मित्रसेनको अभियान जोगाउन ५ करोड राशिको अक्षय कोष घोषणा – Nepal Press

मित्रसेनको अभियान जोगाउन ५ करोड राशिको अक्षय कोष घोषणा

काठमाडौं । ज्येष्ठ नागरिक ग्रामका परिकल्पनाकार तथा सामाजिक अभियन्ता मित्रसेन दाहालको स्मृतिमा ५ करोड राशिको अक्षय कोष घोषणा भएको छ ।

सामाजिक अभियानमा सक्रिय रहँदारहँदै हृदयघातबाट मृत्यु भएपछि स्वर्गीय दाहालको १२औं पुण्यतिथिमा अक्षय कोषकाे घोषणा गरिएको हो । दाहालको गत फागुन ७ गते ५८ वर्षको उमेरमा निधन भएको थियो ।

मित्रसेन दाहालको बहुआयामिक व्यक्तित्वलाई चिरस्थायी बनाइराख्न र मैत्री सेवा आश्रमसहित अन्य विविध सामाजिक कार्यलाई सहयोग पुर्याउन कोषको रकमबाट आएको आम्दानी खर्चिने कोष संचालक समितिले जनाएको छ ।

दर्जनौं सामाजिक संस्थामा आवद्धता, हजारौं विद्यार्थीलाई छात्रवृत्ति सहयोग गरेका मित्रसेन दाहालले मिर्गाैला प्रत्यारोपण पछि मैत्री सेवा आश्रम नामक ज्येष्ठ नागरिक ग्रामको सुरुवात गरेका थिए ।

मिर्गाैला प्रत्यारोपणपछि पाएको जीवनलाई बोनसको जीवन बताउने दाहालले करिब एक दशकमै काठमाडौंकाे लप्सीफेदीमा ३३ वटा घरसहितको ज्येष्ठ नागरिक ग्राम स्थापित गरेका थिए ।

थप सय रोपनी जमिनमा अझ धेरै सुविधासम्पन्न ग्राम निर्माणको योजना भने दाहालको निधनसँगै अलपत्र परेको छ । अक्षय कोष संचालक समितिले कोषको नाम ‘मित्रसेन दाहाल ज्येष्ठ नागरिक सेवा’ नामाङ्कन गरेको छ ।

कोषमा प्राथमिक चरणमा परिवारका सदस्यसहित शुभचिन्तकहरुले स्थापनाकै दिन करिब सवा ५५ लाखको योगदान दिएका छन् ।

भाइ तथा जेपी प्रतिष्ठानका संचालक हरि दाहालबाट ११ लाख ११ हजार १११ तथा मित्रसेन दाहालकी धर्मपत्नी शकुन्तला दाहालबाट ५ लाख ५५ हजार ५५५ रुपैयाँ योगदान गरेका छन् भने अन्य सहयोगीहरुको योगदानबाट मंगलबार नै कोषमा ५५ लाख २१ हजार ८२१ रुपैयाँ जम्मा भएको छ ।

दाहालको मैत्री सेवा आश्रम नामक ज्येष्ठ नागरिक ग्रामको सोच नेपालका लागि नविन भएको भन्दै नेपाल सरकारले आफ्नो नीति तथा कार्यक्रममा समेत समेटेको थियो ।

२०६९ सालमा नेपाल सरकारको नीति तथा कार्यक्रममा नै समेटेर पाँच विकास क्षेत्रमा ज्येष्ठ नागरिक ग्राम निर्माण गर्ने घोषणा गर्दा तात्कालीन मध्यमाञ्चल विकास क्षेत्रका लागि दाहालले ६६ सालबाट नै सुरुवात गरेको काठमाडौंको लप्सीफेदीमा रहेको मैत्री सेवा आश्रम छनाेट भएको थियो ।

सरकारको घोषणा अनुसार केही सहयोग गरे पनि करिब अर्ब रुपैयाँ बराबरको परियोजना दाहाल आफैंले विभिन्न क्षेत्रको सहयोगमा निर्माण गरेका थिए ।

काठमाडौंको लप्सीफेदीमा दाहालले निर्माण गरेको मैत्री सेवा आश्रम सोसल वर्क विषयका विद्यार्थी, समाजसेवाको अनुसन्धान तथा अध्ययनमा रुचि राख्ने तथा समाजसेवामा सहभागी हुनेहरुका लागि गन्तव्य बनेको छ ।

मैत्री सेवा आश्रममा आश्रित ज्येष्ठ नागरिकहरु दाहालको अनुपस्थितिमा अभिभावकविहीन नबनुन् भन्ने उद्देश्यबाट कोषको स्थापना भएको हो ।

जेपी प्रतिष्ठानका संस्थापक अध्यक्ष स्वर्गीय दाहालले नेपाली कांग्रेस ओखलढुंगाको सचिव, नेपाली कांग्रेस महासमिति सदस्य, हिमाल सिमेन्टको महाप्रबन्धक, एनपीटीसी लिमिटेडकाे अध्यक्षसहित दर्जनौं सरकारी तथा गैरसरकारी संघसंंस्थामा जिम्मेवारी वहन गरेका थिए ।

चिन्तन र अनुभूति, कथा र व्यथाको यात्रा, मिर्गाैला रोग र समाधान जस्ता १३ कृतिका लेखक दाहालकाे साहित्य र लेखकीय क्षेत्रमा समेत योगदान छ ।

लेखकीय स्वतन्त्रताका पक्षमा समेत वकालत गर्ने दाहालकाे नेपाली लेखक संघमा समेत विशेष योगदान रहेको छ ।

दाहालले ओखलढुंगाका करिब तीन हजारसहित देशभरका करिब पाँच हजार विद्यार्थीलाई जेपी प्रतिष्ठानमार्फत छात्रवृत्ति प्रदान गरी अध्ययनमा सहयोग गरेका थिए ।

नेपालमा विज्ञापन व्यवसाय र विकास नामक पुस्तकका समेत लेखक रहेका दाहाल विज्ञापन संघका संस्थापक अध्यक्ष हुन् ।

नेपालमा विज्ञापन एजेन्सीमार्फत व्यवसाय प्रवर्धन गर्ने सुरुवातकर्ता दाहाल निजीस्तरको सगरमाथा टेलिभिजनका संस्थापकमध्येका एक हुन् ।

पिता जयप्रसाद दाहालका पुत्ररत्नकाे रुपमा  २०१९ साल मंसिर ४ गते ओखलढुंगा जिल्लाको वरुणेश्वर गाविस–४ लामीडाँडा (हाल: मोलुङ गाउँपालिका–२) मा आमा डम्बरकुमारीको कोखबाट मित्रसेनकाे जन्म भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *