मन्त्री श्रेष्ठ र चिनियाँ राजदूत होउ यान्छीद्वारा पुन:निर्मित दरबार हाई स्कूलको निरीक्षण – Nepal Press

मन्त्री श्रेष्ठ र चिनियाँ राजदूत होउ यान्छीद्वारा पुन:निर्मित दरबार हाई स्कूलको निरीक्षण

काठमाडौं । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त भई पुनःनिर्माण सम्पन्न भएको दरबार हाई स्कूलको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले निरीक्षण गरेका छन् ।

चिनियाँ नयाँ वर्षका अवसरमा शुक्रबार आयोजित निरीक्षण कार्यक्रममा राष्ट्रिय पुन:निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी पनि सहभागी थिइन् । सो अवसरमा उनले विद्यालयमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक, स्वास्थ्य र खेलकूद सामग्री हस्तान्तरण गरेकी थिइन् ।

भूकम्पले भत्किएको दरबार हाई स्कूल चीन सरकारको ८५ करोड रूपैयाँ अनुदान सहयोगमा पुन:निर्माण सम्पन्न भएको केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (शिक्षा) का आयोजना निर्देशक रामशरण सापकोटाले जानकारी दिए ।

नवनिर्मित विद्यालयको साँचो आयोजना निर्देशक सापकोटाले उद्घाटन समारोहका अवसरमा कात्तिक ५ गते नै काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यलाई हस्तान्तरण गर्नुरेका थिए । चार तलाको विद्यालय भवनमा ४२ कोठा छन् । ‘फाएर फाइटिङ’, ‘सेक्युरिटी’, पुस्तकालय, प्रयोगशालाको व्यवस्थासमेत भवनमा रहेको छ । भवनमा भानु र संस्कृत माध्यमिक विद्यालय गरी दुई विद्यालय सञ्चालन भइरहेका छन् ।

विसं १९१० मा थापाथली दरबारमा दरबारियालाई पढाउन स्थापना गरिएको विद्यालयपछि भवन बनाएर रानीपोखरीमा सारिएको थियो । विसं १९४८ देखि यहाँ संस्कृत माध्यमिक विद्यालय पनि सञ्चालनमा आएको हो । विद्यालयमा तीनधारा संस्कृत पाठशालामा बस्ने विद्यार्थी अध्ययन गर्दै आएका छन् । दरबार हाई स्कूललाई विसं २०२४ देखि भानु माध्यमिक विद्यालय नामाकरण गरिएको हो ।

पुन:निर्माणका क्रममा दुवै विद्यालयलाई प्रदर्शनीमार्गस्थित वाल्मीकि विद्यापीठ परिसरमा सारिएको थियो । विद्यालय भवन उद्घाटनका बेला कोरोना महामारीका कारण अनलाइन माध्यमबाट पढाइ भइरहेकामा गत माघदेखि महानगरपालिकाले भौतिकरुपमा विद्यालय सञ्चालन गर्न थालेपछि दुवै विद्यालयका पठनपाठन नवनिर्मित विद्यालयमा भइरहेको छ ।

रासस


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *