विप्लव र सरकारबीच सहमति हुनु स्वागतयोग्य : विष्णु रिजाल – Nepal Press

विप्लव र सरकारबीच सहमति हुनु स्वागतयोग्य : विष्णु रिजाल

काठमाडौं । सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच भएको सहमतिलाई प्रचण्ड-माधव पक्षीय नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले शान्तिपूर्ण राजनीतिमा आउने कुरा सकारात्मक भएको बताएका छन् ।

‘विप्लव नेतृत्वको नेकपाले चलाउँदै आएको हिंसात्मक राजनीति छाडेर शान्तिपूर्ण राजनीतिमा आउने गरी नेपाल सरकार र उक्त पार्टीबीच सहमति हुनु स्वागतयोग्य छ,’ ट्वीटरमा रिजालले लेखेका छन्, ‘समाजलाई भयमुक्त र राजनीतिलाई शान्तिपूर्ण तथा प्रतिस्पर्धात्मक बनाउन यस कदमले महत्वपूर्ण योगदान गर्ने विश्वास गर्न सकिन्छ ।’

यसबाट मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादबाहेक कम्युनिस्टहरूसँग विकल्प छैन भन्ने भनाइ पुष्टि भएको रिजालको टिप्पणी छ । ‘जननेता मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादबाहेक कम्युनिष्टहरूसँग विकल्प छैन भन्ने यस घटनाबाट पनि पुनर्पुष्टि भएको छ,’ उनको भनाइ छ, ‘कथित ‘पृथक राज्य’ को माग राख्ने सीके रावत र कथित ‘समग्र युद्ध’ को नारा लगाउने विप्लवलाई शान्तिपूर्ण दायरामा ल्याउन सक्नुलाई उल्लेखनीय मान्नुपर्छ।’

सरकार र विप्लव नेतृत्वको नेकपाबीच बिहीबार तीनबुँदे सहमति भएको छ । दुई दिन लामो वार्तापछि विप्लव समूहले आफ्नो सम्पूर्ण गतिविधि शान्तिपूर्ण रूपमा गर्ने तथा सरकारले विप्लव समूहमाथिको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेजीलगायतका विषयमा सहमति भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर