प्रचण्ड-माधवलाई बादलको प्रस्ताव: पार्टी एकता जोगाउन भदौ २६ को निर्णयमा फर्किनुस् – Nepal Press

प्रचण्ड-माधवलाई बादलको प्रस्ताव: पार्टी एकता जोगाउन भदौ २६ को निर्णयमा फर्किनुस्

काठमाडौं । गृहमन्त्री एवम् ओलीपक्षीय नेकपाका नेता रामबहादु थापा ‘बादल’ ले पार्टी एकता जोगाउने अन्तिम अवसर भएको भन्दै प्रचण्ड-माधव पक्षलाई भदौ २६ को निर्णयमा फर्किन प्रस्ताव गरेका छन् ।

सोमबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले प्रचण्ड-माधवलाई अविश्वासको प्रस्ताव फिर्ता लिई सच्चिएर आउने अवसरसमेत मिलेको टिप्पणी गरे।

‘उहाँहरूले अविश्वास प्रस्तावलाई फिर्ता गरेर एकता गर्ने अवसर आएको छ,’ बादलको प्रस्ताव छ, ‘तपाईंहरूलाई सच्चिने अवसर मिलेको छ । पार्टी एकताका निम्ति भदौ २६ मा फर्किनुहोस् । आत्म आलोचनसहित भदौ २६ को निर्णय पालना गर्नुहोस् र एकतामा सहयोग पुयाउनुहोस् ।’

२६ भदौको स्थायी कमिटी बैठकले त्यसअघिका सबै विवादलाई थाती राख्ने, प्रचण्डलाई पार्टीको कार्यकारी अध्यक्षको अधिकार प्रदान गर्ने र केपी शर्मा ओली सरकारको काममा केन्द्रित हुने निर्णय गरेको थियो ।

आफूहरू एकताको पक्षमा भए पनि प्रचण्ड-माधव पक्ष फुट, गुट र अस्थिरताको पक्षमा लागेको बादलको आरोप छ । उनले भने, ‘अर्को पक्ष फुट, गुट, अस्थिरता र अन्तरघातको पक्षमा उभिएका छन् । उनीहरूको यो पश्चगामी विचार हो । ’

प्रचण्डतिर संकेत गर्दै बादलले ‘कर्फर्टेबल सरकार’ को कुरा गरेर राष्ट्रिय स्वाधीनातामा अतिक्रमण गर्ने कोसिस गरिएको समेत दाबी गरे। ‘जनताले स्थायित्वको जनादेश दिएका छन्,’ उनले भने, ‘तर, एकथरी हाम्रा कमरेडहरू कम्फर्टेबल सरकार बनाएर राष्ट्रिय स्वाधीनतालाई अतिक्रमण गर्न चाहन्छन् । समाजवाद रोक्न चाहन्छन् ।’

आफूहरूले अदालतको फैसला मानेपनि यसले देशलाई अस्थिरतातर्फ धकेलेको बादलको टिप्पणी छ। उनी भन्छन्, ‘शक्ति पृथकीकरणको सिद्धान्त मान्ने भएकाले अदालतको फैसला मान्छौं । तर, यो फैसला स्थिरताका पक्षमा भएको छैन । अदालतको यो फैसलाले हामीले मान्दा मान्दै पनि देशलाई अस्थिरतातिर धकेलेको छ ।’

सडकको मोर्चाबाट सदनको मोर्चाका संघर्ष शुरू भएको भन्दै अब यो पनि जित्नुपर्ने उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर