संघ र प्रदेशको खिचातानीले जनकपुरमा सोलार प्लान्ट स्थापना हुन सकेन : विनोद चौधरी – Nepal Press

संघ र प्रदेशको खिचातानीले जनकपुरमा सोलार प्लान्ट स्थापना हुन सकेन : विनोद चौधरी

जनकपुरधाम । संघ र प्रदेशको खिचातानीका कारण जनकपुर छेउँछाउँमा सोलार प्लान्ट राख्ने सपना अधुरो रहेको उद्योगपति बिनोद चौधरीले बताएका छन् ।

उद्योगपति बिनोद चौधरीले संघ र प्रदेशको खिचातानीका कारण जनकपुर छेउँछाउँमा सोलार प्लान्ट राख्ने सपना अधुरो रहेको उनको भनाइ छ ।
जनकपुरमा बुधबारबाट शुरु भएको ‘जनकपुर साहित्य महोत्सव’मा प्रमुख वक्ताको रुपमा बोल्दै उनले भने, ‘दुई सय मेगावाटको सोलार प्लाण्ट स्थापना गर्ने योजना थियो । मुख्यमन्त्री लालबाबु राउतले पनि धेरै प्रयास गर्नुभयो । तर, जग्गा संघले उपलब्ध गराउने कि प्रदेशले भन्ने विवादले प्लाण्ट स्थापना हुन सकेन,’ उनले भने ।

उद्योगपति चौधरीले प्रदेश २ ठूलो सम्भावना बोकेको क्षेत्र भएको बताए । मुख्यमन्त्रीलाई उनले भने, ‘प्रदेश २ लाई प्रकृतिले जुन सम्भावना दिएको छ, त्यसलाई अगाडि बढाउनु होस् ।  यस प्रदेशमा उद्योगको बाढी ल्याउने वातावरण बनाउनु होस् । चिन्ता नगर्नुस् । यस्तो परिस्थितिको सृजना गर्नुस् कि कसैले रोक्न खोज्दा पनि रोख्न नसकोस् ।’

उनले भने, ‘संघ र प्रदेश सरकारबीच देखिएको विवादले सम्पूर्ण विकास निर्माण नै अवरुद्ध भएको भन्ने डर थियो । तर यहाँ आउँदा भौतिक पूर्वाधार निर्र्माणको अवस्था हेर्दा खुशी लाग्यो ।’

उनले राणाको पालामा सबभन्दा बढी उद्योग विराटनगरमा लगाउने काम गरेको भन्दै प्रदेश २ नेपाल उद्योग र व्यापारको उद्गम स्थल भएको बताए ।

‘वीरगञ्ज व्यापारी नगरी हो भने जनकपुरको त आफ्नै महिमा छ– उनले भने । धार्मिक मूल्यमान्यता बोकेको शहर जनकपुर भएकाले यस क्षेत्रको विकास गर्न समय लाग्ने उनको भनाइ छ ।

नेपालमा उद्यमी र पूँजीको कमी नभएको भन्दै उनले भने, ‘लगानीकर्तालाई सहयोग चाहियो । काम गर्ने वातावरण बनाइदिनु प¥यो । मात्र विजुली, सुरक्षा र जग्गा उपलब्ध गराउने जस्ता कार्य भयो भने लगानीकर्ताको कमी हुँदैन ।’

उनले आफू मधेसी कोटाबाटै दुईपटक सांसद बनेको भन्दै मधेशको मुद्दा सम्बोधन गर्न संसदमा पटक–पटक आवाज उठाएको समेत उनले बताए ।

उनले भने, ‘मधेशको मुद्दा सामाजिक हो राजनितिक होइन । यो मुद्दा सम्बोधन गर्नुपर्छ ।’ प्रदेश २ ले आफूलाई सबल र समृद्ध बनाउन सके, त्योभन्दा ठूलो काम केहि नहुने उनको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर