जनता भोकै भएकामा राउटे मुखिया दुखी, समस्या समाधान गर्ने मुख्यमन्त्रीको आश्वासन – Nepal Press

जनता भोकै भएकामा राउटे मुखिया दुखी, समस्या समाधान गर्ने मुख्यमन्त्रीको आश्वासन

सुर्खेत । गएको असोजमा नेपालकै लोपोन्मुख राउटे समुदायको ४७ घरमा १५६ जना बस्थे । अर्थात् उनीहरूको जनसंख्या १५६ थियो । पाँच महिनापछि अहिले त्यो संख्या घटेर १४६ मा झरेको छ । यसो हुनुको एक मात्र कारण राउटे समुदाय मदिरा सेवनमा फस्नु र गुणस्तरीय खानपानको कमी हुनु नै हो ।

नेपाल सरकारले पनि राउटेलाई लोपोन्मुख सूचीमा राखेर मासिक तीन हजार भत्ता दिंदै आएको छ । पछिल्लो समयमा महँगी बढेको र तीन हजारले खान नपुग्ने भन्दै राउटेहरूले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसँग गुनासो गरेपछि त्यसमा थप दुई हजार गरी मासिक पाँच हजार भत्ता पु¥याउने निर्णय गरिसकेका छन् । तर, सोमबार एकाएक राउटे समुदायका तीन जना मुखियाहरू मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आए । उनीहरू आफूहरू भोकै भएको भन्दै चामल लिन आएको बताइरहेका थिए ।

‘हाम्रा जनता भोकै छन् । चार महिनादेखि हामीले भत्ता पाएका छैनौं । जनतालाई बचाउन हामी चामल माग्न आएका हौं’ राउटेका मुखिया दिलबहादुर शाहीले भने, ‘मुख्यमन्त्रीले भनेको भत्ता पनि हामीले पाएका छैनौं । त्यो भत्ता नआएका कारण हाम्रो जनता भोकै बसिरहेको छ । अरूभन्दा पनि हामीलाई खाना चाहियो । हाम्रो पेट भोकै छ ।’

तपाइँहरू घरमा बस्नुहुन्छ कि हुँदैन भन्ने प्रश्नमा राउटे मुखियाले सबैभन्दा ठूलो कुरा पेटको भएको बताए । ‘सबैभन्दा ठूलो कुरा पेटको हो । हामी एकै ठाउँमा बस्दैनौं । हामीलाई खाना भए हुन्छ । अरू केही चाहिंदैन ।’ उनले थपे, ‘सरकारले पाल दियो भने हामी बस्छौं ।’

यता, मुख्यमन्त्री शाही भने राउटेको व्यवस्थापनका लागि एक टिम नै बनाउने बताउँछन् । ‘जनसंख्या घटिरहेको छ । उपचार गर्ने, उनीहरूको रेखदेख गर्ने र राउटे समुदायमा चेतना बढाउने खालको एक डाक्टरसहितको टोली व्यवस्थापन गर्छौं । आजका लागि हामी चामल दिनसक्छौं तर भविष्यमा राउटेलाई पर्ने समस्या समाधान गर्नका लागि स्थायी खालको संरचना निर्माण गर्छौं ।’

मुख्यमन्त्री शाहीले राउटेलाई भने, ‘तपाइँहरूलाई पाल पनि दिन्छौं, चामल पनि दिन्छौं । भत्ता दिने निर्णय भइसकेको छ । कानूनी प्रक्रिया मिलाउन खोज्दा ढिलाइ भएको हो । तपाइँहरूको सुरक्षाका लागि प्रहरी पनि खटाउँछौं ।’ उनले यसो भनिरहँदा राउटेहरू भने ताली बजाउनमा व्यस्त देखिए ।

मुख्यमन्त्री शाहीले ‘नाना, खाना र छाना’ कार्यक्रमबाट राउटेका समस्या समाधान गर्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *