बादलले ‘हटाएका’ स्वकीयसचिव भन्छन्ः युवा संघको विवादपछि आफैं छोडेको हुँ – Nepal Press

बादलले ‘हटाएका’ स्वकीयसचिव भन्छन्ः युवा संघको विवादपछि आफैं छोडेको हुँ

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले आफ्ना स्वकीय सचिव विरु तामाङलाई जिम्मेवारीबाट हटाएका छन् । युवा संघको कार्यसमिति विस्तार गर्दा अवरोध गरेको र पदको बार्गेनिङ गरेको आरोपमा उनलाई हटाइएको स्रोतले बतायो ।

‘युवाहरूको एकता गर्न बाधा पुर्‍याएको, यता बसेर उतातिर (प्रचण्ड–माधव पक्ष) पदको बार्गेनिङ गरेकाले हटाइएको हो,’ सचिवालय स्रोतले नेपाल प्रेससँग भन्यो ।

तामाङ नेकपाको युवा संघमा छन् । ओली निकट युवा संघको नेतृत्व चयन गर्ने कार्यक्रमलाई उनले बहिष्कार गरेका थिए ।

तामाङ भने आफूलाई हटाइएको नभइ आफै हटेको बताउँछन् । युवा संगठन विस्तारमा आफूलाई निषेध गर्न खोजेकाले एक महिनाअघि नै आफू सचिवालयबाट बाहिरिएको उनको दावी छ ।

तामाङ भन्छन्, ‘युवाहरूको भेलामा हाम्रो कुरा मिलेन । त्यसपछि मैले संगठनका बारेमा धेरै कुरामा राजनीतिक असहमति जनाएको थिएँ । मैले जनाएको असहमतिमा ‘रेस्पोन्स’ नगरेर एक ढंगले निषेधको राजनीति शुरु भयो । त्यसपछि मैले अहिले सचिवालयमा बस्दिनँ भनेको हुँ । बरु म बाहिरकै काम गर्छु, पार्टी संगठनको काममै व्यस्त हुन्छु भनेर एक महिनाअघि आफैंले छोडेको हुँ । सबैले छोडेर जाँदा राम्रो हुँदैन भनेर म नबोलिकन बाहिर निस्केँ ।’

अब प्रचण्ड माधव पक्षतिर लाग्ने सम्भावनाबारे प्रश्न गर्दा उनले आफू अझै कुनै पक्षतिर नलागेको दावी गरे ।

‘राजनीतिक रुपमा अहिले पार्टी फुटिसकेको अवस्था होइन । अहिले गुटको कुरा छ । विशुद्ध पदका लागि यो भद्रगोल अवस्था सिर्जना भएको हो । त्यसको मारमा हामी सबैजना परेका छौं ।’

आफूसँग एउटा सिंगो टिम नै रहेको भन्दै उनले छलफल गरेर निर्णय लिने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर