सातदोबाटोको अपराजित यात्रा कायमै – Nepal Press

सातदोबाटोको अपराजित यात्रा कायमै

काठमाडौं । सातदोबाटो युथ क्लबले शहीद स्मारक ‘बी’ डिभिजन लिगमा अपराजित यात्रा कायमै राखेको छ । यसअघिका ८ खेलमा ७ जित र १ बराबरीको नतिजा निकालेको लिग लिडर सातदोबाटोले शुक्रबार बाँसबारी क्लबलाई ४-१ को नतिजामा पराजित गर्‍यो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलको ११औं मिनेटमा असिम राईले गोल गर्दै सातदोबाटोलाई अग्रता दिलाएका थिए । थप गोलका लागि निरन्तर प्रयास गरे पनि फिनिसिङमा चुक्दा पहिलो हाफमा १-० को नतिजामा टुङ्गिएको थियो ।

सुरुआतदेखि नै आक्रामक शैलीमा उत्रिएको सातदोबाटोले ४९औं मिनेटमा उपहार गोलमार्फत् अग्रता दोब्बर बनाएको थियो । बाँसबारीका अमृत श्रेष्ठले बचाउने क्रममा आत्मघाती गोल गरेसँगै सातदोबाटोको अग्रता दोब्बर भएको थियो ।

बाँसबारीको रक्षापंक्तिमाथि निरन्तर आक्रमण गरेको सातदोबाटोका लागि ५३औं मिनेटमा प्रवेश बस्नेतले तेस्रो गोल गरे । त्यसको १० मिनेट नबित्दै दिनेश राईले गोल गर्दै सातदोबाटोको अग्रता ४-० मा लम्ब्याएका थिए । बाँसबारीका लागि निशान सुनारले ७९औं मिनेटमा एक मात्र सान्तवना गोल गरे ।

जितसँगै शीर्ष स्थानमा सातदोबाटोले खुमलटारसँग तीन अंकको अग्रता कायम राखेको छ । लिग लिडर सातदोबाटोले ९ खेलबाट २५ अंक जोडेको छ भने दोस्रो स्थानको खुमलटारको समान खेलबाट २२ अंक छ । ९ खेलबाट १८ अंक जोडेको बाँसबारी लिग तालिकाको तेस्रो स्थानमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *