मेकइन नेपालको बहसमा परिसंघ : महत्वकांक्षी योजनासहित अर्थमन्त्री भेट – Nepal Press

मेकइन नेपालको बहसमा परिसंघ : महत्वकांक्षी योजनासहित अर्थमन्त्री भेट

काठमाडौं । नेपाल उद्योग परिसंघले राष्ट्रलाई आत्मनिर्भर बनाउने लक्ष्यका साथ ‘मेक इन नेपाल–स्वदेशी’ अभियानलाई अगाडि बढाएको छ ।

मंगलबार परिसंघका पदाधिकारीले अर्थ मन्त्री विष्णुप्रसाद पौडेललाई भेटी ‘मेक इन नेपाल–स्वदेशी’ अभियानका सम्बन्धमा छलफल गरेको छ ।

छलफलमा परिसंघका अध्यक्ष शतिसकुमार मोरले यो अभियानले स्वदेशी उत्पादन वृद्धि गर्न, व्यवसायको प्रतिस्पर्धात्मक क्षमता बढाउन र नेपाली वस्तु र सेवाको माग बढाउन मद्धत गर्ने बताए ।

यस अभियानलाई सघाउन अर्थमन्त्रालयले सहयोग गर्नु पर्ने अध्यक्ष मोरले बताए । मुलुकमा औद्योगिक विस्तार, रोजगारीको सृजना एवं उत्पादन वृद्धिबाट मात्र राष्ट्रिय अर्थतन्त्र माथि उठाउन सकिने भन्दै अध्यक्ष मोरले यस अभियानमा सरकारले स्वमित्व बोध गर्नु पर्ने धारणा व्यक्त गरे ।

स्वदेशी उद्योगको स्थापना र देशलाई आत्मनिर्भर बनाउन सरकारले प्रभावकारी भूमिका निर्वाह गर्नु पर्ने उनको भनाइ थियो ।

छलफलमा वरिष्ठ उपाध्यक्ष विष्णुकुमार अग्रवालले परिसंघले तयार गरेको स्वदेशी लोगोलाई नेपाल सरकारले तुरुन्त कार्यान्वयनमा ल्याउनु पर्ने बताए ।

यो लोगो परिसंघ, नीजिक्षेत्र, सरकार विशेषको नभइ देशकै लोगो हुनु पर्ने माग समेत गरे । यसको लागि संयुक्त प्रयास र सहभागिता हुनु पर्ने उनको भनाइ थियो ।

मन्त्रीसँगको छलफलमा परिसंघका उपाध्यक्ष अनुज अग्रवाले परिसंघले तयार पारेको अवधारणा प्रस्तुत गरेका थिए । उनले परिसंघले अगाडि सारेको अवधारणा केहि महत्वकांक्षी देखिए पनि मुख्यगरी ४ वटा आर्थिक खम्बलाई बढी प्राथमिकतामा राखेको जानकारी दिए ।

विशेषगरी यस अभियानले हरेक वर्ष एक हजार उद्योग संचालनमा ल्याइ वार्षिक एक लाख पचास हजार औद्योगिक रोजगारी सिर्जना गर्ने लक्ष्य लिएको छ ।

परिसंघको लक्ष्य अनुसार पाँच वर्षमा वार्षिक निर्यात ४.३ अर्ब डलर पु¥याउने र कुल गार्हस्थ उत्पादनमा सन् २०२५ सम्ममा २२ प्रतिशत र २०३० सम्ममा २६ प्रतिशत योगदान पुर्‍याउने बताए ।

छलफलमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले परिसंघले अगाडि सारेको अवधारणा राम्रो रहेको बताउँदै यसलाई व्यवहारिक बनाउनको लागि अन्तरसंवादलाई निरन्तरता दिनु पर्ने बताए ।

यस अभियानमा नीजि क्षेत्र, सरकारको प्रशासनिक संयन्त्र र राजनीतिक क्षेत्रसँग पनि अन्तर सम्बाद गरी सम्बन्धलाई विश्वासिलो र परिपूरक बनाउनु पर्ने पौडेलले बताए ।

आगामी बजेटमा यसलाई मूर्तरुप प्रदान गर्नको लागि सरकारको तर्फबाट आवश्य सहयोग उपलब्ध गराउने समेत बताए । अर्थमन्त्री पौडेलले यो अभियानमा प्रधानमन्त्री, मन्त्रीहरु, सचिवहरु र नीजि क्षेत्रका अन्य संघसंस्थाहरुलाई पनि सँगै लिएर अगाडि बढ्नु पर्ने विचार व्यक्त गरेका थिए ।

छलफलमा परिसंघको तर्फवाट निवर्तमान अध्यक्ष हरिभक्त शर्मा, उपाध्यक्षहरु क्रमशः राजेशकुमार अग्रवाल र सुलभ अग्रवाल लगायतको उपस्थिति थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर