चक्रपथ विस्तारलाई ‘प्रतिगमन’ भन्दै नागरिक आन्दोलन (तस्बिरहरू) – Nepal Press

चक्रपथ विस्तारलाई ‘प्रतिगमन’ भन्दै नागरिक आन्दोलन (तस्बिरहरू)

काठमाडौं । बालाजु क्षेत्रमा जारी सडक विस्तारको विरोध गर्दै आज शुक्रवार नागरिक समाजको ब्यानरमा माइतीघर मण्डलमा प्रदर्शन गरियो । सो प्रदर्शनमा काठमाडौंको चक्रपथ विस्तारलाई ‘प्रतिगमन’ संज्ञा दिइएको थियो ।

बृहत् नागरिक आन्दोलन, उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समिति र नेवाः देय् दबूको संयोजनमा विभिन्न खलः पुचः/मोर्चा/अभियानले आज बिहान १० बजे प्रतिरोध कार्यक्रम गरेका हुन् । ‘विकासका नाममा जारी प्रतिगमनविरुद्ध प्रतिरोध’ लेखिएको ब्यानर सहभागीले बोकेका थिए ।

बृहत् नागरिक आन्दोलन, उपत्यकाब्यापी सडक विस्तार पीडित संघर्ष समिति र नेवा देय् दवुको आयोजनामा सो प्रदर्शन भएको थियो । प्रदर्शनमा सहभागी एक अभियन्ता श्रीकृष्ण महर्जनले बालाजूमा गरिएको सडक विस्तारले नागरिकलाई सुकुम्बासी बनाएकाले आन्दोलनमा उत्रिनु परेको बताए । बालाजुको बाइपासमा सडक विस्तारविरुद्ध संघर्षरत पीडित र अभियन्तालाई सरकारले गिरफ्तार गरेकोमा उनले विरोध जनाए ।

‘केन्द्र सरकार, स्थानीय सरकार, जनप्रतिनिधि र उपत्यका विकास प्राधिकरणले गैरन्यायिक सडक विस्तार र जनताको उठिबासको काम रोक्न गर्न सर्वोच्च अदालतबाट जारी अन्तरकालीन आदेशलाई समेत ठाडै बेवास्ता गरेको छ, त्यसको हामी विरोध र भर्त्सना गर्छौं,’ महर्जनले भने ।

तस्बिरहरू: विजय गजमेर । 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर