अर्को निजी कलेजलाई एमबीबीएसको सम्बन्धन दिइएकाे भन्दै १० पूर्वउपकुलपतिको आपत्ति – Nepal Press

अर्को निजी कलेजलाई एमबीबीएसको सम्बन्धन दिइएकाे भन्दै १० पूर्वउपकुलपतिको आपत्ति

काठमाडौं । काठमाडौं विश्वविद्यालयले नयाँ निजी कलेजलाई एमबीबीएस कार्यक्रमको सम्बन्धन दिने निर्णय गरेकोमा आपत्ति जनाउँदै १० पूर्वउपकुलपतिले विज्ञप्ति जारी गरेका छन् । यसबाट विश्वविद्यालयको सुशासन र स्वायत्तताको प्रश्न खडा भएको उनीहरुको दाबी छ ।

पूर्वउपकुलपति महेशकुमार उपाध्याय, तोरणबहादुर कार्की, केदारभक्त माथेमा, कैलाशनाथ प्याकुरेल, सुरेशराज शर्मा, खगेन्द्र भट्टराई, कमलकृष्ण जोशी, हीराबहादुर महर्जन, नविनजंग शाह र नरेशमान बज्राचार्यले बुधबार संयुक्त विज्ञप्ति जारी गरेका हुन् ।

ऐनअनुसार कुनै पनि विश्वविद्यालयले पाँचभन्दा बढी कलेजलाई एमबीबीएसको सम्बन्धन दिन नपाउने व्यवस्था गरिएको विज्ञप्तिमा स्मरण गराइएको छ । ‘परन्तु, उक्त सुझावको उपेक्षा गर्दै काठमाडौं विश्वविद्यालयले अरु थप कलेजलाई सम्बन्धन दिने निर्णय नितान्त गैरकानूनी एवं गैरजिम्मेवार कार्य गरेको छ’ विज्ञप्तिमा भनिएको छ ।

हालै प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको एउटा अस्पताललाई शिक्षण अस्पताल बनाउने आश्वासनका साथ चिकित्साशास्त्र शिक्षा कार्यक्रमको सम्बन्धन दिने विश्वास दिलाएको पनि विज्ञप्तिमा उनीहरुले उल्लेख गरेका छन् । ‘समय छँदै गल्ती सुधारी प्राज्ञिक मर्यादाको पालना गर्न’ उनीहरुले सम्बन्धित सबैलाई आग्रह गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर