेखिएको ब्यानर टाँगिएको थियो ।

मञ्चको केन्द्रभागमा राखिएको आकर्षक कुर्सीमा प्रधानमन्त्री केपी ओली आसीन भए । उनको दायाँतर्फ सुवास नेम्वाङ, रामबहादुर थापा र ईश्वर पोखरेल थिए । बायाँतर्फको तीन कुर्सीमा क्रमैसँग विप्लव र उनको वार्ता टोलीका दुई सदस्य बसे । कार्यक्रमको सञ्चालन सरकारी वार्ता टोलीका सदस्य राजन भट्टराईले गरेका थिए ।

पक्कै पनि कार्यक्रमका मुख्य आकर्षण थिए विप्लव । सहमतिमा हस्ताक्षरपछि उनलाई बोल्न मञ्चमा बोलाइयो । विप्लवले आफ्नो भाषणमा हिंसात्मक आन्दोलनमा जानुको कारणदेखि अहिले शान्तिपूर्ण राजनीतिमा अवतरण गर्दाको सन्दर्भ र प्रक्रिया व्याख्या गर्दै भावी योजना समेत सुनाउलान् भन्ने आशा सहभागीले राखेका थिए । तर, विप्लवले निराश बनाए । उनको भाषण अमूर्त थियो । सरकारसँग गरेका तीनबुँदे सहमतिको पालनामा प्रतिवद्ध रहनेबाहेक उनीबाट ठोस भनाइ केही आएन ।

विप्लवले न हिंसात्मक आन्दोलनमा जानुको रहस्य खोतले न, शान्तिपूर्ण राजनीतिमा अवतरणको सन्दर्भ र प्रक्रिया प्रष्ट्याए । ‘कम्युनिष्ट विद्रोही मात्रै हुँदैनन्, शान्तिदूत पनि हुन सक्छन्’ भन्ने अमूर्त अभिव्यक्ति दिएर उनले सारा सैद्धान्तिक प्रश्नलाई पन्छाइदिए । अनि यो सहमतिलाई ‘घाम र जूनको एकता’ भनेर काव्यिक विश्लेषण गरे ।

अन्त्यमा भाषण गरेका प्रधानमन्त्री केपी शर्मा ओली भने निकै उत्साही देखिए । उनले नेपाल शान्तियुगमा प्रवेश गरेको घोषणा गरे । विप्लवको कदमलाई साहसिक भन्दै प्रशंसा समेत गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर