महिलाको चरित्र हत्या हुने अभिव्यक्ति दिनेविरुद्ध कानुनी लडाइँमा जान्छौं : अनेमसंघ – Nepal Press

महिलाको चरित्र हत्या हुने अभिव्यक्ति दिनेविरुद्ध कानुनी लडाइँमा जान्छौं : अनेमसंघ

काठमाडौं ।अखिल नेपाल महिला संघले प्रचण्ड-माधव पक्षीय नेकपाका नेता रघुजी पन्तको राष्ट्रियसभा सदस्य कोमल वलीप्रति लक्षित भनाइप्रति भर्त्सना गरेको छ । ओलीपक्षीय अनेमसंघको वागमती प्रदेशको भेलामा सहभागी महिला नेताहरूले सो अभिव्यक्तिको विरोध गरेका हुन् ।

अनेमसंघकी इन्चार्ज गोमा देवकोटाको प्रमुख आतिथ्यमा भएको भेलामा सहभागीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले परिकल्पना गरेको ‘समृद्ध नेपाल र सुखी नेपाली’ को अभियानलाई साथ दिने प्रतिबद्धता जनाएका छन् ।

पार्टी गतिविधिलाई तल्लो तहसम्म लैजान अनेमसंघको जिल्ला र वडा स्तरीय कमिटी विस्तारलाई तीब्रता दिने पनि भेलाले निर्णय गरेको छ ।

चैत सम्ममा वडा सम्म कमिटी विस्तार गरी राजनीतिक गतिविधि बढाउने निर्णय गरिएको हो । मार्च ८ लाई भव्य रुपमा मनाउन सबै क्षेत्र र जिल्लामा तयारी सुरु गर्ने निर्णय पनि भेलाले गरेको अनेमसंघका सचिवायले सदस्य शर्मिला कार्कीले जानकारी दिइन् ।

सडक र भाषणहरुमा महिला नेता लक्षित गरेर दिइएका अराजनीतिक अभिव्यक्तिको विरोध गर्दै त्यस्ता अभिव्यक्ति विरुद्ध कानुनी लडाइँमा जाने चेतावनी महिला नेताहरुले दिएका छन् ।

अनेमसंघका केन्द्रिय संयोजक सीता पौडेलले महिला नेताको चरित्र हत्या हुने अभिव्यक्ति विरुद्ध आवाज उठाउन आह्वान गरिन् । प्रदेश अध्यक्ष सुशिला नेपालको अध्यक्षतामा सम्पन्न भेलाले अनेमसंघ युवा समिति पनि गठन गरेको छ । केन्द्रीय संयोजक दीपा शर्माले त्यसको संयोजन गरेको अनेमसंघ सचिव सुजिता शाक्यले जानकारी दिइन् ।

भेलाले प्रदेश कमिटीमा आवद्ध भएकाहरुलाई सपथ गराएको छ । जसमा उपलब्ध केन्द्रीय सदस्य र अनेमसंघका नेताहरू गरी करिब ३०० को सहभागिता थियो । नेकपाका वागमती प्रदेश इन्चार्ज आनन्द पोख्रेलले प्रदेश कमिटीका महिला नेताहरूलाई सपथ गराए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर