नारीभित्र जकडिएको पुरुषवाद – Nepal Press
ब्लग

नारीभित्र जकडिएको पुरुषवाद

वामनेता रघुजी पन्तले एक कार्यक्रममा राष्ट्रियसभा सदस्य कोमल वलीमाथि गरेको टिप्पणी निकै विवादास्पद बन्यो । पन्तले ‘पिँडुला देखाएकै भरमा’ प्रधानमन्त्रीले वलीलाई सांसद बनाएको भनेर टिप्पणी गरेका थिए ।

पन्तको भनाइको आशय ‘पार्टीमा योगदान गरेका भन्दा नगरेकालाई महत्व दिइयो’ भन्ने थियो । तर, उनले प्रयोग गरेको शब्द नारीमाथि लैङ्गिक तथा यौनिक हिंसा हुने खालको थियो । ‘नारीमा क्षमता नै हुँदैन, उनीहरु अंग प्रदर्शन गरेकै कारण कुनै पनि ओहोदामा पुगेका छन्’ भन्ने प्रकारको थियो ।

उनको उक्त अभिव्यक्तिको व्यापक आलोचना भइरहेको छ । नारीवादी तथा अधिकारकर्मीहरुले पन्तको खुलेर विरोध गरेका छन् । सामाजिक सञ्जालमा पनि उनको निकै आलोचना भइरहेको छ । तर, केही नारीवादी र पन्त आवद्ध पार्टीका नेता तथा कार्यकर्ताले उनको बचाउ गर्ने प्रयास गरिरहेका छन् ।

पन्तआवद्ध पार्टीकै नेतृ अष्टलक्ष्मी शाक्यले खुलेरै भनिन् कि, ‘महिलाले पनि पहिरनमा ध्यान दिनु पर्छ । महिलाले अंग देखाउँदा बलात्कार जस्ता घटना बढिरहेका छन् । समाज विकृत बन्दैछ ।’

शाक्याको यो भनाइले बहसलाई मोडिदिएको छ । पन्तले वलीमाथि गरेको टिप्पणी निन्दनीय छ । यसले पुरुषले महिलालाई हेर्ने आमदृष्ट्रिकोणलाई संकेत गर्छ । सँगै शाक्यले पन्तलाई जोगाउन दिएको अभिव्यक्तिले नारीभित्रको पुरुषसत्ताको प्रतिनिधित्व गर्छ ।

निश्चय नै, हाम्रो समाज पितृसतात्मक छ । समाजमा पुरुषसत्ता हावी छ । तर, पुरुषवादी सोचबाट धेरै महिलाहरु नै ग्रस्त छन् । चाहे त्यो सासुसत्ता होस् या देउरानी सत्ता ।

हाम्रो समाजमा एउटी सासुले आफूलाई बुहारीमाथि शासन गर्ने अधिकार भएको सोच्छिन्, त्यहींअनुसार व्यवहार गर्छिन् । आफ्नो छोरीलाई ज्वाइँले माया गरोस् भन्ठान्ने सासुले बुहारीलाई छोराले धेरै माया गरेको मन पर्दैन । घरमा सासुसँग झगडा गरेर माइत आएकी छोरीले भाउजूलाई राम्रो मान्दिनन् ।

सबैको घरमा यो प्रकारको स्थिति नहोला, तर अधिकांशमा यो प्रवृत्ति छ नै । किनकि, हाम्रो समाजमा पुरुषमा भन्दा नारीमा पुरुषसत्ताको ह्याङओभर खतरनाक छ ।

कतिपयमा ‘म त केटी मान्छे, यो त केटाले गर्ने काम हो’ भन्ने प्रकारको सोच छ । यसले नारीहरुले आफैंलाई कमजोर स्वीकारेको प्रष्ट पार्छ ।

पुरुषले गरेका गल्ती नै दोहोर्याएर महिलाले पुरुषजतिकै शक्तिशाली हुन खोजेको पनि पाइन्छ । ‘लोग्ने मान्छेले रक्सी खान हुने, हामीले किन नहुने ?’ प्रकारका चेतना भएका नारी पनि थुप्रै छन् । मूल कुरा स्वतन्त्रता र समानता भएको सत्यलाई कतिपयले स्वीकार्दैनन् । पुरुषलाई सराप्नु नै नारीवादी भएको भ्रममा बाँच्नेहरु पनि टन्नै छन् । पुरुषको विरोध गर्नु नारीवादी हुनु होइन । लिंगका आधारमा भन्दा पनि मानवताको दृष्ट्रिबाट समतामूलक समाज निर्माण गर्नेबारे सोच्न र व्यवहार गर्न सक्नुपर्छ ।

कतिपय नारीवादीले जसरी पनि पुरुषलाई नै कमजोर देखाउने प्रयास गर्छन् । कतिपय स्थितिमा नारीका कारण प्रताडित पुरुष पनि छन् । महिला हिंसा भनेजस्तो पुरुष हिंसा पनि भएको छ ।

पुरुष भएकै कारण पीडामा बाँचेकाहरुको कुरा पनि महिलाले बुझ्न जरुरी छ । पुरुषमाथि भएका यौन तथा मानसिक हिंसा पनि अन्त्य गर्नतर्फ सोच्नुपर्छ । नारीभित्रको पुरुषवादकै कारण धेरै पुरुष पीडित छन् ।

र विषयलाई यो तरिकाबाट सोच्न पनि जरुरी छ–

महिलामाथि भएको अत्याचार, दमन र विभेदविरुद्ध आवाज उठाउनु पहिला कारण खोज्नु स्वाभाविक मात्रै होइन, आवश्यक पनि हो । आजको उत्तरआधुनिक समाजमा पनि महिलालाई ‘दोस्रो दर्जा’मा राखेर हेरिनु र व्यवहार गरिनुले हाम्रो निम्छरो चेतनालाई बुझाउँछ । पुरुषसत्ताले ग्रस्त समाजमा अनेक बहाना बनाएर महिलामाथि अत्याचार गरिएका थुप्रै नजीर छन् । धार्मिक, सामाजिक, आर्थिकलगायत सबै हिसाबमा महिलालाई विभेद गरेर नियम बनाइएको छ । र, त्यो नियम मान्न बाध्य बनाइन्छ । नमाने ‘अधार्मिक, असामाजिक र अराजक’को आरोप लगाइन्छ ।

हाम्रो सामाजिक नियम केले बनायो ? महिलामाथि विभेद गर्नैपर्ने चेतना केले निर्माण गर्यो ? हाम्रो धारणाको जग के हो ? यसबारे नबुझी उत्तेजना वा भावनामा बहकिएर तर्क–टिप्पणी गर्नु राम्रो होइन । निश्चय नै हाम्रो सामाजिक नीतिको खास आधार भनेको धर्म नै हो । अरुमाथि हाबी हुन वा सत्ता जमाउँन तत्कालीन समाजका बुज्रुकले अनेक धर्मको उत्पादन गरे । धर्मका नाममा नियम बनाए । धर्मलाई अरुमाथि शासन गर्ने आधार बनाए । धर्मलाई बंग्याएर आफूअनुकुल बनाउनेमा बाहुन जाति अगाडि छ । बाहुनमा पनि पुरुष हाबी छन् । र, पुरुष बाहुनले हिन्दू धर्ममाथि स्वामित्व जमाउन खोजे । परिणामतः पुरुष बाहुनले धर्मको आडमा जातजाति र महिलामाथि विभेद गर्ने नियम बनाए ।

हिजो सतिप्रथा, देउकीप्रथा जस्ता जधन्य अपराधिक प्रथा थियो । प्रथा नै बनाइएका ती महिलाविरोधी नियम जबरजस्त लादिएको थियो । महिलालाई त्यो विभेद हो भन्ने चेतना आउँनै दिइदैनथ्यो । क्रमशः चेतना बढेसँगै केही घातक प्रथाको अन्त्य भयो । केहीको अवशेष बाँकी छ । देशको सुदूरपश्चिम क्षेत्रमा त छाउपडी जस्तो कुप्रथा कायमै छ । अझै उक्त प्रथा कायम रहनुले हाम्रो चेतनास्तरलाई बुझाउँछ ।

तर, पुरुषमा भन्दा महिलामा बढी पुरुषसत्ता हाबी हुनु दुर्भाग्यपूर्ण हो । जसरी पनि पुरुषलाई पीडिक र महिलालाई पिडितको नजरबाट सोच्नु समतामूलक समाज निर्माणका लागि झन् घातक हुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *