आफ्नो बोली आफैंलाई गलपासो – Nepal Press
भाषणमा बारम्बार चिप्लिंदै नेता

आफ्नो बोली आफैंलाई गलपासो

काठमाडौं । भनाइ नै छ- मुखबाट निस्किएको बोली र बन्दूकबाट निस्किएको गोली एकै हुन् । यो भनाइ राजनीतिज्ञको हकमा अझै बढी सान्दर्भिक हुन्छ ।

सार्वजनिक कार्यक्रममा होस् वा अन्तर्वार्तामा राजनीतिज्ञले बोलेका कुरालाई ठूलो जमातले कान ठाडा पारेर सुनिरहेका हुन्छन् । र, कथंकदाचित उनीहरू बोलीमा कतै चिप्लिए भने त्यसले नसोचेको परिणाम उत्पन्न गर्न सक्छ । यस्तो बोली अन्ततः गोली बनेर आफैंतिर फर्किन्छ ।

पछिल्लो समय सामाजिक सञ्जालको फैलावटका कारण पनि नेताहरूले बोलीमा बढ्तै विचार पुर्‍याउनुपर्ने भएको छ । भाषणमा कहीं कतै चुक भए केही घण्टा होइन, केही मिनेटमै फेसबुकदेखि टिकटकसम्म भाइरल भइहाल्छ । त्यसपछि शुरू हुन्छ गालीको वर्षा । अनि त्यसले एउटा काण्डको रूप लिन्छ । कहाँ पुगेर त्यो टुंगिन्छ भन्न सकिन्न ।

आफ्नो बोलीका कारण कुनै न कुनै विवादमा नतानिएका नेताहरू शायदै कोही होलान् । विवाद कति सानो वा ठूलो भन्ने मात्रै हो । कसैले सामान्य क्षमायाचना गरेर विवादको डढेलो निभाएका छन् भने कसैले आफ्नो पदबाटै हात धुनु परेको छ । आउनुस्, केही उल्लेख्य प्रकरणहरू सम्झौं ।

आपत्तिजनक अभिव्यक्तिपछि पद गुम्यो

घटना पुरानो हो । २०६८ सालमा डा. बाबुराम भट्टराई नेतृत्वको सरकारमा रक्षामन्त्री बनेका थिए शरदसिंह भण्डारी । त्यतिबेला मधेशी जनअधिकार फोरम लोकतान्त्रिकमा रहेका शरदसिंह मन्त्रीको कुर्सीमा लामो समय टिक्न सकेनन् ।

सार्वजनिक कार्यक्रममा आपत्तिजनक अभिव्यक्ति दिएपछि भण्डारी पदबाट राजीनामा दिन बाध्य भएका थिए । उनले २०६८ साल असोज ९ गते रिपोर्टस् क्लबमा आयोजित कार्यक्रममा मधेशका जिल्ला नेपालबाट अलग हुनसक्ने चेतावनी दिएका थिए ।

भण्डारीले भनेका थिए, ‘मधेशका २२ जिल्लाले नेपालबाट अलग हुने निर्णय गरे भने कुन ऐन–कानूनले देश बचाउँछ ?’

भण्डारीको राष्ट्रिय अखण्डताविरोधी अभिव्यक्तिले तीव्र विवाद सिर्जना गर्‍यो । उनले एक प्रेस विज्ञप्तिमार्फत क्षमायाचना गर्दै आफू राष्ट्रिय अखण्डताप्रति प्रतिबद्ध भएको बताए । तर पनि विवाद थामिएन । फोरम लोकतान्त्रिकले पनि उनलाई जोगाउन निकै कोशिश गर्‍यो । तर, पनि जनदबाब अत्यन्त ठूलो भएपछि भण्डारीले राजीनामा नदिई सुखै पाएनन् ।

सार्वजनिक कार्यक्रममा देउवाको क्रोध

पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा छिट्टै आक्रोशमा आउँछन् । अन्तर्वार्तादेखि सार्वजनिक कार्यक्रमसम्ममा उनको आक्रोश छताछुल्ल पोखिने गर्छ ।

चार वर्षअघि बीबीसी नेपाली सेवाको ‘साझा सवाल’ कार्यक्रममा देउवाको प्रस्तुतिले निकै विवाद निम्त्याएको थियो । उनी कार्यक्रम अवधिभर प्रश्नैपिच्छे क्रोधित बनेका थिए । एक सहभागीले सोधेको एउटा प्रश्नमा उनले झोक्किंदै जवाफ दिए, ‘तपाईं बढ्ता बोल्नुहुन्छ । कहाँबाट अक्सफोर्ड विद्यालय ल्याउने ? तपाईंले चाहँदैमा हुने कुरा होइन नि !’

सर्वसाधारणले गरेको प्रश्नमा चित्त नबुझेपछि उनले थप भने, ‘यहाँ निहुँ खोज्ने काम भइरहेको छ ।’ आक्रोशित मूडमा देखिएका देउवालाई प्रस्तोताले देशमा के भइरहेछ बताइदिनुस् न भनेर प्रश्न सोध्दा उनले ‘भन्दिनँ जबर्जस्ती गर्न पाइन्छ !’ भन्दै पन्छाए ।

देउवाको यो प्रस्तुतिलाई लिएर सामाजिक सञ्जालमा निकै टीकाटिप्पणी भए । त्यतिबेला उनको बौद्धिकतामाथि नै प्रश्न उठेको थियो ।

तामाङले रुँदै राजीनामा दिए

जिब्रो चिप्लिएका कारण पद गुमाउनेहरूको कुरा गर्दा सबैले सम्झिने नाम हो, शेरबहादुर तामाङ । दुई वर्ष अगाडि उनको एउटा अभिव्यक्तिलाई लिएर प्रश्न उठेपछि तामाङले कानून मन्त्रीबाट नैतिकताका आधारमा राजीनामा दिएका थिए ।

प्राक्टिस इन्टरनेशनल एकेडेमीमा एसईई पास गरेका विद्यार्थीलाई सम्बोधन गर्ने क्रममा मन्त्री तामाङको मुखबाट निस्केको अभिव्यक्तिले सामाजिक सञ्जालमा आगो बलेको थियो । चौतर्फी आलोचनाबीच तामाङले २०७५ साउन ६ गते विज्ञप्ति जारी गर्दै माफी मागे । त्यति गर्दा पनि विवाद साम्य नभएपछि साउन ७ गते उनले पदबाट राजीनामा दिए ।

उनको विवादित अभिव्यक्ति यस्तो थियो– ‘आज म कथा खोल्छु । बङ्गलादेशमा केही चेलीहरू, हाम्रा छोरीहरू डाक्टर पढ्न जानुहुन्छ भने डाक्टरको सर्टिफिकेट लिनका लागि मैले सुनेको छु, कहीं न कहीं उनीहरूले आफूलाई बेच्नुपर्छ । मैले सुनेको छु यस्तो मार्मिक कथा । उनीहरूले यहाँ खोलिरहेका छन् कथाहरू । हामी हाम्रा छोरी–चेलीहरूलाई पढ्नका लागि विदेशमा पठाउँछौं तर उसले आफूलाई त्यहाँ नसुम्पी सर्टिफिकेट प्राप्त गरिरहेको स्थिति छैन । त्यसैले मुलुकको समृद्धिका लागि अगाडि बढ्दाखेरि देशैभरि धेरै हाम्रा स्टुडेन्टहरू यही मुलुकमा मेडिकल शिक्षा पढेर डाक्टर बन्नुस् ।’

मन्त्रीको अभिव्यक्तिले पढ्नका लागि विदेश गएका छोरी–चेली र तिनीहरूको परिवारको बदनामी भएको भन्दै आपत्ति जनाइएको थियो । राजीनामा दिंदा तामाङ भावविह्वल बनेका थिए ।

राष्ट्रियताविरोधी अभिव्यक्तिले पद नै चेट्

आफ्ना अभिव्यक्तिले बारम्बार विवादमा आउने नेतृ हुन् सरिता गिरी । उनले सामाजिक सञ्जालदेखि संसदसम्ममा पटक–पटक नेपालको राष्ट्रियताविरोधी अभिव्यक्ति दिने गरेकी छिन् । केही समयअघि नेपालले भारतद्वारा कब्जा गरिएका क्षेत्रहरूलाई समेट्दै नयाँ नक्शा प्रकाशित गर्ने क्रममा गिरीको अराष्ट्रिय चरित्र उदांगो बनेको थियो ।

गिरीले भारतलाई नसोधी नेपालले नयाँ नक्शा निकाल्न लागेको भन्दै अन्तर्वार्ता मात्रै दिइनन्, संसदमा भाषणसमेत गरिन् । एउटा अन्तर्वार्तामा उनले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूमि हुन् भन्ने आफूले स्वीकार्न नसक्ने बताएकी थिइन् । साथै, संघीय संसदको बैठकमा बोल्दै गिरीले छिमेकी मुलुक भारतलाई नसोधी नेपालले एकतर्फी रूपमा नक्शा जारी गराएको भनेर आपत्ति प्रकट गरिन् ।

उनै गिरी नयाँ नक्शासहितको निशानछाप संसदबाट पारित गराउने क्रममा यसमा संशोधन प्रस्ताव दर्ता गर्ने एक्ली सांसद थिइन् । पार्टीले संशोधन प्रस्ताव फिर्ता लिन दिएको निर्देशन पनि उनले टेरिनन् ।

गिरीको हर्कतले हद नाघेपछि उनलाई संघीय समाजवादी पार्टीले साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको थियो । गिरीको संसद पदसमेत चेट् भएको छ ।

राष्ट्रपतिलाई लाञ्छित गर्दा झाँक्री पुगिन् हिरासत

हालै मात्रै नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले घरबाटै पक्राउ गर्‍यो । पक्राउ पर्नुको कारण थियो, सार्वजनिक कार्यक्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध दिएको अभिव्यक्ति ।

उनले गोरखाको एक कार्यक्रमका क्रममा भनेकी थिइन्, ‘नेकपा एमालेले ५० सालमा गरेको भूल थियो । मदन भण्डारीको हत्या पछाडि सेतो साडी लगाएर जुन शक्ति आर्जन गर्ने गलत सांस्कृतिक अभ्यास गरेको थियो नेकपा एमालेले, त्यसको प्रत्युत्तर हो विद्यादेवी भण्डारी ।’

भाषणका क्रममा झाँक्रीले राष्ट्रपतिलाई शीतलनिवासबाट निस्केर बालकोट जान समेत चेतावनी दिएकी थिइन् । उनको अभिव्यक्तिको पनि सामाजिक सञ्जालमा तीव्र आलोचना भयो । तर, झाँक्रीले माफी मागिनन् । बरु आफ्नो भनाइमा अडिक रहिन् ।

अन्ततः प्रहरीले झाँक्रीमाथि एक्सन लियो । पक्राउ पुर्जी लिएर प्रहरी उनको घरमै पुगे । दिनभर हिरासतमा राखेर साँझ उनलाई छोडियो । झाँक्रीको पक्राउ अभिव्यक्ति स्वतन्त्रताको हनन् भएको भन्दै विरोध पनि भएको थियो । नेकपाको प्रचण्ड–नेपाल समूहका कार्यकर्ताले उनको निवासमा नारावाजी गरेका थिए ।

गणतन्त्रका मन्त्रीले ‘श्री ५ को सरकार’ भनेपछि

यो पनि हालसालैको घटना हो । गत माघमा सुर्खेतमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा खानेपानी मन्त्री मणि थापाको जिब्रो चिप्लियो । उनले आफूलाई ‘श्री ५ को सरकार’ को प्रतिनिधि बताउन पुगे ।

कार्यक्रममा सम्बोधन शुरु गर्दै उनले भनेका थिए, ‘सबलाई सम्मान गर्न चाहन्छु, जो मञ्चमा आसीन हुनुहुन्छ । र, सुर्खेतका आदरणीय जनसमुदायहरू, म सबैलाई नेकपा स्थायी कमिटीको तर्फबाट र श्री ५ को सरकारको तर्फबाट… तपाईंहरूलाई लालसलाम भन्न चाहन्छु ।’

कार्यक्रम सञ्चालकले गल्ती औंल्याएपछि थापाले तत्काल आफूलाई सच्याएका थिए । तर, ‘श्री ५ को सरकार’ भनेको भिडियो भाइरल भइहाल्यो । टङ स्लिपको सामान्य केस थियो, यो । तथापि कतिपयले जनयुद्धको पृष्ठभूमिबाट आएका नेताको मुखमा कसरी ‘श्री ५ को सरकार’ निस्कियो भनेर आश्चर्य जनाए । यस विषयमा थापाले सामाजिक सञ्जालमार्फत क्षमायाचना गरे ।

कोमल वलीमाथि रघुजी पन्तको हमला

नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड–नेपाल समूहका स्थायी समिति सदस्य रघुजी पन्त आइतबार एकाएक विवादमा तानिए । उनले राष्ट्रिय सभा सांसद कोमल वलीमाथि ‘लैंगिक हिंसाजन्य’ टिप्पणी गरेपछि सामाजिक सञ्जालमा आलोचना तीव्र भयो ।

उनले एक कार्यक्रममा कोमल वली ‘सरक्क सारी सर्काएर पिंडुला देखाएको भरमा सांसद बनेको’ आरोप लगाएका थिए ।

पन्तको भाषण यस्तो थियो, ‘छन्, महिलाहरू अहिले केपीतिर पनि लागेका छन् । बीसौं वर्ष बिहे नै नगरेर यो पार्टीमा लागेका महिलाहरू छन् । तर, तिनले टिकट पनि पाएनन् । राष्ट्रिय सभा पनि पाएनन् । कोमल वलीले यसो सारी सरक्क सर्काएर गोडा, पिंडुला देखाउँदै पोइला जान पाम् भनेपछि संसद त तिनै भइन् ।’

पन्तको अभिव्यक्तिमा कोमलले आपत्ति जनाउँदै आफू पन्तविरुद्ध अदालत जाने तयारीमा रहेको पनि बताएकी छन् ।

उनै पन्तले केही दिनअघि काठमाडौंमा आयोजित जनसभामा पशुपतिनाथबारे विवादित अभिव्यक्ति दिएका थिए । राजा वीरेन्द्रले पशुपतिनाथ गुहार्दा उनको वंशनाश भएको, ज्ञानेन्द्रले पशुपतिनाथ गुहार्दा उनी दरबारबाट लखेटिनुपरेको भन्दै पन्तले अब ओलीको के हुने हो भन्ने प्रश्न गरेका थिए । यसमा हिन्दूवादी संघ–संस्थाहरूले आपत्ति जनाए ।

बारम्बार विवादमा आउने प्रचण्डका अभिव्यक्ति

शान्ति प्रक्रियामा आएपछि पहिलोपटक पत्रकारमाझ प्रस्तुत हुँदा तत्कालीन माओवादी सुप्रिमो प्रचण्डको मुखबाट एउटा विवादित अभिव्यक्ति निस्कियो । उनले त्यसबेला ‘नेपाली सेनाको महिला दिदीबहिनीलाई बलात्कार गर्नेबाहेक अरू काम नभएको’ टिप्पणी गरेका थिए ।

त्यसबेला प्रचण्डको क्रेज यति धेरै थियो कि यस्तो आपत्तिजनक अभिव्यक्तिमा खासै कसैले ध्यान दिएनन् । तर, नेपाली सेनाले भने प्रचण्डको अभिव्यक्तिमा आपत्ति जनाएको थियो । त्यसयता पनि प्रचण्डका विवादित अभिव्यक्तिहरू बग्रेल्ती छन् । उनले आफ्ना पार्टीका कार्यकर्तामाझ शान्ति प्रक्रियामा आएपछि जनसेनाको संख्या बढी देखाउन के–कसरी चलखेल गरियो भनेर सुनाएको भाषण पछिसम्म भाइरल भयो ।

हालै मात्र प्रचण्डको एउटा ताजा अभिव्यक्ति विवादित बनेको छ । ऋषि धमलासँगको अन्तर्वार्तामा उनले बोलेका कुराहरूलाई लिएर यत्रतत्र आलोचना भइरहेको छ ।

प्रचण्डले भनेका छन्, ‘जसपा, कांग्रेस र हामी मिलेर सरकार बनाउँदा भारतलाई योभन्दा कम्फर्टेबल अरू हुँदैन ।’

धेरैले प्रचण्डको यो अभिव्यक्तिलाई ‘भारतभक्ति’ का रूपमा लिएका छन् । सामाजिक सञ्जालमा ‘कम्फर्टेबल’ शब्द नै ट्रेन्डिङ बनेको छ । यस विषयमा प्रचण्डले कुनै स्पष्टीकरण भने दिएका छैनन् । बरु प्रधानमन्त्री केपीले उनलाई ‘मिस्टर कम्फर्टेबल’ भन्दै सार्वजनिक रूपमा गिज्याएका छन् ।

ओलीका अभिव्यक्ति सधैं विवादमा

फाइल तस्बिर ।

आफ्नो बोलीका कारण सबैभन्दा बढी चर्चामा आउने र विवाद झेल्ने समकालीन नेता निःसन्देह केपी ओली हुन्, जो अहिले देशका प्रधानमन्त्री छन् । उनका विवादित अभिव्यक्ति खोजेर साध्यै छैन ।

आफ्ना भाषणमा विपक्षीहरूमाथि तिखो र कटु टिप्पणी गर्नु उनको विशेषता हो । तर, यसक्रममा कहिलेकाहीं पदीय मर्यादाको सीमा नाघ्न पुग्दा उनी विवादमा फस्छन् । ओलीले नेपालमा गणतन्त्र आउनुअघि एउटा अन्तर्वार्तामा भनेका थिए, ‘बयलगाडा चढेर अमेरिका पुगिंदैन ।’ यो अभिव्यक्तिले उनलाई आजपर्यन्त लखेटिरहेको छ । गणतन्त्रविरोधीको आरोप खेप्नु परिरहेको छ ।

ओलीका कतिपय अभिव्यक्तिको तरंग नेपालभित्र मात्र नभई छिमेकी देश भारतसम्म पुगेको छ । उनले नेपालको संघीय संसदमा भाषण गर्दै ‘चाइनिज कोरोनाभन्दा भारतीय कोरोना बढी घातक रहेको’ टिप्पणी गरेका थिए । उनको सो अभिव्यक्तिमा भारतीयहरूले आपत्ति जनाए ।

भारत सरकारको औपचारिक प्रतिक्रिया भने आएन । ओलीले एक कार्यक्रममा बोल्दै ‘रामको जन्मभूमि अयोध्या नेपालकै पश्चिमी ठोरीमा पर्छ’ भनेपछि फेरि भारतीय सञ्चारमाध्यमहरू ओलीमाथि खनिएका थिए । भारतीय बाबाहरूले काठमाडौंमा जुलूस नै निकाले ।

पछिल्लो समय हरेक दिन ओलीले नयाँ–नयाँ मसलाहरू दिइरहेका छन् । एउटा भाषणको विवाद नसकिंदै उनले अर्को भाषण गरिसक्छन् । यसरी उनका कुनै पनि भाषणले निकास पाउँदैनन् ।

भाषणमा किन चुक्छन् नेता ?

नेताहरू भाषणमा बारम्बार किन चुक्छन् ? साहित्यकार तथा टिप्पणीकार श्रवण मुकारुङको भनाइमा आवेगमा बोल्दै जाँदा नेताहरूले बढी बोलेको हेक्कै पाउँदैनन् । नेताहरूले भाषण गर्नुपूर्व राम्ररी तयारी गर्ने हो भने यो समस्या नआउने उनको भनाइ छ ।

‘यदि नेताहरूले म यो बोल्छु भनेर तयारी गरेर जाने हो भने जथाभावी बोल्ने सम्भावना कम हुन्छ । भाष्यको शब्द र वाक्यहरूको अर्थ धेरै बन्दै जान्छन् । अर्थ अनेक लाग्छ । एउटा आशयमा भनिएको वाक्यलाई अर्को अर्थमा बुझिदिने कारण पनि विवादित भएको पाइन्छ । अर्कोचाहिं मिस इन्टरप्रेटेक्सन गरिदिने चलन पनि छ ।’

उदाहरण दिंदै उनले भने, ‘अहिले चर्चामा रहेको प्रचण्ड र रघुजी पन्तको विषय छ । प्रचण्डले दुईवटा ठूला देशसँगको सहकार्य आफ्नो राष्ट्र हितको लागि सजिलो हुन्छ भनेर राम्रै कुरा भनेका थिए, गलत थिएन । यसको अर्थ उनी भारतीय दलाल भएका होइनन् । सबै कुरा मिलाएर सजिलो गरी जान खोजेको भन्न खोजेका हुन् । त्यसलाई मान्छेले अर्को अर्थ लगाइदिए ।’

रघुजी पन्तको कुरा पनि बेठीक नभएको उनले बताए ।

‘कम्युनिष्ट पार्टीमा संघर्ष गरेका यति धेरै महिला छन् । तर, एउटा लोक गीत गाउँदै गरेको कोमल वलीलाई टपक्कै टिपेर लगिएकै हो । भन्न खोजेको गलत थिएन । तर, बोल्दै जाँदा प्रस्तुति गलत भयो ।’

नेताहरूले जिम्मेवारी र पूर्वतयारीका साथ सोच्नुपर्ने मुकारुङ बताउँछन् ।

उनी भन्छन्, ‘व्यंग्य गर्दा पनि अर्थहरू गलत लागिदिन्छ । अर्थविस्तार भएर जान्छ । नेता वा सेलिब्रेटी जोकोहीले पनि बोल्नुपर्दा विचार गरेर मात्र बोल्नुपर्छ । किनकि सार्वजनिक रूपमा बोलिएको कुराले पछिसम्म पनि जीवनमा असर पार्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर