पोखरामा ‘चुल्ठो’ चर्चा ! – Nepal Press

पोखरामा ‘चुल्ठो’ चर्चा !

पोखरा । ‘व्यक्तिगत रूपमा भयंकर रिसाहा कवि हुन्– कल्पना चिलुवाल । तर, रिसाएको कविले सुन्दर कविता जन्माउँदो रहेछ । पूरै संग्रहमा तपाईं त्यस्ता कविता भेट्टाउनुहुन्न, जहाँ कवयित्री नरिसाएकी हुन्’, चुल्ठो कविता संग्रहमा संग्रहित कवयित्री चिलुवालको कवितामाथि अर्की साहित्यकार सरस्वती प्रतीक्षाको दृष्टिकोण हो, यो ।

कवयित्री चिलुवालको नवीनतम कविता कृति ‘चुल्ठो’ माथि बुधबार पोखरामा विहङ्गम चर्चा गरियो । माघ २४ गते काठमाडौंमा विमोचन भएको कृतिको पहिलो पटक पोखरामा परिचर्चा कार्यक्रम गरिएको हो ।

कार्यक्रममा कृतिमाथि आफ्ना विचार राख्दै कवयित्री प्रतीक्षाले चिलुवाललाई रिसाहा भए पनि यथार्थपरक र विद्रोही कविका रूपमा चित्रण गरिन् ।

उनले चुल्ठो कविता संग्रहले समाजका हरेक कोणलाई समेटेको हुनाले कुनै एक वादमा मात्रै सीमित गर्न नहुने धारणा राखिन् ।
‘कल्पनाका कवितालाई कुनै एउटा वादमा मात्र समेट्न खोजियो भने अन्याय हुन्छ’ प्रतीक्षाले भनिन्, ‘यो खासमा थुप्रै वादहरूको कोलाज हो । यहाँ नारीवाददेखि यथार्थवादसम्मका वाद अटाएका छन् ।’ उनले चुल्ठो कवितासंग्रह देशको ‘स्खलित राजनीति’को दस्तावेज भएको समेत बताइन् ।

लेखनमा आफ्नोपन नभएको समीक्षा गर्दै प्रतीक्षाले समाजलाई नकारात्मक ढंगले मात्रै ननियाल्न कवयित्रीलाई आग्रह गरिन् । ‘हरेक कुरा नराम्रा हुँदाहुँदै पनि केही अवश्य राम्रा छन् । मानवीयता घाइते मात्रै भएको हो, मरिसकेको छैन’ उनले भनिन्, ‘तर कविको नाम कल्पना भए पनि कल्पनाका कविताहरू यथार्थपरक छन् ।’

अर्की वक्ता सुमिनाले चुल्ठोले कविको मात्रै नभएर सम्पूर्ण उत्पीडित, सीमान्तकृत, निम्नवर्गको आवाज बोलेको जिकिर गरिन् । उनले चुल्ठोले पाठकको मस्तिष्कमा तहल्का पिट्न सक्ने बताइन् । ‘हल्ला, तहल्का कविले होइन, कविको कविताले पिट्नुपर्छ । कल्पनाका कविताले मस्तिष्कमा तहल्का पिट्न सक्छन्’, उनले भनिन् ।

कृतिमा अधिकांश अस्तित्ववादी धारका कविता रहेको सुमिनाले बताइन् । उनले भनिन्, ‘कविताले शालीन विद्रोह बोलेका छन् । कवितामा जे छन्, सत्य छन् ।’ उनले सङ्ग्रहको ‘छनोट’ शीर्षक कविता वाचन समेत गरिन् ।

कार्यक्रममा डा. कृष्णराज अधिकारीले कवयित्री चिलुवालका कविता सरल रहेको बताए । उनले पछिल्लो पुस्ताले प्रयोगका नाममा विम्बको थुप्रो लगाउने र त्यसले कविताको मर्म नै मारिदिने गरेकोमा चिन्ता व्यक्त गरे । ‘कवयित्री चिलुवालको विम्ब प्रयोग पनि सरल छ । जसले गर्दा हरेक पाठकले उनको विद्रोही चेत सजिलै अनुभव गर्छन्’, उनले भने ।

बेला पब्लिकेसनद्वारा प्रकाशित ‘चुल्ठो’ चिलुवालको पहिलो कविता संग्रह हो । कृतिमा जम्मा ५६ वटा कविता संग्रहित छन् । चिलुवालले कवितामा आफूले आम मान्छेको कथा लेखेको र कविताबाटै ती मान्छेसम्म पुग्न पाउँदा खुशी लागेको पनि बताइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर