संसद सचिवालयको अभिलेखमा विशाल भट्टराई नै नेकपाको मुख्य सचेतक – Nepal Press

संसद सचिवालयको अभिलेखमा विशाल भट्टराई नै नेकपाको मुख्य सचेतक

काठमाडौं । संसद सचिवालयले सत्तारुढ नेकपाको संसदीय दलको मुख्य सचेतकका रुपमा विशाल भट्टराईलाई मान्यता दिएको छ । प्रधानमन्त्री तथा दलका नेता केपी शर्मा ओलीले शुक्रबार देव गुरुङलाई मुख्य सचेतकबाट हटाई भट्टराईलाई नियुक्त गरेका थिए ।

शनिबार सार्वजनिक विदा भएकाले आइतबारदेखि भट्टराईलाई सत्तापक्षको मुख्य सचेतकले पाउने सवारी लगायतका सुविधाको प्रक्रिया अघि बढाइएको हो । ‘हामीलाई नयाँ नियुक्तिको पत्र प्राप्त भएको छ’ स‌ंघीय स‌सद सचिवालयका प्रवक्ता डा‍. रोजनाथ पाण्डेले भने, त्यसै अनुसार सचिवालयले उहाँको कार्यकक्ष निर्माण गरेको छ, र आजैदेखि सेवा सुविधा गणना हुनेछ ।’

उनका अनुसार  भट्टराईले सवारी सुविधा बुझिसकेका छन् भने सचिवालयले पनि नेकपाको प्रमुख सचेतकका रुपमा पत्राचार गर्न शाखामा पत्राचार गरेको छ ।

सचिवालयले नेकपा मुख्य सचेतकका रुपमा देव गुरुङले प्रयोग गरेका गाडी सुविधा फिर्ताका लागि आग्रह गर्ने भएको छ । आफैंले फिर्ता नगरेमा पत्राचार गरिने र फिर्ता नभए सचिवालयले नै गाडी फिर्ता गर्ने एक उच्च अधिकारीले बताए ।

कानून र सम्बन्धित संसदीय दलको विधान अनुसार दलको नेताले मुख्य सचेतक र सचेतक नियुक्ति गर्न पाउने भएकाले सचिवालयले यसमा नेकपाको विवादभित्र पस्न नमिल्ने ती अधिकारीले नेपाल प्रेसलाई बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर