नेपालीलाई मलेसियाको सामाजिक सुरक्षा योजनामा समेट्न समझदारीपत्रमा हस्ताक्षर – Nepal Press

नेपालीलाई मलेसियाको सामाजिक सुरक्षा योजनामा समेट्न समझदारीपत्रमा हस्ताक्षर

अहिलेसम्म करीव ३ लाख नेपाली श्रमिक साेक्साेमा आवद्ध

काठमाडाै‌ । वैदेशिक रोजगार बोर्ड तथा मलेसियाको सामाजिक सुरक्षा संस्था (साेक्साे) बीच नेपाली कामदारको लागि सामाजिक सुरक्षा कार्यक्रम र गतिविधिको प्रबर्धन सम्बन्धी सहकार्यको समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

नेपाली राजदुतावास क्वालालम्पुरको सकृयतामा समझदारीपत्रको मस्यौदा उपर विभिन्न चरणमा छलफल भएपश्चात तयार भएको अन्तिम मस्यौदालाई मन्त्रिपरिषद्‍को माघ २६ गते बसेको वैठकले स्वीकृति दिएकाे थियो । मन्त्रिपरिषद्‍को निर्णयानुसार समझदारीपत्रमा हस्ताक्षर गर्नक लागि वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशकलाई अख्तियारी प्रदान भएको थियाे ।

फागुन ४ गते बोर्डका कार्यकारी निर्देशक राजन  श्रेष्ठले हस्ताक्षर गरेर पठाएपछि  फागुन १४ गते  (साेक्साे)का प्रमुख कार्यकारी अधिकृत दातो श्री डा. मोहम्मद अज्मान विन दातो अजिज मोहम्मदले हस्ताक्षर गरेका हुन् । विश्वव्यापी कोभिड-१९ को संक्रमणका कारण पत्रको आदानप्रदानमार्फत काठमाण्डौ र क्वालालम्पुर दुवै स्थानमा गरी समझदारीपत्रमा हस्ताक्षर भएकाे मलेशियास्थित नेपाली राजदूतावासले जनाएकाे छ ।

समझदारी भएको सामाजिक सुरक्षा संस्था मलेसियाको सामाजिक सुरक्षा ऐन, १९६९ अन्तर्गत गठन भएको संस्था हो । सन् २०१९ को जनवरी १ देखि रोजगारदाताले विदेशी श्रमिक भर्ना गर्दा यस सामाजिक सुरक्षा संस्थामा दर्ता गराउनुपर्ने प्रावधान रहिआएकोमा (साेक्साे) ले दिएकाे जानकारी अनुसार अहिलेसम्म करीव ३ लाख नेपाली श्रमिक यसमा आवद्ध भइसकेका छन् ।

यस संस्थामा आवद्ध हुनका लागि रोजगारदाताले श्रमिकका लागि उसले पाउने मासिक तलबको १ दशमलव २५ प्रतिशतले हुन आउने रकम मासिक रुपमा बुझाउनु पर्नेहुन्छ । विगतमा विदेशी श्रमिक क्षतिपूर्ति योजनामा आवद्ध भएका श्रमिकको हकमा ३१ डिसेम्बर २०१९ सम्मका लागि त्यसै याेजनाको म्याद समाप्त भएको अर्को दिन (साेक्साे) मा दर्ता गराउनुपर्ने नियम रहेको थियो । तर १ जनवरी २०२० पछि भने सबै रोजगारदाताले अनिवार्य रुपमा (साेक्साे)मा आवद्ध गराउनुपर्ने व्यवस्था छ ।

यसै अनुसार हालसम्म ४ लाख भन्दा बढी रोजगारदाता र ७० लाख भन्दा बढी स्वदेशी तथा विदेशी श्रमिक (साेक्साे) मा आवद्ध भइसकेका छन् । मलेसियाभर यस संस्थाका ५४ कार्यालय रहेका छन् ।

(साेक्साे) मा आवद्ध भएका विदेशी श्रमिकले विदेशी श्रमिक क्षतिपूर्ति योजनामा सामेल हुन पाउँछन् । यस योजना अन्तर्गत श्रमिकलाई कार्यस्थलमा हुने दुर्घटना वा कार्यस्थलका कारण कुनै रोग लाग्न गएमा सो वापत तोकिएको क्षतिपूर्ति प्राप्त हुनेछ । यस योजना बमोजिम प्राप्त हुने लाभलाई स्वास्थ्य लाभ, अस्थायी असक्षमता लाभ, स्थायी असक्षमता लाभ, आश्रित लाभ, निरन्तर उपस्थिति भत्ता, अन्त्येष्टि खर्च र पुनर्स्थापना सुविधा गरी वर्गीकरण गरिएको छ ।

उल्लिखित लाभ कतिपय श्रमिक स्वयम्, कतिपय श्रमिकका परिवार तथा श्रमिकको रोजगारदातालाई उपलब्ध हुने प्रकृतिका छन् । श्रमिकका परिवारजनले प्राप्त गर्ने लाभका लागि (साेक्साे) ले परिवारको लगत अद्यावधिक गर्ने कार्य पनि गरिरहेको छ ।

कार्यस्थलमा हुने दुर्घटनाको लागि रोजगारदाताले पंच कार्ड वा उपस्थिति रेकर्ड, मेडिकल प्रमाणपत्र र परिचय पत्रको प्रतिलिपि सहित दुर्घटना रिपोर्ट फाराम भरेर (साेक्साे) कार्यालयमा पेश गर्नुपर्ने हुन्छ। यदि दुर्घटना काममा आउँदा वा कामबाट फर्कंदा भएको छ भने यी कागजातका अतिरिक्त पुलिस रिपोर्ट र आवतजावत हुँदा प्रयोग भएको बाटोको नक्शा पनि सामेल गरेको हुनुपर्दछ।

कार्यस्थलको दुर्घटना वा कार्यस्थल जाँदा आउँदाको दुर्घटनामा वा कार्यस्थलजन्य रोगवाट पीडित भएका श्रमिकका लागि (साेक्साे)संग आवद्ध प्यानल क्लिनिक, सरकारी क्लिनिक र सरकारी अस्पतालमा उपचार गराउँदा निःशुल्क उपचारको सुविधा पाइन्छ। पूर्ण रुपमा अक्षमता भएका वा भविष्यमा शतप्रतिशत आय क्षमता गुमाएका वा निरन्तर हेरचाह आवश्यक पर्ने श्रमिक तोकिएको मेडिकल बोर्डको सिफारिशका आधारमा निरन्तर उपस्थिति भत्ताका हकदार हुने व्यवस्था गरिएको छ ।

यसैगरी मृत्यु भएका श्रमिकको रोजगारदातालाई मलेसियामै वा श्रमिकको मुलुकमा दाहसंस्कार गर्दा तोकिए बमोजिमको अन्त्येष्टि खर्च उपलब्ध गराइन्छ । अस्थायी असक्षमता लाभ, स्थायी असक्षमता लाभ र आश्रित लाभ भने श्रमिक स्वयम् वा निजको परिवारजनले पाउने सुविधा हुन् ।

कुनै पनि श्रमिक दुर्घटनामा परी स्थायी रुपमा आय आर्जन गर्न असक्षम भएमा निजले आफ्नो दैनिक तलबको ९० प्रतिशतका दरले स्थायी असक्षमता लाभ प्राप्त गर्न योग्य हुन्छ । अस्थायी रुपमा काम गर्न असक्षम भएकाले भने आय आर्जन तोकिएका शर्तका अधीनमा रही तलबको ८० प्रतिशतसम्म लाभ प्राप्त गर्न सक्दछन् ।

आश्रित लाभ अन्तर्गत कुनै श्रमिकको तोकिए बमोजिम कामको सन्दर्भमा मृत्यु भएमा निजको विधवा वा विधुरले आजीवन निजको दैनिक तलबको ६० प्रतिशतका दरले हुनआउने रकम प्राप्त गर्न सक्ने व्यवस्था छ । मृतक श्रमिकका सन्तानले २१ वर्षको उमेरसम्म आमा वा बाबु जीवित भएमा दैनिक तलबको ४० प्रतिशतका दरले वा आमा वा बाबुको पनि मृत्यु भएमा दैनिक तलबको ६० प्रतिशतका दरले हुन आउने रकम नै प्राप्त गर्न सक्ने व्यवस्था छ ।

यदि श्रीमान वा श्रीमती वा छोराछोरी नभएमा बाबुआमा वा दाजुभाई वा हजुरबा हजुरआमाले दैनिक तलबदरको ३० देखि ४० प्रतिशतका दरले हुन आउने रकम पनि प्राप्त गर्न सक्ने व्यवस्था रहेको छ ।

यस समझदारीपत्र पश्चात मलेसियामा कार्यरत नेपाली श्रमिकको सामाजिक सुरक्षालाई प्रभावकारी तुल्याउनका लागि सामाजिक सुरक्षा वापतका लाभको प्रवाह, विचारको आदान प्रदान तथा श्रमिक तथा सरोकारवालाको सचेतीकरणका मुद्दामा दुवै देशवीच सहकार्यको अभिवृद्धि हुने अपेक्षा गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर