प्रचण्डको दाबी- केपीको एउटा सेटिङ सकियो, निर्वाचन आयोगवाला सेटिङ भत्किँदै छ (भिडियो) – Nepal Press

प्रचण्डको दाबी- केपीको एउटा सेटिङ सकियो, निर्वाचन आयोगवाला सेटिङ भत्किँदै छ (भिडियो)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड-माधव पक्ष) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको मान्यता र सूर्य चिन्ह आफूले नै पाउने दाबी गरेका छन्।

सोमबार पेशागत महासंघको एकता घोषणा सभालाई राजधानीमा सम्बोधन गर्दै प्रचण्डले सर्वोच्चले आफूहरूको पक्षमा फैसला गर्ने भनेर आफूले भनेको र त्यसै अनुसार भएको भन्दै पार्टीको आधिकारिकता पनि आफूहरूले पाउने दाबी गरे।

‘मैले भनेको थिएँ-सर्वोच्चले फैसला जनताको पक्षमा नै गर्छ । अर्को हुनै सक्दैन भनेर सार्वजनिक मञ्चबाट भन्ने गर्थे । मैले कुनै सेटिङ गरेर भनेको होइन’ प्रचण्डको भनाइ छ, ‘अहिले पनि निर्वाचन आयोगसँग भएको पटक-पटक छलफल, जनभावना र राजनीतिक दल सम्बन्धी ऐनका आधारमा भन्छु- पार्टीको मान्यता हामीले पाइ नै सक्यौं । सूर्य चिन्ह हामीले पाइ नै सक्यौं । अब खाली घोषणा हुन बाँकी मात्रै हो ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सर्वोच्चमा सेटिङ छ भनेर भ्रम छरेको अरोप लगाउँदै प्रचण्डले अब निर्वाचन आयोगवाला सेटिङ पनि भत्किने दाबी गरे ।

‘अब अर्को सेटिङ पनि भत्किँदै छ, निर्वाचन आयोगवाला सेटिङ’ प्रचण्डले भने, ‘हेर्नुहोला मैले त्यत्तिकै भनेको होइन । मैले बुझेर भन्दैछु । केही समयभित्रै निर्वाचन आयोगले यो उहाँहरूको आधिकारिक पार्टी होइन, आधिकारिक पार्टी बहुमतवाला पार्टी नै हो । सूर्य चिन्ह र नाम हाम्रै हो भन्ने फैसला हुन्छ । एक इन्च पनि शंका गर्नु पर्दैन । म यो कुरा विश्वासका साथ भन्न सक्छु ।’

उनले ओलीको सेटिङको भ्रममा परेका कार्यकर्ता पनि विस्तारै फर्किन लागेको दाबी गरे । प्रचण्डले भने, ‘उहाँहरूले भन्नुभएको थियो, सेटिङ गरेका छौं, भइहाल्छ अब । सर्वोच्चले त हाम्रै अनु्सार गर्छ भनेर देशभरि अभियान चलाउनुभयो । धेरै मान्छे सेटिङको भ्रममा लागेका थिए । अब विस्तारै फर्किँदै हुनुहुन्छ साथीहरू ।’

प्रचण्डले सूर्य चिन्ह ओली पक्षतिर जान्छ भनेर भ्रममा नपर्न पनि कार्यकर्तालाई आग्रह गरे । उनले भने, ‘सूर्य उतै हुन्छ भनेर केही साथीहरू उतै लाग्नु भएको छ भने छिटो ब्युँझनुहोला । तपाईंहरू निद्रामा पर्नुभएको छ । लठ्याइनुभएको छ ।

 


प्रतिक्रिया

One thought on “प्रचण्डको दाबी- केपीको एउटा सेटिङ सकियो, निर्वाचन आयोगवाला सेटिङ भत्किँदै छ (भिडियो)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर