काली मार्सी चामल जापानी बजारमा, क्यानडामा पनि निर्यात गर्ने तयारी – Nepal Press

काली मार्सी चामल जापानी बजारमा, क्यानडामा पनि निर्यात गर्ने तयारी

काठमाडौं । जुम्ली मार्सी चामल र जैविक सिमीलगायत कृषिवस्तुका माग अन्तररष्ट्रिय बजारमा बढ्न थालेको छ । जिल्लाबाट पहिलोपटक छ लाख रुपैयाँभन्दा बढीका मार्सी चामल र जैविक सिमीलगायतका सामग्री जापान निर्यात भएको हो ।

अग्र्यानिक्स एण्ड सुपरफुडका सञ्चालक राज शाहीले तीन टन मार्सी र सिमी निर्यात गरेका हुन् । व्यावसायिकरूपमा कर्णालीका खाद्य पदार्थ अन्तररष्ट्रिय बजारमा पुर्‍याउने लक्ष्यका साथ पहिलोपटक ती सामग्री निर्यात भएको उनले जानकारी दिए ।

उनले भने ‘टोकियोमा रहेको पूर्ण ट्रेडिङका सञ्चालक भुवन श्रेष्ठको समन्वयमा एक टन मार्सी चामल र मासको दाल, दुई टन सिमी र १० किलो स्याउको चाना निर्यात गरिएको छ ।’

कर्णालीका खाद्य पदार्थ व्यावसायिकरूपमा निर्यात भएको यो पहिलोपटक रहेको स्थानीयवासी बताउँछन् । निर्यात भएसँगै जुम्ली मार्सी र सिमीका माध्यमबाट नेपाल नाम अन्तर्राष्ट्रिय बजारमा आफूलाई चिनाउन सफल भएको छ ।

क्यानडा निर्यातको अन्तिम तयारी

बीस टन जुम्ली मार्सी सिमी क्यानडा पठाउने तयारी अन्तिम चरणमा पुगेको छ । पन्ध्र टन मार्सी, चार टन सिमी तथा एक टन हरियो केराउ र कोदो गरेर क्यानडामा माग भएको सञ्चालक शाहीले बताए ।

क्यानडास्थित लायम फूड कर्पोरेशनका डा. पूर्ण कँडेलका समन्वयमा ती वस्तु निर्यात गर्न लागिएको छ । ती सामानमा ‘कर्णाली सुपरफूड’ प्रतीक चिह्न हुने सुपरफूडले जनाएको छ ।

अहिले प्याकेजिङ भइरहेको छ । क्यानडा सामान पठाउन भने केही अप्ठ्यारो भएको उनले बताए। ‘जापानको लागि स्ट्याण्डर्ड नचाहिने रहेछ, हामीले यहाँबाट सामान पठाएपछि उनीहरूले नै प्याकिङ गर्छन् र बजार पठाउँछन्’, उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर