अनुदान नेताका आसेपासेलाई, किसानका केराका बोटै सुके – Nepal Press

अनुदान नेताका आसेपासेलाई, किसानका केराका बोटै सुके

सुर्खेत । कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले गत वर्ष कर्णालीका ११६ जना किसानलाई २ लाखदेखि ४ लाखसम्म कृषि प्रवद्र्धन कार्यक्रममार्फत अनुदान दिने घोषणा गरेको थियो । तीमध्ये आधा भन्दा बढी नेता, मन्त्रीकै पहुँचमा हुनेहरूले पाउने विवरण सार्वजनिक भयो । त्यसको मिडियामा चर्को आलोचना भएपछि मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले अनुदान रोक्न निर्देशन दियो र राज्यको ३ करोड रुपैयाँ जोगियो ।

कर्णालीमा वास्तविक किसानले अनुदान नपाउने गरेको गुनासो बढिरहेको समयमा सुर्खेतमै पहिलोपटक केरा खेती गर्न शुरू गरेका एक किसानको अवस्था दयनीय बन्दै गइरहेको छ ।

भेरीगंगा नगरपालिका वडा नं. ९ का किसान जंगबहादुर जिसीले गएको जेठमा जहरे बजारस्थित झिग्नी जाने बाटोमा डेढ बिघा जमिनमा लगाएको केराखेती उत्पादन नहुँदै सुक्न थालेको छ ।

कृषि पेशाबाटै केही गर्न सकिन्छ भन्दै नगदेबालीको रूपमा खेती गर्दै आइरहेका जिसीले केरा सुक्न थालेका कारण मासिक तीन रुपैयाँ ब्याजमा पानीका लागि बोरिङ्ग खोल्न लागेको नेपाल प्रेससँग बताए ।

प्रस्तुत छ, जिसीसँग गरिएको कुराकानी उनकै शब्दमाः

मेरो छोरा देश र जनताको प्रगति र समुन्नति गर्नका लागि भन्दै जनयुद्धमा होमिएको थियो । अमर जनमुक्ति सेनाको प्लाटुन भिसी कमाण्डर भइरहेको समयमा उनको गोली हानी हत्या भयो । उनको नाउँमा मैले कृषि फर्म नै सञ्चालन गरेर यस क्षेत्रका बेरोजगार युवालाई कृषि कर्मप्रति विश्वास जगाउँदै यसबाट राज्य र व्यक्ति दुवैलाई फाइदा हुने देखेका कारण २०७४ सालमा अमर तरकारी, फलफूल तथा च्याउ खेती फर्म दर्ता गरेको हुँ ।

उसो त म २०४८ सालदेखि नै निरन्तर कृषि पेशामा आबद्ध छु । बर्दियामा रहेको मेरो १० कट्ठा जग्गामा प्याज खेती गरेर मैले एक लाख पचास हजारभन्दा बढी बचाएको थिएँ । २०५२ सालमा म सुर्खेतको दोस्रो कृषक भई तत्कालीन कृषि विकास कार्यालयबाट उपहार पनि पाएको थिएँ । त्यो समयमा मैले तरकारी खेतीबाट मात्रै २ लाखभन्दा बढी वर्षमा बचत गर्ने गरेको थिएँ ।

अहिले पनि मैले तरकारी खेती गर्दै आइरहेको छु । तरकारी खेतीबाट वर्षेनि करीब २ लाख शुद्ध मुनाफा गर्छु । नगदेबालीबाट पर्याप्त आम्दानी हुने देखेकाले मैले अहिले केरा खेती गर्न शुरू गरेको हुँ ।

कैलाली जिल्लाको टीकापुरबाट जी नाइन जातको केराको बीउ ल्याएर डेढ बिघा जमिनमा १५०० बेर्ना रोपेको छु । यी बेर्नाबाट मैले कम्तीमा एक वर्षमा सात लाख रुपैयाँ मुनाफा हुने आशा गरेको थिएँ ।

केरा खेती गर्न शुरू गरेदेखि हालसम्म ११ लाखभन्दा बढी रुपैयाँ खर्च गरिसकेको छु । केराका बिरुवा सुक्दै गएका कारण अहिले मैले निजी क्षेत्रबाट महिनाको सयकडा तीन रुपैयाँ व्याजदरमा पाँच लाख रुपैयाँ ऋण लिएको छु । यसरी ऋण काढ्नुको कारण डिप बोरिङ्ग गरेर सुक्न थालेका केराका बेर्नालाई जोगाउनु नै हो ।

एकपटक लगाएको खण्डमा तीन वर्षसम्म निरन्तर आम्दानी हुने थाहा पाएका कारण मैले यसमा लगानी गरेको हुँ । केरा खेती गर्ने सुर्खेतको पूर्वी क्षेत्रमा म मात्रै हो । अरू कसैले यसमा हात हालेका छैनन् । पुस र माघमा केरा सुक्ने खतरा हुन्छ भन्ने सुनेको थिएँ, अहिले आफैं त्यो भोग्दैछु ।

काम गर्नेलाई अनुदान शून्य

विगत वर्षमा नगरपालिका, प्रदेश सरकार र अन्य निकायले कृषि कर्म गर्नेलाई अनुदान दिन्छन् भन्ने सुनेको थिएँ । हालसम्म मैले कतैबाट एक रुपैयाँ सहयोग पाएको छैन । हुन त मेरो माथिसम्म पहुँच नभएर पनि होला वा कार्यालयमा अनुदान देऊ भनेर धाउन नसकेका कारण पनि होला । मैले अनुदानमा भन्दा फर्ममा नै बढी ध्यान दिएँ । कसैसँग अनुदान माग्न गइनँ । तर यहाँ के चलन रहेछ भने, जसको झोलामा फर्म छ, जसले खेती गर्दैन, जो कृषि कर्म भनेपछि कोसौं टाढा भाग्छन्, त्यस्ताले मात्रै अनुदान पाउने रहेछन् ।

नमूना कृषक बन्ने चाहना

म कर्णालीकै नमूना कृषक बन्न चाहन्छु । राज्यबाट सहयोग नपाए पनि ऋणै खोजेर भए पनि कृषि कर्म गरेरै कमाउने सपनाका साथ म यो क्षेत्रमा होमिएको हो । मलाई प्रविधिको प्रयोग गरेर कसरी आम्दानी गर्न सकिन्छ भन्ने जानकारी छ । अन्य खेती भन्दा पनि नगदे खेती गर्न यहाँका युवालाई प्रोत्साहन गरिरहेको छु ।

अहिले दुई जनालाई काममा राखेको छु । विगतमा राम्रो आम्दानी गरे तापनि सरकारी निकायले बेवास्ता गर्थे । कृषि क्षेत्रमा राम्रो काम गर्नेलाई नमूना कृषकको रूपमा पुरस्कृत गर्ने चलन भइदिएको भए कृषि कर्म गर्न अग्रसर हुन्थे ।

हाम्रो ठाउँका युवाहरू गाउँमा काम गर्न लाज मान्ने, कृषि उत्पादन भए पनि बजारमा लगेर बेच्न नसक्ने समस्याले भारत तथा अन्य देशमा रोजगारी खोज्न जाने गरेका हुन् ।

सरकारको ध्यान जान आवश्यक

सरकारले जहिल्यै कृषि कर्म गर्नेलाई प्रोत्साहन गर्छौं भन्दै आएको छ तर वास्तविक किसानसम्म पुग्न नसकेका कारण युवाहरू कृषि कर्म गर्न रुचाउँदैनन् । कृषि कर्म गर्ने युवालाई बजारीकरण, प्रविधि हस्तान्तरण र अनुदान दिन सकेको खण्डमा मात्रै कृषि क्षेत्रमा आमूल परिवर्तन आउन सक्ने मैले देखेको छु ।

खेती गरेको खण्डमा विदेश धाउनै पर्दैन । विदेशमा कमाउने वार्षिक तीन/चार लाख त यहाँ धेरै मिहिनेत नगरेरै कमाउन सकिन्छ । सरकारले वास्तविक किसानको घरदैलोमा पुगेर उनीहरूलाई प्रोत्साहन गर्नुपर्छ ।

प्रपोजल लेख्न नजान्ने किसानले अनुदान पाउन नसक्ने र पहुँच पनि नहुने, उत्पादन भएको वस्तुलाई कौडीको भाउमा बेच्नुपर्ने अवस्था सिर्जना भएको खण्डमा कृषक निराश हुन्छ । कृषि कर्म नगरे देश झन् परनिर्भर बन्छ । तसर्थ यतातिर राज्यको ध्यान जाओस् ।

काम गर्ने किसानले चर्को व्याजमा ऋण खोज्नुपर्ने अवस्था छ । मेरै व्यवसायमा पनि लाखौंको लगानी डुब्ने जोखिम देखेको छु । लगानी डुबेको खण्डमा म फेरि उठ्न मुस्किल हुन्छ । तसर्थ कोही दाता भएको भए, सिंचाइ र प्रविधिको ज्ञान दिने व्यक्ति भइदिएको भए म जस्ता किसानले निरीह बन्नुपर्ने अवस्था आउँदैनथ्यो र आम्दानी गर्न सकिन्थ्यो कि !


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *