जनगणनाको तयारी तीव्र, तेस्रोलिङ्गीको संख्या पनि सार्वजनिक गरिने – Nepal Press

जनगणनाको तयारी तीव्र, तेस्रोलिङ्गीको संख्या पनि सार्वजनिक गरिने

काठमाडौं । सरकारले २०७८ जेठ २५ गतेदेखि असार ८ गतेसम्म नेपालको १२औं जनगणना गर्दैछ । देशमा संघीयता लागू भएपछि हुन लागेको जनगणना संघीय मोडलमा हुनेछ ।

साविकको विकास क्षेत्र, अञ्चल र गाविसको संरचना खारेज भएपछि नयाँ संरचनाअनुसार जनगणना हुन लागेको हो । अब ७ प्रदेश, ७७ जिल्ला, ७५३ स्थानीय र ६ हजार ७४२ वडा कार्यालयको संरचनाअनुसार जनगणना हुनेछ ।

के के तयारी भयो र ?

१२औं जनगणनाका लागि आवश्यक तयारी अन्तिम चरणमा रहेको विभागका उपमहानिर्देशक हेमराज रेग्मीले नेपाल प्रेसलाई जानकारी दिए ।

‘मास्टर्स ट्रेनरलाई तालिम दिइसकेको छ । गणक अधिकृत र सहायक अधिकृत नियुक्ति गरी फागुन १९ गतेदेखि तालिम दिने काम अगाडि बढेको छ । ७७ जिल्लाका ८७ वटा स्थानमा विभागका कार्यालय खुलेपछि गणक अधिकृत र सहायक अधिकृतलाई त्यहाँ पठाउँछौं । गणक र सुपेरीवेक्षकको नियुक्तिका लागि आवेदन खुलाएका छांै । हालसम्म ७७ हजारभन्दा बढीको आवेदन प्राप्त भएको छ । आएका आवेदनमध्ये चैतको अन्तिम साताबाट गणक र सुपरीवेक्षकको छनोट गर्नेछौं भने सुपरीवेक्षकको नियुक्ति वैशाखमा र जेठमा गणकको नियुक्ति गर्छौं’, उनले भने ।

गत वर्ष नै सरकारले जनगणनाको तयारीका लागि ३६ करोड २७ लाख बजेट विनियोजन गरेको थियो । उक्त बजेटमार्फत केन्द्रीय तथ्याङ्क विभागले विभिन्न जिल्लामा नमूना गणना सम्पन्न गरेको थियो ।

जनगणनाको संकलन, तथ्याङ्क प्रशोधन, विश्लेषण र प्रकाशनका लागि करिब ४ अर्ब रुपैयाँ बराबर बजेटको माग गरेकोमा अर्थ मन्त्रालयले करिब साढे २ अर्ब रुपैयाँ निकासा दिइसकेको केन्द्रीय तथ्याङ्क विभागले जानकारी दिएको छ । बजेटको अपुग नहुने र अर्थ मन्त्रालयले समयमा नै बजेट निकासा दिने प्रतिबद्धता पाएको विभागको भनाइ छ ।

हालसम्म जनगणना सम्बन्धी मास्टर्स ट्रेनरहरूलाई तालिम दिइसकेको तथा १०० जना गणना अधिकृत र १०० जना सहायक गणना अधिकृतलाई तालिम दिने काम भइरहेको विभागले जानकारी दिएको छ ।

तालिमप्राप्त गणना अधिकृत र गणना सहायक अधिकृतहरू चैत १ गतेदेखि ७७ वटै जिल्लामा ८७ वटा विभागले खोल्ने शाखामा गणनाको तयारीका लागि जाने विभागले जनाएको छ ।

मुलुकभरि खुलेका विभागमा खटिने गणक अधिकृत र सहायक गणक अधिकृत सबै सरकारी कर्मचारी हुनेछन् । जसमा केही कर्मचारी विभागबाट र केहीलाई काजमा खटाउने तयारी गरी फागुन १९ गतेदेखि एक हप्ताको तालिम दिने काम भइरहेको विभागले जनाएको छ ।

गणनाका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीको प्रबन्ध भइसकेको छ । त्यस्तै तथ्याङ्क संकलनका लागि आवश्यक पर्ने गणक र सुपरीवेक्षकका लागि विभागले अस्थायी कर्मचारीको माग गरेको छ ।

विगतमा विद्यालयका शिक्षकहरूलाई खटाउने गरेकोमा १२औं गणनाका लागि अस्थायी कर्मचारीको माग गरेको छ । हालसम्म ७७ हजारले आवेदन दिइसकेको र उनीहरूको छनोट चैतको अन्तिम वा वैशाखबाट शुरू हुने विभागको तयारी छ । सुपरीवेक्षकलाई वैशाखमा र गणकलाई जेठमा छनोट गर्ने विभागले जनाएको छ ।

विशेष गणना

संघीयताको मोडलमा जनगणना हुने भएकाले विगतका गणनामा प्रयोग हुने सामग्री जिल्लाका लागि मात्रै तयार गरिने गरेकोमा यो पटक प्रदेश र प्रत्येक स्थानीय तहका लागि तयार पारिएको छ ।

तथ्याङ्क संकलनका लागि आवश्यक पर्ने सामग्रीहरू प्रदेश, स्थानीय तह र वडासम्मका लागि तयार पारिएकाले केन्द्र, प्रदेश, स्थानीय तह र वडासम्मका कार्यालयलाई उपयोग गर्न सक्ने गरी संकलन गरिने विभागले जनाएको छ ।

गणनाको विधि

स्थायी रूपमा र अस्थायी रूपमा बसोबास गर्ने आधारमा मूल गणनाको विधि तय गरिएको छ । कुनै व्यक्ति दुई ठाउँमा बसोबास गरेको भए पनि मुख्य रूपमा बसोबास गरेको क्षेत्रलाई आधार बनाएर गणना गरिने विभागले जनाएको छ ।

नेपालमा रहेका परिवारबाट विदेशमा रहेका नेपालीको तथ्याङ्क संकलन गरिनेछ भने सम्पूर्ण परिवार नै विदेशमा छन् भने त्यस्ता व्यक्तिहरू भने छुट्न सक्ने विभागले जनाएको छ । यसका साथै मुलुकभित्र भएका जाति, धर्म, भाषा, लिङ्ग, उमेर, अपाङ्गता भएका सम्पूर्णको तथ्याङ्क संकलन गरिने विभागले जनाएको छ ।

पहिलो पटक तेस्रोलिङ्गीको गणना सार्वजनिक गरिने

विगतमा तेस्रोलिङ्गीलाई गणनामा समावेश गरे पनि १२औं गणनामा भने तेस्रोलिङ्गीको तथ्याङ्क समेत सार्वजनिक गरिने केन्द्रीय तथ्याङ्क विभागले जानकारी दिएको छ । उक्त गणना तेस्रोलिङ्गीको गणना सार्वजनिक गर्ने पहिलो गणना हुने केन्द्रीय तथ्याङ्क विभाग बताउँछ ।

आवश्यक कानून निर्देशिका नियमावली र प्रश्नावली तयार

जनगणनाका लागि आवश्यक पर्ने कानून निर्देशिका नियमावली र प्रश्नावली तयार भइसकेको केन्द्रीय तथ्याङ्क विभागले जानकारी दिइसकेको छ । सुपरीवेक्षक र गणकका लागि आवश्यक काम, कर्तव्य र अधिकार पनि तयार भइसकेको विभागले जनाएको छ ।

जनगणनाको इतिहास

१९६८ सालमा पहिलोपटक नेपालको जनगणना गरिएको थियो । त्यसपछि २००९ सालमा जनगणना भयो । २०११ सालमा नतिजा सार्वजनिक गरिएको उक्त जनगणनाअनुसार नेपालको जनसङ्ख्या ८० लाख भएको केन्द्रीय तथ्यांक विभागले जनाएको छ ।

पहिलो र दोस्रो जनगणना तत्कालीन मालिक, कमरा, कमारी र बाँधाको सूची तयार पार्न गरिएको थियो । १९९८ सम्म गरिएका जनगणना मान्छेको सङ्ख्या गन्नका लागि मात्रै गरिएको थियो । २००९ देखि २०११ सालसम्म भएको गणनालाई आधुनिक जनगणनाको रूपमा लिइन्छ । जहाँ मान्छेको विभिन्न विधा छुट्याएर गणना गरिएको थियो ।

२०१५ सालमा केन्द्रीय तथ्यांक विभागको स्थापना भएपछि व्यवस्थित रूपमा जनगणना भइरहेको छ । तथ्यांक विभागको तथ्यांकअनुसार नै सरकारले अल्पकालीन तथा दीर्घकालीन नीति तथा कार्यक्रम बनाउने गरेको छ ।

विभागले जनगणनामा देशको कुल जनसंख्या, जनसंख्या वृद्धिदर, जन्मदर, मृत्युदर, बसाइँसराइ, नागरिकको आर्थिक अवस्था, विदेशिएका वा विदेशबाट नेपाल आएर बसोबास गरेका, धर्म, जातजाति, लिंग, भाषाभाषीलगायत तथ्यांक संकलन गर्छ ।

नेपालमा पछिल्लो पटक २०६८ सालमा भएको जनगणनाअनुसार नेपालको जनसङ्ख्या २ करोड ६५ लाखभन्दा बढी छ ।

विभागले २०७६ कात्तिक ३ गते १२औं गणनाको लागि ‘मेरो गणना मेरो सहभागिता’ भन्ने लोगो तथा नारा सार्वजनिक गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर