प्रचण्डविरुद्धको मोर्चामा बादल- विप्लव सम्बन्धका उतारचढाव – Nepal Press

प्रचण्डविरुद्धको मोर्चामा बादल- विप्लव सम्बन्धका उतारचढाव

काठमाडौं । माओवादी सशस्त्र युद्धका दुई कमाण्डर रामबहादुर थापा ‘बादल’ र नेत्रविक्रम चन्द ‘विप्लव’को एउटा निकै चर्चित तस्बिर छ ।

तस्बिरमा बादल थकित भएर बसिरहेका छन् भने विप्लव लट्ठी टेकेर हाँसिरहेका देखिन्छन् । पत्रकार जीवन हमालले कैद गरेको यो तस्बिरले उनीहरूबीच सम्बन्धको हार्दिकताको तह पनि झल्काउँछ ।

यद्यपि यो तस्बिर हालको नभई करिब आठ वर्ष अघिको हो । २०६९ को जनयुद्ध दिवस मनाउन बादल, विप्लव, सीपी गजुरेल र इन्द्रमोहन सिग्देल रोल्पाको थवाङ जाँदै गर्दा त्यहाँको भेडीखर्कको खोलामा उनीहरूले विश्राम लिइरहेका बेलाको तस्बिर कैद भएको थियो ।

राजनीतिमा ‘स्थायी शत्रु र मित्र’ हुँदैनन् भनिन्छ । विप्लव र बादलबीचको सम्बन्धमा पनि धेरै उतारचढाव आए । तस्बिरमा देखिए जस्तो हार्दिकता भने स्थायी रहेन ।
हुन त उतिबेलै विप्लवले ठट्टायुक्त शैलीमा बादलका लागि चुनौतीको संकेत गरेका थिए । विप्लवले भनेका थिए, ‘तपाईंजस्ता सिनियरलाई उकाली–ओरालीले समस्या गरायो । अब पार्टी युवालाई जिम्मा लगाउनुप¥यो, होइन र बादल दाइ ?’ जवाफमा बादलले मौनता मात्रै प्रकट गरेका थिए ।

त्यसयता पनि राजनीतिमा धेरै उथलपुथल आइसकेको छ । बादल–विप्लवको राजनीतिक सम्बन्धले पनि धेरै उकाली–ओराली पार गरिसकेको छ ।

बादलकै नेतृत्वमा प्रतिबन्ध र वार्ता

माथि नै भनियो, बादल–विप्लवको राजनीतिक सम्बन्धमा एकनाशको हार्दिकता छैन । बादल नै हुन्, जसले विप्लव नेतृत्वको पार्टीमाथि प्रतिबन्ध लगाएका थिए भने अहिले उनैसँग वार्ताको जिम्मा पाएका छन् ।

विप्लवसँग वार्ता गर्न सरकारले मंगलबार गृहमन्त्री बादलको नेतृत्वमा दुई सदस्यीय वार्ता टोली बनाएको छ । प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई टोलीको सदस्य छन् ।

विप्लवले पनि पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ को नेतृत्वमा दुई सदस्य रहेको वार्ता टोली बनाएको छ । वार्ता टोलीका अर्का सदस्यमा उदय चलाउने ‘दीपक’ रहेका छन् ।

पछिल्लो कालखण्डमा बादल–विप्लवबीचको राजनीतिक सम्बन्धमा नमीठोपना मात्रै बेसी छ । बादलले गृह मन्त्रालयको कमाण्ड सम्हालेकै बेला २८ फागुन २०७५ मा सरकारले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमाथि प्रतिबन्ध लगायो ।
सरकारले विप्लवलाई पक्राउ गर्न ‘वारेन्ट’ नै जारी गर्यो । त्यसको प्रत्युत्तरमा विप्लवले पनि प्रधानमन्त्री केपी शर्मा ओली र आफ्ना पूर्व सुप्रिमो पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध पक्राउ पुर्जी जारी गरे ।

प्रतिबन्धको यो दुई वर्षमा विप्लवलाई नै बढी क्षति भयो । खुला राजनीतिक क्रियाकलाप गर्न विप्लवलाई सकस भयो । उच्च तहका नेतादेखि सामान्य कार्यकर्ता गरी दुई हजारभन्दा बढीको गिरफ्तारीले उनलाई रक्षात्मक अवस्थामा पुर्यायो । बम बनाउने क्रममा आन्तरिक दुर्घटना र प्रहरी कारबाहीमा धेरै कार्यकर्ताले ज्यान गुमाए ।

यही मेसोमा अहिले सरकार र विप्लव वार्तामा जुटेका छन् । यसलाई धेरैले सकारात्मक रूपमा समेत लिएका छन् । तर, यसलाई राजनीतिक दाउपेचका रूपमा कतै प्रयोग गर्न खोजिएको त होइन भन्ने आशंका पनि छ ।

‘सरकार र विप्लव समूह वार्ता टोली गठन गर्दै संवाद राजनीतिक समस्याको निकास खोज्न अग्रसर हुनु सकारात्मक छ’, प्रचण्ड–माधव पक्षीय केन्द्रीय सदस्य विष्णु रिजालको भनाइ छ, ‘वार्तालाई दाउपेचका रूपमा नभई परिणाममुखी बनाउन सफलताको कामना गरौं ।’

सरकारले विप्लवसँग यसअघि पनि वार्ताको प्रयास गरेको थियो । नेकपा नेता सोमप्रसाद पाण्डेको नेतृत्वमा वार्ता टोली बनाइएको भए पनि त्यसले सफलता पाउन सकेन । अहिले देशको राजनीति तरल रहेका बेला पुनः दुवै पक्ष वार्ताका लागि तयार भएका छन् ।

पूर्व माओवादी विद्यार्थी नेता एवम् हाल प्रचण्ड–माधव पक्षीय के्न्द्रीय सदस्य रहेका रामदीप आचार्य दुवै पक्ष आफ्नो डुब्न लागेको साख बचाउन र लोकप्रियताको खोजीका लागि वार्तामा जुटेको विश्लेषण सुनाउँछन् ।

विप्लव तयार हुनुको कारणबारे उनको विश्लेषण छ– विप्लवले भनेको एकीकृत क्रान्ति अमूर्त, अपरिभाषित र गन्तव्यविहीन थियो । त्यसैले उहाँलाई कुनै न कुनै किसिमको ‘सेफ ल्यान्डिङ’को आवश्यकता पर्यो होला । उहाँलाई आफूले भनेको एकीकृत क्रान्तिको ढाँचा पूरा हुँदैन भन्ने लाग्यो होला । त्यसैले अहिले धेरै लाभ लिनभन्दा पनि शक्ति क्षय भएका बेला शक्ति बटुल्ने रणनीति हुनसक्छ ।’

अनि सरकार तयार हुनुको कारणबारे विश्लेषण गर्दै उनी भन्छन्– ‘सरकारले चालेको पछिल्लो कदमलाई सर्वोच्चले बदर गरिसकेपछि सरकार चौतर्फी घेराबन्दी र संकटमा परेको छ । यही बेला सहानुभूति बटुल्न यो प्रयत्न गरेको हो ।’

बादल–विप्लव सम्बन्धको विगत

कुनै समय एकै स्कूलिङबाट हुर्किएका यी दुई नेताबीच करिब १२ वर्ष उमेरको फरक छ । त्यत्तिकै अन्तर राजनीतिमा पनि छ ।

विप्लव र बादलले १६ वर्ष एउटै पार्टीको केन्द्रीय कमिटीमा बसेर काम गरे । बादल तत्कालीन नेकपा मशाल (मोटो मशाल) हुँदै २०४२ सालमा केन्द्रीय सदस्य बने भने विप्लव त्यसको १३ वर्षपछि २०५५ सालमा मात्रै माओवादीको केन्द्रीय समितिमा पुगेका थिए ।

विप्लवले विद्यार्थी मोर्चाबाट राजनीति शुरू गरेका थिए भने बादलले पार्टी आन्तरिक मोर्चाबाट । बादलले माओवादीले जनयुद्ध शुरूआत गर्नुअघि चलाएको रोल्पा–रुकुममा ‘सिज’ अभियानको नेतृत्व गरेका थिए ।

जसले माओवादी सशस्त्र युद्धको आधार तयार गर्न सहयोग पुर्याएको ठानिन्छ भने त्यही अभियानले बादल माओवादी जनयुद्धको सर्वाधिक लोकप्रिय फिगर बने । विप्लव भने त्यो बेला काठमाडौंमा थिए । उनी त्यो बेला विद्यार्थी संगठनको केन्द्रीय उपाध्यक्ष तथा पार्टी ललितपुर जिल्ला सेक्रेटरी थिए ।

दुवैलाई चिन्ने बादल र विप्लवबीचको सम्बन्ध पहिल्यैदेखि नै त्यति गाढा र घनिष्ट नभएको बताउँछन् । माओवादी शान्ति प्रक्रियामा आएपछि बनेको चर्चित धोबीघाट गठबन्धनपछि मात्रै उनीहरूबीच हिमचिम बढेको हो।

हाल लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री रहेका कुलप्रसाद केसी बादल र विप्लव दुवैसँग नजिकको सम्बन्धमा थिए । उनी दुवै नेताको फरक स्वभावको विश्लेषण राम्ररी गर्छन् ।

उनका अनुसार सबै कुरा आफैंमा केन्द्रीकरण गर्न खोज्ने र आफूलाई लागेको काममा दृढ भएर लागिपर्ने स्वभाव विप्लवको छ । उनका अनुसार बादलमा भने बहसमा राम्रोसँग सहभागी हुने, निर्णायक बेलामा बीचको भूमिका खेल्ने र अन्तिममा ‘बोल्ड डिसिजन’ लिने स्वभाव छ ।

जनुयद्धकालमा सँगै बसेर काम गर्न नपाएकाले उनीहरूबीच खासै मतभेद पनि थिएन । तर, शान्ति प्रक्रियामा आएपछि भने त्यो अदृश्य रूपमा देखापर्यो ।
२०६९ असार ३ गते प्रचण्ड नेतृत्वको माओवादीमा विभाजन आयो । सोही वर्ष भएको महाधिवेशनले मोहन वैद्य ‘किरण’लाई अध्यक्ष र बादललाई महासचिव बनायो । विप्लव सचिव भए ।

मूलतः विप्लवकै जोडबलका कारण किरण र बादल प्रचण्डबाट अलग हुने निर्णयमा पुगेका थिए । नेकपा–माओवादीले २०७० को दोस्रो संविधानसभा निर्वाचन बहिष्कार गर्यो । यसको मुख्य योजनाकार पनि विप्लव नै थिए ।

विप्लव चुनावलाई नै असफल बनाउन चाहन्थे भने बादल, देव गुरुङ, पम्फा भुसाललगायत नेता केवल प्रचण्डलाई हराउन मात्रै चाहन्थे । यहींबाटै विप्लव र बादलबीच अन्तर संघर्ष शुरू भइसकेको थियो । विप्लव तत्काल क्रान्ति अगाडि बढाउनुपर्ने बताउँथे भने बादल क्रान्ति ‘रोमान्स’मा नहुने तर्क गर्थे ।

किरणलाई पार्टी संरक्षक बनाएर बादललाई अध्यक्ष र आफू महासचिव बन्ने योजनाले सफलता नपाएका कारणबाट पनि विप्लव असन्तुष्ट थिए । त्यही असन्तुष्टिसँगै नेकपा–माओवादीलाई पनि २०७१ मंसिरमा फुटाए । किरण र बादललाई छाडेर उनले नेकपा गठन गरे र महासचिव बने ।

अर्कोतिर बादल भने किरणलाई छाडेर पुनः प्रचण्डसँग फर्किए । अहिले बादल प्रचण्ड छाडेर केपी ओलीतिर लागेकै बेला विप्लवले अचानक सरकारसँग वार्ता गर्न चाहनुले कतै प्रचण्डविरुद्धको मोर्चामा बादल र विप्लव फेरि नजिकिएका त होइनन् ? यो प्रश्न पनि उठेको छ ।

माओेवादी जनयुद्धलाई उत्कर्षमा पुर्याउन पूर्वी मोर्चाबाट बादल र आधार इलाकाबाट विप्लवले निर्णायक भूमिका खेलेका थिए । यी दुवै नेता अनुदारवादी मानिन्थे ।

आठ वर्षअघि प्रचण्डलाई कमजोर बनाउन एक ठाउँमा उभिएर पार्टी फुटाएका बादल र विप्लव पुनः फरक मोर्चामा सँगै भेटिंदैछन् । यी दुई पक्षबीचको वार्ता यस्तो बेला हुँदैछ, जतिबेला प्रचण्डले केपी ओलीलाई सत्ताच्युत गर्न सबै अस्त्र प्रयोग गरिरहेका छन् ।

के बादल र विप्लवले प्रचण्डलाई यसपटक पनि कमजोर बनाउन सहकार्य गर्लान् ? यो अनुत्तरित प्रश्न हो ।


सरकारले विप्लवविरुद्ध जारी गरेको प्रक्राउ पुर्जी ।


विप्लवले प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध जारी गरेको वारेन्ट ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर