सुवास नेम्वाङले भने- निर्वाचन आयोगले मान्यता दिएको नेकपाको बैठक बसेको छैन


काठमाडौं । नेकपा संसदीय दलका उपनेता तथा स्थायी कमिटी सदस्य सुवास नेम्वाङले नेकपाको कुनै बैठक नै नबसेको भन्दै आफू लगायत कतिपय नेताहरुमाथि कारबाही भनी आएको प्रचारबारे अनभिज्ञता प्रकट गरेका छन् ।
प्रचण्ड-माधव पक्षीय नेकपा केन्द्रीय कमिटी बैठकले नेम्वाङसहित महेश बस्नेत, कर्ण थापा, शान्ता चौधरी, सूर्य थापा, विशाल भट्टराईलगायतका ७ जना नेतालाई केन्द्रीय सदस्यबाट निलम्बनको घोषणा गरेको थियो । प्रचण्ड-माधव पक्षले नेम्वाङलाई दलको नेताबाट राजीनामा गर्न निर्देशन समेत दिएको थियो ।
सो घोषणाबारे आफू जानकार नभएको भन्दै नेम्वाङले निर्वाचन आयोगले मान्यता दिएको नेकपाको तर्फबाट यसबीचमा कुनै बैठक नै नबसेको बताए । संसदीय दलको आफू निर्वाचित उपनेता रहेको र दलको नेता केपी शर्मा ओलीले बैठक बोलाएको आफूलाई थाहा नभएको नेम्वाङले बताए ।
नेपाल प्रेससँग कुरा गर्दै नेम्वाङले भने, ‘निर्वाचन आयोगले नेकपाको मुख्य पदाधिकारीका रुपमा प्रथम अध्यक्ष केपी ओली र दोस्रो अध्यक्ष पुष्पकमल दाहाल तथा महासचिव विष्णु पौडेललाई पदाधिकारी मानेको छ । अध्यक्षको निर्देशनमा महासचिवले बोलाउने बैठक बाहेक अरु चिन्दैनौं भनेर आयोगले भनिसकेको अवस्थामा पार्टीको तर्फबाट कुनै बैठक नै बसेको छैन ।’
नेम्वाङले संसद सचिवालयलगायत सक्षम (लेजिमेट) निकायबाट आफूहरुलाई कुनै सोधपुछ नभएको भन्दै कथित कारबाहीका निर्णय कसरी कहाँबाट भए भन्ने आफूलाई जानकारी नभएकाले कुनै टिप्पणी गर्न लायक विषय नै नरहेको बताए ।