घर बसीबसी घरजग्गा किनबेच गर्न सकिने ! यस्तो छ ल्याण्ड मार्केटको तयारी – Nepal Press

घर बसीबसी घरजग्गा किनबेच गर्न सकिने ! यस्तो छ ल्याण्ड मार्केटको तयारी

काठमाडौं । सरकारले घरमै बसेर घरजग्गा किनबेच गर्न सकिने गरी भूमि बजार (ल्याण्ड मार्केट) स्थापना गर्ने भएको छ । स्थापना भएपछि ल्याण्ड मार्केटबाट जग्गा खरिद र बिक्री गर्न सक्ने छन् ।

भूमि व्यवस्था, सहकारी र गरिबी निवारण मन्त्रालयले ल्याण्ड मार्केटका लागि छलफल शुरू गरेको २ महिना पूरा भएको छ । अब डेढ महिनामा अन्तिम प्रतिवेदन आउने र अर्थमन्त्रालयसँग सहकार्य गरेर अगाडी बढ्ने मन्त्रालयले जनाएको छ ।

भूमि व्यवस्था, सहकारी र गरिबी निवारण मन्त्रालयका प्रवक्ता जनकराज जोशीले गत सोबार पनि ल्याण्ड मार्केट स्थापनाको प्रक्रिया बढिरहेको बताए ।

भूमि बजार स्थापनासँगै घरजग्गा कारोबारमा संलग्न भई पैसा कमाउने बिचौलियाहरूको पनि प्रभाव विस्तारै अन्त्य हुनेछ । अहिले सेयर बजारमा ब्रोकर कम्पनी जस्तै घरजग्गा खरिद-बिक्रीमा संलग्नहरूले कम्पनी मार्फत करको दायरामा आउने जोशीले बताए ।

जोशीले भने ‘नेपाल स्टक एक्सचेन्जमा जसरी कम्पनीहरु सूचीकृत भएपछि सेयर कारोबार हुन्छ त्यसैगरी ल्याण्ड मार्केटमा पनि सूचीकरण भई जग्गा किन्न र बेच्न सकिने व्यवस्था हुन्छ ।’

‘ल्याण्ड मार्केटको ऐन, कानून र कार्यविधिलगायतका विषयमा छलफल गर्न बाँकी छ । जग्गासँग सम्बन्धित कारोबारहरू आधिकारिक र मान्यता प्राप्त संस्थामार्फत् गर्नुपर्छ भन्ने विषय नीतिगत तथा कार्यक्रममा आइसकेकाले ल्याण्ड मार्केटको शुरूआत गर्न लागिएको हो ।’ प्रवक्ता जोशीले भने ।

ल्याण्ड मार्केटबाट कसरी जग्गा किन्न वा बेच्न सकिन्छ ?

जग्गा क्रेता वा बिक्रेतालाई आफ्नो जग्गा बेच्न वा अरुको जग्गा किन्नका लागि औपचारिक रुपमा खडा गर्न लागिएको संस्था हो ल्याण्ड मार्केट ।

यो मार्केटमा जग्गा खरिद-बिक्री गर्न चाहनेलाई अनलाइनमार्फत खरिद-बिक्री गर्न सकिने व्यवस्था गर्छ । यदि कसैलाई जग्गा बिक्री गर्नुपरेमा आफ्नो जग्गाको विस्तृत विवरण ल्याण्ड मार्केटको वेबसाइटमा राख्ने र खरिद गर्नेले सोही वेबसाइटबाट खरिद गर्न सक्ने छन् ।

अवधारणा

घरजग्गा किनबेच गर्दा दलाल (ब्रोकर) को माध्यमबाट हुने गरेको छ । खरिद-बिक्री गर्दा जग्गाको किन्ने र बेच्ने ठगिने क्रम बढ्दो छ । जग्गा किनेपछि पछि जग्गामा समस्या आयो भने पनि दलाल त्यसको जिम्मेवार हुँदैनन् । मार्केटबाट जग्गा किन्दा कोही ठगीने र पछि समस्या आउने हुँदैन । राजश्व छलीलगायतका समस्या धेरै आएपछि रोक्नका लागि सरकारले ल्याण्ड मार्केटको अवधारणा ल्याएको हो ।

ल्याण्ड मार्केटबाट कारोबार गर्दा नक्कली जग्गा खडा गरी पूर्जा दिनेजस्ता प्रवृत्तिलाई रोक्न र ठगिनेलगायतबाट पनि रोकिने छ । जग्गाको किनबेच गर्न कसलाई सम्पर्क गर्ने भन्ने अन्योलको पनि यसले अन्त्य गर्छ ।

किनबेच प्रक्रिया

ल्याण्ड मार्केटको अनलाइन प्रणालीबाट घरजग्गाको किनबेच कसरी गर्ने भनेर वेबसाइटमा जानकारी राखिएको हुन्छ । घरजग्गा बिक्री गर्ने व्यक्तिले आफूले बिक्री गर्ने जग्गाको विस्तृत विवरण राख्नुपर्ने छ । जग्गा किन्नेले वेबसाइटमार्फत नै खरिद गर्ने व्यवस्था मिलाइएको हुन्छ ।

जग्गा बेच्न चाहानेले ल्याण्ड मार्केटमा अपडेट गरेपछि सूचीकरण हुन्छ र जग्गा किन्न इच्छुकले सोही मार्केटबाट अनलाइनका माध्यमबाट किन्न सक्नेछन् ।

अहिले मन्त्रालयमा छलफलको क्रममा रहेकोले संघमा मात्रै केन्दीय कार्यालय खोलेर प्रदेशमा शाखा खोल्ने कि सबै प्रदेशमा केन्द्रीय कार्यालय खोल्ले भन्ने एकिन नभएको जोशीले बताए ।

कसरी संचालन गर्ने भन्ने मोडालिटी प्रतिवेदन आएपछिमात्र थाहा हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *