सरकार गिराएर प्रतिपक्ष समक्ष प्रधानमन्त्रीको प्रस्ताव लैजानेलाई जनताले परास्त गर्छ: अर्थमन्त्री – Nepal Press

सरकार गिराएर प्रतिपक्ष समक्ष प्रधानमन्त्रीको प्रस्ताव लैजानेलाई जनताले परास्त गर्छ: अर्थमन्त्री

रुपन्देही । नेकपा महासचिव तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आफ्नो पार्टीको नेतृत्वको सरकार गिराएर प्रतिपक्षी दलको ढोकामा प्रधानमन्त्रीको प्रस्ताव लैजानेहरुलाई जनताले परास्त गर्ने बताएका छन् ।

रुपन्देहीको तिलोत्तमा नगरपालिकाको भवन उद्घाटन कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले भने,‘मध्यरातमा प्रतिपक्षी दलको ढोका चहार्न जाने, नेपालको कम्युनिष्ट पार्टीलाई कमजोर बनाउन अँध्यारो कोठामा बसेर योजना बनाउनेलाई पार्टी कार्यकर्ता र नेपाली नागरिकले राम्रोसँग चिनेका छन् । त्यही भएर यसो गर्नेहरु जनताबाट अनुमोदन हुन चाहेका छैनन् ।’

नेता पौडेलले भने,‘संवैधानिक कानुनी दायरा विपरीत कम्युनिष्ट पार्टी कमजोर बनाउनेलाई नेपाली जनताले माफ दिने छैनन, हेक्का गर्नु, नेपाली जनताले स्थिरता, शान्ति र विकास चाहेको छ ।

अर्थमन्त्री पौडेलले केपी ओली नेतृत्वको सरकारले विखण्डनको बाटो समातेका डा. सिके राउत तथा विद्रोहको बाटो समातेका नेत्रविक्रम चन्द विप्लबलाई शान्तिपूर्ण संवैधानिक राजनीतिको मूल धारमा ल्याएको बताए ।

नेता पौडेलले वर्तमान सरकारले राष्ट्रिय स्वाधिनता र विकासका विषयमा प्रष्ट धारणा राखेकाले अनम नेपालीले माया गरिरहेको बताए । पौडेलले भने,‘राष्ट्रिय स्वाधिनता, भौगोलिक अखण्डताको पक्षमा अभूतपूर्व सफलता पाएका छौं, कोरोना महामारी विरुद्धको अभियान र निःशुल्क खोपका लागि गरेको पहलकदमीलाई अर्को उपलब्धी मानेका छौं ।’

मन्त्री पौडेलले विकासका लागि वर्तमान सरकार उदाहरणीय बनेको बताएका छन् । उनले रुपन्देहीको तिलोत्तमालाई केन्द्रमा राखेर महानगर निर्माण गरिने बताएका छन् । जिल्लाका बुटवल उपमहानगरपालिकासहित सिद्धार्थनगर नगरपालिका, देवदह लगायतका क्षेत्रलाई समेटेर प्रशासनिक कार्यालय तिलोत्तमा रहने गरी महानगर निर्माण गरिने बताए ।

रुपन्देहीले भौतिक पूर्वाधार तथा विकास निर्माणको क्षेत्रमा फड्को मारेको बताउँदै विकास हेर्नका लागि अब रुपन्देही आउनुपर्ने वातावरण निर्माण गरिने जनाए । रुपन्देही विकासको रोल मोडल भएको दाबी गर्दै उनले जिल्लालाई विकासका हरेक क्षेत्रमा कुनै पनि हिसाबले पछि पर्न नदिने प्रतिवद्धता व्यक्त गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *