सेयर बजारमा हौसिएका लगानीकर्तालाई किन पारिन्छ अलमलमा ? – Nepal Press

सेयर बजारमा हौसिएका लगानीकर्तालाई किन पारिन्छ अलमलमा ?

काठमाडौं । मंगलबार देशमा संकटकाल लाग्‍नसक्ने हल्लासँगै सेयर बजार ध्वस्त हुने अड्कलबाजी भए । लगानीकर्ता अनलाइन र ब्रोकर कम्पनी नै गएर धमाधम सेयर बेच्न पुगे । हल्लैहल्लामा त्यो दिन केही समय ८८ अंकसम्म नेप्से तल झर्‍यो । र, पुन: केही समयमा लयमा फर्कन थाल्यो ।

मंगलबार साँझ नै संसद पुन:स्थापनाको सर्वोच्चको फैसलाले लगानीकर्तामा खुसी थपियो । सँगै नयाँ राजनीतिक घटनाक्रमले नेप्सेमा सकारात्मक प्रभाव पर्ने उनीहरूको आकलन थियो । तर, मंगलबार नेप्सेको ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस) मा देखिएको समस्याले लगानीकर्ता अलमलमा परे ।

जसले गर्दा सेयर कारोबार रकम नै अन्य दिनको तुलनामा अर्बौंले घट्न पुग्यो । सेयर बजारले गति लिन्छभन्दा आज लगानीकर्ताको आकलनभन्दा बाहिर गएर नेप्से घटेको छ ।

आज प्रि-ओपन सेसनमा नेप्से परिसूचक साढे २३ अंकले बढेपछि लगानीकर्ता थप उत्साहित बने । बुधबार २५९९.०८ विन्दुमा बन्द भएको नेप्से प्रि-ओपन समयमा २६२२.७१ विन्दुमा पुगेको थियो । तर, केही समयको कारोबारपछि पुन: नेप्से घट्न पुग्यो । आज नेप्से घट्नु कुनै पनि कारण नभएको बताउँछन् सेयर विश्लेषक प्रकाश तिवारी । उनका अनुसार हिजो टीएमएसमा देखिएको समस्याका कारण आजको बजार प्रभावित भएको हो ।

‘हिजो टीएमएसमा देखिएको समस्या बजारमा लाखौं लगानीकर्ताको अपेक्षाबाहिर थियो । नेप्सेको चरम लापरवाहीका कारण लाखौं लगानीकर्ताको अर्बौंको लगानी गुम्न पुग्यो’ उनले भने ‘देशको राजनीति र सेयर बजार फरक भएकाले राजनीतिको असर सेयर बजारमा एकदम कम पर्छ तर, यहाँ राजनीतिको नाममा साना लगानीकर्तालाई हतोत्साही बनाइन्छ ।’

तिवारीका अनुसार बजारमा राजनीतिको अफवाह फैलाएर बजार घटाउने काम समेत हुन्छ । यो बेलामा सेयर बजारमा जो सुकै लगानीकर्ताले पनि धैर्य राख्नु सबैभन्दा उत्तम हुने उनले बताए ।

‘आफूले थोपा-थोपा जम्मा गरेर लगानी गरेको सम्पत्ति हल्लै हल्लामा बेचेर घाटा ब्यहोर्नु उपयुक्त हुँदैन । साना लगानीकर्ता हल्लाको पछाडि दौड्दा ठूला लगानीकर्ताले मौकाको फाइदा उठाउँछन् । यो बेलामा हल्लाको पछाडि नदौडी संयमता अपनाउनुपर्छ,’ उनले भने ।

नेपालमा जोकोही सामाजिक सञ्जालमा सेयर विश्लेषक भएका कारण नेप्से घट्ने र बढ्ने गरेको पनि उनको भनाइ छ । अहिले सामाजिक सञ्जालमा हुने विश्लेषणका आधारमा नै धेरै लगानीकर्ता फस्न पुगेको उनी तर्क गर्छन् ।

‘सामाजिक सञ्जालमा केही त यस्ता विश्लेषक पनि छन् जसले सेयर बजार अब यतिमा अंकमा पुग्छ भनेर अंकै तोक्ने गर्छन् जुन सरासर गलत छ । कसैले पनि सेयरको अंकै तोकेर भन्न सक्ने अवस्था हुदैन । यस्तो भन्नेलाई नियमन निकायले कारबाही गर्नुपर्छ’ तिवारीले नेपाल प्रेससँग भने ।

सरकार परिवर्तन हुँदा भोलि कुन अर्थमन्त्री आउने हो भन्ने हल्लाले पनि सेयर घट्न सकेको बताउँछन् लगानीकर्ता । साथै लामो समयदेखि बढिरहेको सेयर बजारमा नाफा बुक गर्ने गरी करेक्सन पनि आएको थिएन। राजनीतिक माहोलको बहानामा नाफा बुक गर्न सकेको विश्लेषक बताउँछन् ।

नेप्से परिसूचक आज ४४ दशमलव ९४ अंकले घटेको छ । आज नेप्से परिसूचक १ दशमलव ७३ प्रतिशतले घट्दै २५५४.१४ विन्दुमा रोकिएको छ ।

आज एक करोड ५८ लाख ५६ हजार १७१ कित्ताको किनबेचमा ६ अर्ब ९८ करोड १ लाख ८८ हजार ४१४ रुपैयाँ बराबरको कारोबार भएको छ । आज सबैभन्दा धेरै निफ्राको ९० करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

यसैगरी, नबिल बैंकको २१ करोड, नेश्नल हाइड्रोपावर कम्पनीको २१ करोड, नेपाल बैंक लिमिटेडको २१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज सबैभन्दा बढी कमाउनेमा चन्द्रागिरि हिल्सको शेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ । यसैगरी, नेश्नल हाइड्रो पावरको शेयर मूल्य ८ प्रतिशतले बढेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर