सम्झनामा रवीन्द्र दाइ: अनि त्यो अन्तिम संवाद – Nepal Press

सम्झनामा रवीन्द्र दाइ: अनि त्यो अन्तिम संवाद

नेपालीमा एउटा आहान छ, सम्झनलाई पो मिहिनेत चाहिन्छ, बिर्सनलाई नसम्झिदिए पुग्छ । तर होइन रहेछ । कुनै-कुनै विषय बिर्सन जति कठिन छ, सम्झन उत्ति सजिलो । मेरा लागि रवीन्द्र अधिकारी बिर्सन कठिन नाम हो ।

भर्खर त्रिभुवन विश्वविद्यालय कीर्तिपुर क्याम्पसबाट स्नातकोत्तर सिध्याएर छुट्टीमा पोखरा फर्केको थिएँ । त्यतिबेला रवीन्द्र दाइ संसदको विकास समिति सभापति हुनुहुन्थ्यो । एक साँझ फोन गरेर रवीन्द्र दाइले भन्नुभयो, मैले एउटा किताब तयार गर्दैछु भेटौं है ।

मैले निशर्त हुन्छ भनें । छिमेकी गाउँ र बलेनी एउटै भए पनि सार्वजनिक कार्यक्रममा भेटेको एउटा चर्चित र लोकप्रिय व्यक्तिसँग सँगसँगै हुन पाइने खुशी र आउँदा दिनको कल्पना गर्दै योजना अनुसार भेट भए ।

समितिका नमूना सभापति

रवीन्द्र दाइ २०७० सालको संविधानसभा निर्वाचनमा कास्कीको तत्कालीन निर्वाचन क्षेत्र नं. ३ बाट दोश्रो पटक विजयी बन्नु भएसँगै त्यसको केही समयपश्चात २०७१ साल भदौ ११ गते विकास समिति सभापतिमा निर्विरोध निर्वाचित हुनुभयो  ।

करिव चारवर्षे आफ्नो कार्यकालमा विकास समितिलाई यसरी क्रियाशील बनाउनु भयो कि अन्य समितिमा रहेका माननीय सदस्यहरु कारणवश खाली हुनासाथ विकास समितिको सदस्य बन्न आउनुहुन्थ्यो । क्रियाशील र खासै नाम नसुनिएको समिति सभापति बनिरहँदा विकास समितिलाई यसरी संचालन गर्नुभयो कि उहाँको सभापतित्वमा कुनै पनि बैठक गणपूरक संख्या नपुगेर स्थगित भएनन् ।

रवीन्द्र दाइ सामाजिक संजाल फेसबुक, ट्वीटर, इन्ट्राग्राममा मज्जाले सक्रिय हुनुहन्थ्यो । ती संजाल केवल व्यक्तिगत गफ गर्न होइन सँगसँगै भोलिपल्ट विकास समितिमा छलफल गर्ने विषय र आमन्त्रित अतिथिहरुको जानकारी दिएर आम धारणा, सुझाव र सम्भावित विकल्प बारे अभिमत लिने गर्नुहुन्थ्यो ।

समितिमा आमन्त्रित अतिथिलाई सामाजिक संजालमा सोधिएका प्रश्न राखेर जवाफ दिन वा आगामी दिनमा त्यो कामको जवाफदेहिता प्रस्तुत गर्न निर्देशन दिंदै गर्दा बैठकमा उपस्थित माननीयज्यूहरुले आफ्नो टेबल ठटाएर सहमति जनाउनुहुन्थ्यो । त्यसैले हिजो एउटा सहयोगी साक्षी हुँदै गर्दाका याद आइरहेको छ, सेवाग्राही कर्मचारी र सांसदबीच संजालकै प्रयोग गरेर एउटा बलियो पुल बन्नुभएको थियो ।

सिंगो संसद होस् वा समितिहरुको बैठककै इतिहासमा विकास समितिको बैठक जहिल्यै निर्धारित समयमा संचालन हुन्थ्यो । कहिल्यै अपवाद, इन्तु, परन्तु भन्ने नै रहेन । त्यति मात्र कहाँ हो र समितिका प्रत्येक सांसदलाई विषय हेरेर समय (आफ्नो राय राख्ने समय) निर्धारित गर्नुहुन्थ्यो ।

प्रायः छोटो विषयका लागि २ मिनेट र अलिक लामो विषयका लागि ५ मिनेट हुने गर्दथ्यो । ठ्याक्कै ४ मिनेटमा जनाउ घन्टी आफैं बजाउने । र ५ मिनेटमा बजेको घन्टीमा सांसदहरु टक्क रोकिन्थे । यही भएर पत्रकार विनु सुवेदीले लेख्नुभएको ‘सभापतिको त्यो घन्टी’ शीर्षकको समाचार ती दिनहरुमा चर्चित बनेको थियो ।

समितिका निर्णय आमन्त्रित मन्त्री सचिवहरुलाई उनीहरुले गर्न सक्ने काम गर्छु भन्ने कमिटमेन्ट भएपछि मात्र त्यसै अनुसार निर्देशन दिने गर्नुहुन्थ्यो । विकास सेरोफेरो र थप विषयमा धेरै अन्तरक्रिया कार्यक्रम संचालन गरेर समितिका सांसदलाई सहभागी र सक्रिय गराइरहने ।

स्थलगत अध्ययनमा जाँदा वा विदेश भ्रमण जाँदा नदोहोर्याई समानुपातिक सहभागिता गराएर प्रत्येक सांसद पालैपालो लैजाने गरेर पनि होला सबैको रोजाइको विवादरहित सभापति बनेर आफ्नो कार्यकाल संचालन गर्नुभयो ।

रवीन्द्र दाइले विकास समितिको सभापति भएपछि सुस्त रुपमा रहेका विकास आयोजनालाई गति दिनुभयो । राष्ट्रिय गौरवका आयोजनाहरु मध्ये धेरैले थप गति लिए । ती आयोजना कति पूर्ण भए भन्ने सवाल पछिल्लो जिम्मेवार निकायको निरन्तरता थियो ।

मध्यपहाडी लोकमार्गलाई द्रुतगतिमा अगाडि बढाउने कुरा होस् वा नयाँ संविधान अनुसार स्थानीय निकाय नगरपालिका, उप–महानगरपालिका र महानगरपालिका निर्माण अध्ययन गर्ने सम्बन्धमा होस् वा २०७२ को विनाशकारी भूकम्पपश्चात हल्लिरहेका समिति भवनमा विज्ञ सम्मिलित छलफल गरी राहत उद्धार र व्यवस्थापनमा खेल्नुभएको भूमिका अथवा लगत्तै भारतीय नाकाबन्दीले आक्रान्त नेपालीको पीडामा मल्हम हुने उद्देश्यका साथ उत्तरतर्फ कालीगण्डकी करिडोर, पोखरा–वेनी–जोमसोम–कोरोला नाकाको स्तरोन्नति, रसुवा नाका, किमाथाङ्का नाका त्यस्तै थप अरु नाकाको पहुँच विस्तार र संचालनमा उहाँको अग्रसरता स्वर्णिम इतिहास बनेको छ ।

पत्रकारको तोकिएको पारिश्रमिक दिन गरिएका निर्णय हुन् वा पत्रिका टिभी रेडियोमा विकास सम्बन्धी खबर प्रसारण गर्न लिइएका निर्णय हुन् वा कलाकारलाई संगीत रोयल्टी अनिवार्य सम्बन्धित निकायलाई उपलब्ध गराउन गरिएका निर्णयहरु पक्कै पनि धेरैको मनमा गहिरो गरी उभिएका छन् ।

मेलम्ची खानेपानी आयोजनाको स्थलगत निरीक्षण गरी दिइएका निर्देशन हुन् वा ३० वर्षदेखि हुन नसकेको देशको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति सम्बन्धी छलफल निकै चर्चित र सान्दर्भिक बनेका थिए ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल त्यसैमध्येको एक उदाहरण छ । अस्तव्यस्त बनेको भैरहवा अन्तर्राष्ट्रिय विमानस्थललाई निरन्तरताका निम्ति चालेको कदम साँच्चिकै स्मरणयोग्य छ । हिजोका मितिमा दाइ आफैंले दिएका निर्देशन पछि मन्त्री पद सम्हालेसँगै द्रुतगतिमा अगाडि बढाउनु पनि भयो ।

रवीन्द्र दाइको कार्यकालमा धेरै सांसदको रोजाइ र चर्चित समिति बनाउँदै २०७/०/२६ मा १४० वटा बैठकसहित तीन वर्ष एक महिने कार्यकाल एउटा नमूना सभापति बन्न सफल हुनुभयो भन्ने मेरो निष्कर्ष हो ।

समृद्ध नेपाल

दिउसो ४ बजेतिर स्कोरपियो गाडीमा सिंहदरबारबाट निस्केर नयाँबानेश्वरलाई दाहिने छाडेर हामी पुरानो बानेश्वरतर्फ लाग्यौं । पुरानो बानेश्वरलाई पनि दाहिने पारेर हामी देव्रे डिल्लीबजार आसपास आयौं । एउटा क्याफेमा बस्यौं।

क्याफेमा झन्डै दुई घण्टा किताबको तयारी र मेरो काम बारे छलफल गर्यौं । दुई दिनपछि घर हात्तीगौडामा भेट हुने गरी छलफल र खाजा सँगै खाएर मलाई कमलादी प्रज्ञा भवन गेटमा छाडेर दाइ दरबारमार्गतर्फ लाग्नुभयो । म भने रत्नपार्कबाट माइक्रो चढेर धोविघाट आइपुगेँ ।

रवीन्द्र दाइसँग भेट त पटकपटक हुने गर्दथ्यो । ती भेटघाट औपचारिक सन्चो विसन्चोमा केन्द्रित हुने थिए । तर सँगै हुने आधार यही पुस्तक बन्यो । राजनीतिलाई विकाससँग जोड्ने उहाँको निरन्तर प्रयासको एउटा जन्म थियो उहाँको पुस्तक  ‘समृद्ध नेपाल’ ।

आफ्ना पूर्व प्रकाशित लेखहरु र केही नयाँ लेखहरुसहित किताबको आकार तय भयो । आकार ग्रहण गरेको पुस्तकलाई फाइनप्रिन्टका प्रकाशक निरज भारी र अजित बरालको प्रकाशन गर्ने हार्दिक स्वीकार्यता रवीन्द्र दाइको लागि खुशीको विषय बनको थियो ।

झण्डै एक वर्षको मिहिनेतसँगै २०७२ माघ १५ गते पोखरामा आयोजना गरिएको ‘नेपाल साहित्य महोत्सवको’ एक कार्यक्रमबीच सार्वजनिक भयो । त्यो साँझ रवीन्द्र दाइ असीमित खुशी देखिनुहुन्थ्यो । मैले भेट हुँदा देखेको सबैभन्दा पहिलो खुशी त्यो थियो । तर दाइ भन्नुहुन्थ्यो, मैले नभुल्ने खुशीको क्षण भनेको गाडीको लाइसेन्स प्राप्त गर्दाको दिन थियोे ।

पार्टीका शीर्ष नेताहरुलाई आफ्नो पुस्तक दिंदै गर्दा पार्टी अध्यक्ष, प्रधानमन्त्री केपी शर्मा ओलीले भनेको कुरा सुनाउँदै भन्नुभा’थ्यो, एउटा यस्तो किताब जहाँ सिंगो मुलुकलाई विकासको बहसमा केन्द्रित गराउन रवीन्द्र तपाईं सफल हुनुभएको छ, बधाई रवीन्द्र ।

र अहिले सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको नारा ‘समृद्ध नेपाल, सुखी नेपाली’ त्यही किताबको जन्मको आधार हो भन्ने मेरो  निष्कर्ष पनि हो ।

पछिल्लो पुस्ताका नेता लेख्दैनन् पढ्दैनन् भन्दै गर्दा निकै व्यस्त, काम, काम र काम अनि विकास विकास अनि विकासका बीचमा लेखिएको किताबले राजनीतिक वृत्त, मिडियामा र पब्लिकसम्म निकै चर्चा पायो ।

चर्चा एउटा कुरा रह्यो, नेताद्वारा लेखिएको किताब खासै विक्री हुँदैन भन्ने हलुका भविष्यवाणीलाई माथ गराउँदै सात महिनामै दोश्रो संस्करणको प्रकाशनमा जुट्न परिहाल्यो । जुट्दै गर्दा हामी त्यही सेतो स्कोरपियो चढेर प्रकाशकद्वय निरज भारी र अजित बरालसँग छलफलमा फाइनप्रिन्टको कार्यालय विशालनगर पुग्यौँ ।

अहिले पनि यही छेउमा हुनुहुन्छ कि झैँ लागिरहेको छ । तर मेरो छेउमा एक गिलास पानी र दाइको सम्झना मात्र छ । अद्यावधिकसहित दोश्रो संस्करण सात महिनामै पुनः प्रकाशित भयो । र अर्को वर्ष समृद्ध नेपाल पुस्तकको अंग्रेजी संस्करण प्रकाशित भयो ।

अधुरो पर्यटन मन्त्री

रवीन्द्र अधिकारी मन्त्री बन्दै भन्ने समाचार पटकपटक पढियो सुनियो । तर ती दिनमा दाइ मन्त्री हुनुभएन । र पनि असन्तुष्टि देखाउनुभएन । चार वर्ष सँगै रहँदा दाइ कहिल्यै कुनै नेताको दैलोमा मन्त्री वा कुनै पदको लागि दैलोठेलो चहार्नु भएन । कास्कीबाट  लगातार तेस्रोपटक चुनाव जित्नुभयो ।

चुनावमा प्रतिस्पर्धीलाई आरोप आक्षेप, अनावश्यक टिप्पणी कहिल्यै सुनिएन । यो कुरामा स्वयं प्रतिस्पर्धी नतमस्तक हुन्थे । उनीहरु चुनावपछि आफैं भन्थे । तीन पटक जित्नुमात्र भएन आफ्नो निर्वाचन क्षेत्रमा असाध्यै राम्रा काम गरेर सबैको मनमा बस्न सफल हुनुभयो ।

वास्तवमै रवीन्द्र दाइ आँखामा राख्दा नविझाउने हुनुहुन्थ्यो । जसको परिणाम तेस्रोपटक चुनाव जित्नुभयो, संसदमा निकै सक्रिय रहिरहनु, पारदर्शितामा कहिल्यै सम्झौता नगर्नु र उत्कृष्ट १० सांसद भित्र (संविधानसभा र संसदीय मामिला हेर्ने न्युजभित्ता अनलाइनले गरेको मत सर्वेक्षणमा रवीन्द्र अधिकारी उत्कृष्ट १० सांसद भित्र छानिनुभएको थियो) आफूलाई उभ्याउन सफल रहनु, विकास समितिको सफल सभापति र एउटा अब्बल सांसद अनि चर्काे जनदबाबको परिणाम २०७४ चैत्र २ गते संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको जिम्मेवारी सम्हाल्नुभयो ।

राष्ट्रपति कार्यालयमा शपथग्रहण समारोह समापन भएर पदभार ग्रहण गर्न हामी मन्त्रालय जाँदै गर्दा झमक्कै साँझ परिसकेको थियो । मन्त्रालयतर्फ जाँदै गर्दा बाटोमा मैले सोसल मिडियाका लागि  एउटा ड्राफ्ट पढेर सुनाएँ– “विश्वास र चुनौतीका माझ संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको जिम्मेवारी लिएको छु । इमानदारी र निष्ठाका साथ जिम्मेवारी पूरा गर्ने संकल्प गर्दछु । सदैव यहाँहरुको रचनात्मक सहयोगको अपेक्षा गर्दछु ।”

दाइले ओके भने सँगै त्यसलाई सार्वजनिक गरियो । अनि सामाजिक संजालमा बधाईका नोटिफिकेसन हरर्र आएको आयै ।

मन्त्रालयमा भव्य स्वागत र पदभार ग्रहणसँगै दुई घण्टा अगाडि दुई दाजुभाइ मात्र राष्ट्रपति कार्यालय पुगेका हामी फर्किंदा सुरक्षाकर्मीसहित घर हात्तीगौडा पुग्यौँ ।

बाबासँग घरमा आर्मी देखेर सानो छोरो स्वराज दंग । हामी स्वराजलाई देखेर दंग । स्वराज बाबाको काँधमा चढ्याे र बाबालाई कसिलो गरी समात्यो र चुप्पा गर्यो । स्वराजको एउटा बानी जहिल्यै घरबाट हिंड्ने वेला र घर फर्केपछि बाबालाई गर्लम्म अँगालो हाल्ने र गालामा चुप्पा खाने ।

जस्तोसुकै मूडमा घर आउँदा पनि परिवेश आनन्दमय बनाइदिने उसको बिर्सन नसकिने बानी छ । मालेपाटन घरमा प्रसंग यही चल्दै थियो, बाबाको स्वर्गारोहणको केही दिनपछि अब मैले कसलाई चुप्पा गर्ने भनेर सोध्दै गर्दा ममीका आँखामा आशु र हाम्रा ओठ निशब्द बने ।

स्वराजले आफ्नो प्रश्नले रोइरहेकी ममीलाई देख्यो । गर्लम्मै अँगालोमा बेर्‍यो र म मेरो ममीलाई नै चुप्पा गर्छु भन्दै माहोल नै बदलिदियो । चेहरा हेरेर आफूलाई बदल्ने स्वराजको स्वभाव अद्भुत छ ।

लिएको जिम्मेवारी पूरा गर्न रवीन्द्र दाइ निकै मसिनो गरी लाग्नुहुन्थ्यो । त्यसैको परिणाम हो पर्यटन मन्त्रालयको जिम्मेवारी लिएसँगै अलपत्र आयोजनाले अद्वितीय प्रगति लिए । मन्त्रालयको जिम्मेवारी सम्हाल्नुपूर्व पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको कार्य प्रगति १३ प्रतिशत थियो । जसलाई १० महिनाको अवधिमा ४५ प्रतिशत प्रगति दिलाउन सफल हुनुभयो ।

निर्माणाधीन भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आफ्ना सरसामन लिएर फर्किन ठिक्क परेको ठेकेदार कम्पनीलाई नै पुनः काममा फर्काउँदै जम्माजम्मी २३ प्रतिशत काम भएको विमानस्थललाई १० महिना भित्र ७५ प्रतिशत सम्पन्न गराउन सफल रहनुभयो ।

हिजो विकास समितिमा रहँदा आफैंले दिएका कतिपय निर्देशनहरु कार्यकारी जिम्मेवारी लिंदै गर्दा द्रुतगतिमा सम्पन्न गराउनुभयो । जसको ज्वलन्त उदाहरण भनेको सम्पदाहरुको पुनर्निर्माण थियो ।

त्यस्तै अर्काे निर्देशन, ३० वर्षदेखि पुनर्निर्माण हुन नसकेको त्रिभुवन विमानस्थलको रनवे स्तरोन्नति थियो । मिति २०७२।०४।२५ गते ६४ औं बैठकमा आफू विकास समिति सभापति हुँदा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई दिएको निर्देशन तीन वर्षपछि मन्त्रालयको जिम्मेवारी सम्हालेको १० महिनामा रनवे रिहाव गर्न आवश्यक सामग्री पूरा गरी अर्काे महिनाको पहिलो हप्ता काम सुरु गर्ने योजना थियो ।

आवश्यक सामग्री र रिहावको तयारी अवलोकन गर्न नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक संजिव गौतमसहित हामी विमानस्थल पुग्दा रवीन्द्र दाइ भन्दै हुनुहन्थ्यो, रिहावको सुरुवात मैले गर्ने हो, रिहाव सम्पन्न भएपछि सुचारु गर्न प्रधानमन्त्री के.पी. शर्मा ओलीलाई ल्याउने हो । तर सोचे जस्तो भएन । दाइकै सम्पूर्ण तयारीमा रनवे नयाँ बन्यो तर दाइले देख्न पनि पाउनुभएन ।

मन्त्रालयको जिम्मेवारी सम्हालेको पर्सिपल्टदेखि कुनै एकदिन विश्राम लिनुभएन । त्यसको साक्षी सिंगो मन्त्रालय र कामहरु हाम्रा सामुन्ने छन् । मन्त्रालयको आफ्नै संरचना हुने गर्छन् । योजनाहरुमा बेला बेला विरोध अवरोध हुने गर्दथे । ती समयमा आएका जुनसुकै अवरोध सजिलै समाधान गर्ने गर्नुहुन्थ्यो ।

ठूला मात्र होइन सानो तहका कर्मचारीसँग नियमित, हामी सचिवालयमार्फत पनि होइन स्वयं आफैं सम्पर्कमा रहने, समस्या पत्ता लगाइहाल्ने र समाधान गर्ने उहाँको तरिका प्रशंसनीय थियो । सानो तहका कर्मचारी मन्त्रीसँग सम्पर्कमा रहँदा उनीहरुले सत्य कुरा बोलिदिने हुँदा उपल्लो तहका कर्मचारीबाट कुनै ढाकछोप रहँदैनथ्यो ।

त्यही भएर होला सरुवा भएर जाँदै गर्दा मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले भन्नुभा’थ्यो, मन्त्रीज्यूलाई आज यो रिपोट गर्छु भनेर क्याविन छिर्याे मैले भन्दा पहिले सचिवजी, त्यहाँ त यसो भएछ है भन्नुहुन्थ्यो ।

मन्त्रीको सचिवालय

मैले रवीन्द्र दाइसँग नजिक रहेर चार वर्ष काम गरें । प्राय मिलेसम्म हिजो विकास समितिमा हुँदा र पछि मन्त्रालयका मिटिंग र छलफलमा दाइसँगै रहने मौका पाएको थिएँ । भेट भएको एक आधा घण्टामा प्रायः लाई विश्वास गरिहाल्ने उहाँले मप्रति यति धेरै विश्वास गर्नुभयो कि आज सम्झँदा मन भरिएर आउँछ ।

जुन दिन रवीन्द्र दाइसँग काम गर्ने पक्का भयो त्यही दिन उहाँले मलाई आफ्ना जिमेलदेखि फेसबुक ट्वीटर, इन्स्ट्राग्राम, आईक्लाउड सबैको पासवर्ड दिनुभयो । एक छिन म अलमलमै परेँ । के गर्ने, के नगर्ने म चुपचाप रहें।

दाइले भनिहाल्नुभयो, व्यक्तिगत कुरालाई ध्यान नदेउ, अफिसियल ह्याण्डल तिमीले हेर । मैले हुन्छ भनेँ । धेरै कुरा ड्राफ्ट गरेर दाइसँग भेरिफाइड गरेर मात्र संजालमा पब्लिस गरिन्थ्यो । चार वर्षको समयावधिमा रवीन्द्र दाइको संजालमा पोस्ट भएका कुनै विषय विवादित भएनन् । जुन कुराले हामीलाई खुशी मिल्थ्यो ।

मैले यसो भन्दैगर्दा सामाजिक संजालमा रवीन्द्र दाइ आफैं सक्रिय हुनुहुन्थ्यो । सक्रियताका साथ रवीन्द्र दाइ आफैँ विषय मलाई दिनुहुन्थ्यो । कहिले उहाँ आफैं र व्यस्त हुँदा त्यही विषयमा रहेर मैले ड्राफ्ट तयार गर्दथेँ ।

रवीन्द्र दाइमा मान्छे चिन्ने (मान्छेको क्षमता) क्षमता अद्भुत थियो । छोटो संगत र अध्ययनका आधारमा त्यो क्षमता ठम्याउने खुवी उहाँमा थियो । कसको सहयोग लिने, को कामप्रति इमानदार छ, परिणाम कसले ल्याउँछ भन्ने कुरामा दाइ निपुण हुनुहुन्थ्यो। जसको परिणाम रवीन्द्र दाइले नेतृत्व लिएको कामको परिणामले देखाउँछ ।

पर्यटन मन्त्री रहिरहँदा रवीन्द्र दाइले भन्नुहुन्थ्यो, मेरो सचिवालय प्रधानमन्त्रीको भन्दा कम छैन । हामीलाई थप विश्वासमा लिन यसो भन्नुभएको हुनसक्छ । तर धेरैपटक यो कुरा दोहोर्याउनुभएको थियो । सचिवालयमा उप–सचिव दीपककुमार थापा दाइका निजी सचिव जसको कामप्रति दाइ सधैं अनुगृहीत नै बन्नुभयो ।

विषयवस्तुप्रतिको गहिरो अध्ययन र प्रस्तुतिले नै होला निजी फाइदाको लागि मन्त्रीसम्म आएका फाइललाई दिपक सरले कति स्पष्ट र दृढताका साथ रवीन्द्र दाइलाई बुझाएर फिर्ता पठाउने सामर्थ्य राख्नुहुन्थ्यो ।

अर्कातर्फ दाइका सल्लाहकार लक्ष्मण गौतम सरको काम गर्ने तरिकाले रवीन्द्र दाइलाई यस्तो अवस्थामा पुर्याउनुभयो कि हरेक औपचारिक कार्यक्रमको तयारी उहाँले गरेको मात्र चित्त बुझ्ने भयो ।

यता हामी स्वकीय सचिवालयतर्फ राजेन्द्र आचार्य सहनशील पात्रका रुपमा धेरै अगाडिदेखि रहनुभयो । भिजिटर व्यवस्थापन उहाँको मुख्य काम हुन्थ्यो । मेरो जिम्मेवारी डकुमेन्ट र मिडिया म्यानेजमेन्टमा थियो । भाइ कृष्णप्रसाद आचार्य दाइको साथसाथै हुनुहुन्थ्यो ।

एउटा कुशल व्यवस्थापक र सहयोग गर्ने भनेको कस्तो हो भन्ने कुरा कृष्ण भाइले गाडीमा दाइको लागि बोक्ने एक्स्ट्रा चस्मा, एक्स्ट्रा रुमाल । एकजोर जगेडा कपडा । र आउने हरेक फोनकलको रेकडिङ्ग र अपडेट नै थियो ।

कृष्ण भाइको अनुपस्थितिमा दाइसँग म हिंड्ने गर्दथे । त्यो हिंडाइमा हरेक दिन कृष्णकै नाम लिनुहुन्थ्यो । भन्नुहुन्थ्यो, यो कृष्णले मलाई  परनिर्भर बनायो । सचिवालय साथीहरुबीच भएको उचित समन्वय र कुनै व्यक्तिले कुनै गलत काम धन्दा नगरेको हुनाले गर्दा नै होला धेरै पटक धेरै बसाइमा रवीन्द्र दाइले आफ्नो सचिवालयप्रति निकै गर्व गर्नुहुन्थ्यो ।

त्यो अन्तिम संवाद

सम्झन्छु, सधैं झैँ त्यो दिन अलि सबेरै मलाई दाइकै नम्बरबाट फोन आयो । म रहेको स्थानबारे सोधेपछि मात्रै विषय बारे कुरा गर्ने दाइको त्यो बानी फागुन १५ गते बिहान ठ्याक्कै सवा सात बजे चुहान डाँडाको लागि एअरपोर्ट जाने क्रममा बानेश्वर पुगेर फोन गर्नुभयो ।

रवीन्द्र दाइ: हेल्लो हेल्लो, ध्रुव कहाँ छौ ?

म: नमस्कार दाजी, म घरमै छु ।

रवीन्द्र दाइ: सुन त, मन्त्रालय आएपछि एक वर्षमा हामीले गरेका कामको प्रगति जे तयार गरिएको छ नि, त्यसलाई तिमीले अझै एक पटक मसिनो गरी पढ, म दिउँसै फर्किन्छु सँगै बसेर आज त्यो फाइनल गर्नुपर्छ है ।

म: हस् दाजी ।

त्यसपछि १० बजेतिर म मन्त्रालय पुगेँ । दाइ भोलिपल्ट अर्थात् २०७५ साल फाल्गुण १६ गते जर्मनी जाने कार्यक्रम तय भएको थियो । United Nations World Tourism Organization (UNWTO) का महासचिवको निमन्त्रणामा चौथो UNWTO Euro–Asian Mountain Tourism Conference मा भाग लिन जाँदै हुनुहुन्थ्यो ।

त्यसैको तयारी र एक वर्षसम्म दाइले मन्त्रालयको जिम्मेवारी लिएपछिको वार्षिक रिपोर्ट फाइनल गर्न उपसचिव दिपक सर र म काममा लाग्याैं । UNWTO को कार्यक्रमको लागि सम्बोधन सल्लाहकार लक्ष्मण सरले तयार गर्दैहुनुहुन्थ्यो । अङ्ग्रेजीमा भाषण तयार भयो ।

लक्ष्मण सरले भन्नुभयो, ल ध्रुव तपाईले पढ्नुस् यो भाषण ८ मिनेट भित्र सक्नुहुन्छ वा हुँदैन । भएन भने छोट्टाउनुपर्छ । मैले पढ्न सुरु गरेँ । आधा जति पढ्दै थिएँ, मेरा मित्र कान्तिपुरका संवाददाता सुरज कुँवरको फोन आयो ।

सुरज: ध्रुवजी, रवीन्द्र दाइ ताप्लेजुङ जानुभएको हो र ?

म: हो सुरजजी ।

सुरज: केही थाहा पाउनुभयो ? दाइ चढेको हेलिकप्टर मिसिंग भयो भन्ने खबर छ त !

म: हजुर ? त्यसो होइन होला ! के सुनाउनुभयो तपाईंले ? दाइ चढेको हेलिकप्टर हरायो रे ?

लगत्तै कृष्ण भाइलाई फोन गरेँ: कृष्ण कहाँ हुनुहुन्छ ? खबर के हो ?

कृष्ण भाइ: दाइ एअरपोर्ट आउनु न ! म हेलिप्याडमा अंकललाई कुरिरहेको छु, तर मलाई नि त्यही भन्छन् ।

खबरसँगै मेरो शरीर घरी चिसो, घरी तातो हुन लाग्यो, कहाँ छु भन्ने नै मेसो नपाउने अवस्था आइलाग्यो । केही धमिलो याद छ, मेरो अगाडि मलाई सुन्दै गर्नुभएका लक्ष्मण सर के भन्छ यो ध्रुव ? भन्दै जुरुक्क उठ्नुभयो र मलाई समाउँदै बाहिर ल्याउनुभयो ।

उपसचिव दिपक सर, लक्ष्मण सर उपसचिवहरु रामकृष्ण लामिछाने, प्रकाश ढकाल र म एअरपोर्ट पुग्यौ । समाचार गलत भइदिए हुन्थ्यो, बरु घाइते भए पनि हुन्थ्यो भन्दै एअरपोर्टमा पुगेका हामी दुखद खबरका साक्षी भयौं ।

झल्यास्सै विद्या भाउजुको याद आयो । तर फोन गर्न सकिनँ । रश्मि आचार्य दाइलाई फोन गरेँ, र भने, भाउजुको ख्याल गर्नुस् है । सबैका लागि मौसम खराब थियो । तर हाम्रा लागि मध्य दिउँसै रात पर्याे । दाइले बिहान हिंड्ने वेला दिउँसै फर्किन्छु भन्नुभएको थियो । तर दिउँसै दुखद खबर मात्र आयो । दाइ कहिल्यै नआउने गरी जम्मै जिम्मा छाडेर जानुभयो ।

दुर्घटनाको भोलिपल्ट दाइ, उहाँका अंगरक्षक अर्जुन घिमिरे र अरु सवार व्यक्तिहरुको पार्थिव शरीर सेनाको हेलिकप्टरले लिएर आयो । रवीन्द्र दाइको लागि एअरपोर्टमा राष्ट्रिय झण्डासहितको गाडी लिन जान्थ्यो । तर त्यस दिन त्यो गाडी दाइलाई लिन गएन ।

एयरपोर्टको हेलिप्याड नजिक दिपक सर र म एकअर्कोलाई समाएर उभिइरहेका थियौं । हेलिप्याड नजिक ठूलो भीड थियो । तर म आफूलाई एक्लो पाइरहेको थिएँ । सबै जना किन हो कुन्नि हतार देखिन्थे तर काम काम अनि कामका लागि हतारमा हुने रवीन्द्र दाइ भने शान्त हुनुहुन्थ्यो, सधैंका लागि शान्त ।

पत्यार लाग्दै लाग्दैन

तर दाइले छोडेर जानुभएको आज दुई वर्ष भयो ।

मेरो प्रिय रवीन्द्र दाइको आत्मालाई सधैं शान्ति मिलोस् ।

दाइप्रति हार्दिक श्रद्धाञ्जली ।

*(लेखक पोखरेल (ट्वीटर ह्याण्डल: @dhppkr) तत्कालीन पर्यटन मन्त्री स्वर्गीय रवीन्द्र अधिकारीका स्वकीय सचिव थिए ।)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *