बलात्कारविरुद्ध ६ दिनदेखि अनसन, बलात्कारीलाई फाँसी दिनुपर्ने माग – Nepal Press

बलात्कारविरुद्ध ६ दिनदेखि अनसन, बलात्कारीलाई फाँसी दिनुपर्ने माग

काठमाडौं । हरेक दिन कुनै न कुनै आन्दोलनको साक्षी बसिरहेको हुन्छ माइतीघर मण्डला । तर, सोमबार दिउँसो एक बजेतिर सुनसान माइतीघरमा आन्दोलनको नयाँ रुप देखियो ।

सेतो पहिरनमा एक युवती मौन भएर आन्दोलन स्थलमा बसिरहेकी थिइन् । उनका छेउमा थिए, दुई युवती । उनीहरूको पछाडि भुण्ड्याइएको ब्यानरमा लेखिएको थियो– ‘सम्पूर्ण महिलाको अस्तित्व रक्षाका लागि अनसन ।’

बलात्कारीलाई फासी वा कडा भन्दा कडा कारबाहीको माग राख्दै अभियन्ता चन्द्रकला पौडेल ६ दिनदेखि अनसन बसिरहेकी थिइन् । ‘बिहीबारदेखि बिहान १० बजेदेखि साँझ ५ बजेसम्म हामी यहाँ आएर बस्छौं । उहाँ भने घरमा गएर पनि अनसन जारी राख्नुहुन्छ,’ छेउमा उभिएकी अभियन्त सम्झना हुमागाईंले भनिन् ।

अनसन एक हप्तासम्म बस्ने उनीहरूको योजना छ ।

चन्द्रकला, सम्झनासँगै स्वीकृति हुमागाईं र अनुजा कार्की यसअघिका बलात्कारविरुद्धका अभियानमा विभिन्न तवरबाट सहभागी थिए । तर, दिन प्रतिदिन बलात्कार बढिरहँदा बलात्कारीलाई सजायँका निम्ति कानुन नै कडा नभएको उनीहरूलाई लाग्यो ।

‘एउटा कार्यक्रममा हामी भेटेका थियौं । त्यसपछि हामीले बलात्कारविरुद्धको अभियान फरक ढंगले चलाऊँ भन्ने लाग्यो । अनि अनसनको योजना बनायौं,’ अभियन्ता अनुजा भन्छिन् ।

अनसन बसिरहेकी चन्द्रकला भने कसैसँग बोल्दिनन् । यद्यपि, उनको आशय छ–महिला घरबाट निस्कँदा कहिलेसम्म असुरक्षित हुने ?

आन्दोलनमा ऐक्यवद्धताका लागि उनीहरूले हस्ताक्षर अभियान पनि चलाएका छन् । ‘धेरै मान्छे यसरी हेर्न आउनुहुन्छ । हाम्रो अभियान बुझेर हस्ताक्षर गर्नुहुन्छ,’ हस्ताक्षर गरिएको ब्यानर देखाउँदै अनुजा भन्छिन् ।

यो अभियान कुनै चर्चाको लागि नभई महिला अधिकारका निम्ति गरेको सम्झना बताउँछिन् । ‘हामीले चर्चाको लागि गरेका होइनौं । हाम्रो आन्दोलनले महिलाहरू सुुरक्षित हुन योगदान गरोस् । यहीं चाहना छ,’ उनी भन्छिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *